logo-img

बजेट बनाउँदै राखेप- नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने
फाइल तस्बिर

आर्थिक वर्ष २०८१/८२ को बजेटमा नेताहरूका नाउँमा आयोजना हुने खेलकुद प्रतियोगिताका लागि बजेट नछुट्याइने भएको छ । नयाँ आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले कुल १८ खर्बको सिलिङ तोक्दा युवा तथा खेलकुद मन्त्रालयको भागमा ३ अर्ब १९ करोड विनियोजन गर्ने गरी योजनाहरू पेस गर्न भनिएको छ । 

आर्थिक वर्ष २०८०/८१ मा युवा तथा खेलकुद मन्त्रालयमा २ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ विनियोजन भएको थियो । युवा तथा खेलकुद मन्त्रालयको झण्डै ८० प्रतिशत राष्ट्रिय खेलकुद परिषद् राखेपमार्फत खर्च हुने भएकाले अहिले राखेपले योजनाहरू बनाइरहेको छ ।

युवा तथा खेलकुद मन्त्री अध्यक्ष रहने राखेपले नयाँ आर्थिक वर्षमा नेताहरूका नाउँमा आयोजना हुने प्रतियोगिताहरूका लागि कुनै पनि बजेट नदिने नीति लिएको खेलकुद मन्त्रीका स्वकिय सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

गतवर्ष मदन भण्डारी स्मृति खेलकुद प्रतियोगिता सञ्चालन गर्न मदनभण्डारी स्पोर्टस एकेडेमीलाई ५० लाख, गणेशमान सिंह स्मृति राष्ट्रिय महिला तथा पुरुष बक्सिङ प्रतियोगिता सञ्चालन अनुदान ५० लाख, साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता ७ लाख, गिरिजा प्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगिताका लागि ७ लाख, प्रज्ञा स्मृति साइक्लिङ प्रतियोगिताका लागि १५ लाख, रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजनाका लागि १० लाख बजेट विनियोजन गरेको थियो । 

यसरी नेता तथा विभिन्न व्यक्तिका नाउँमा प्रतियोगिता आयोजना हुँदा झण्डै डेढ करोड भन्दा माथिको बजेट खर्च हुने गरेको थियो । तर, मन्त्रालयले बजेट कटौती गर्न लागेको थाहा पाएपछि विभिन्न नेताहरूका नाममा खुलेका प्रतिष्ठान तथा संस्थाहरूले बजेट राख्नै पर्ने गरी दबाब पनि दिएका छन् । 

खेलकुद मन्त्रालयले आज शुक्रबारसम्ममा सबै योजनाहरूलाई अन्तिम रूप दिएर अर्थ मन्त्रालयमा पठाउने छ । खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ, राखेप सदस्यसचिव टंकलाल घिसिङसहितले नेताहरूका नामका प्रतियोगिताहरूलाई बजेट नछुट्याउने निर्णय गरे पनि अर्थ मन्त्रालयबाट दबाब दिएर आफूहरूका कार्यक्रमलाई निरन्तरता दिने रणनीति सत्तारुढ दल निकटका व्यक्तिहरू लागेका छन् ।



खेलकुद मन्त्रीका स्वकीय सचिव ज्ञवालीले दबाब आएको स्वीकार गर्दै समग्र खेलकुदको विकासका लागि मन्त्रालयले काम गरिरहेकाले कोही पनि आत्तिन नपर्ने बताए । उनले कनिका छरेजस्तो नभई नतिजा निकाल्ने गरी खेलकुदमा बजेट आउने बताए । 

अहिलेको बजेटले काठमाडौं उपत्यका भन्दा पनि मोफसललाई केन्द्रमा राखेर बजेट बनाइरहेको पनि बताए । उनले भने, ‘हामीले यसपटक इ स्पोर्टसदेखि युवाहरूलाई फेलोसिप दिने देखि पूर्वाधार निर्माणमा केन्द्रित हुन्छौँ ।’



मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले नेताको नाममा खेलकुद प्रतियोगिताका लागि बजेट कटाउनु दुर्भाग्यपूर्ण रहेको बताए । नेपालको राजनीतिक इतिहासमा सम्मानित नेताहरूको ठूलो भूमिका रहेको र अहिले चिठ्ठा परेर सांसद र मन्त्री भएकाहरूले बजेट कटौती गर्नु नेताहरूकै अपमानको रूपमा लिएको बताए । 

उनले भने, ‘राजनीतिक कालखण्डमा नेताहरूको योगदान उच्च रहेको छ, उहाँहरूले गरेको योगदानको कदर स्वरूप प्रतियोगिता आयोजना हुँदा समग्र खेलकुदकै विकास हुने कुरालाई रोक्न खोज्नु दुर्भाग्य हो ।’ उनले अहिले पनि मदन भण्डारी, गणेशमान सिंह लगायत नेताका नाममा हुने प्रतियोगिताले नेपाली खेलकुदमा राम्रो काम गरेको दाबी गरे । 

यसै गरी, नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचनले पनि नेताहरूका नाममा भएका प्रतियोगिताले नेपाली खेलकुदकै विकासमा योगदान गरेको कुरा भुल्न नहुने बताए ।

आफूहरूले केही दिन पहिला कांग्रेस नेताहरूका नाममा प्रतियोगिता आयोजनाका लागि नयाँ बजेटमा व्यवस्था गर्नका आग्रह गरेको बताउँदै सम्मानित नेताहरू कसैको पनि अपमान नगर्न युवा तथा खेलकुद मन्त्रीलाई आग्रह गरेका छन् ।  

  • प्रकाशित मिति : वैशाख १४, २०८१ शुक्रबार ११:१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया