logo-img

सेती लोकमार्ग निर्माणमा ढिलाइ, १५ वर्षसम्म खुलेन ट्र्याक

कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा उरै भञ्ज्याङ जोड्ने सेती लोकमार्गको काममा ढिलाइ भएको छ । पर्याप्त बजेट नहुँदा सो लोकमार्ग निर्माण सुरु भएको १५ वर्षमा एक सय २६ किलोमिटर मात्र ट्र्याक खुलेको छ ।

जम्मा दुई सय चार किलोमिटर लम्बाइ रहेको उक्त सडकको ७८ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ । कैलाली खण्डमा ७२ किलोमिटरमध्ये तीन किलोमिटर सडकको ट्र्याक खोल्न  बाँकी  छ । 

कैलालीको टीकापुरदखि चैनपुरसम्म डोटी, बझाङ र अछाममा रेखाङ्कन गरिएका कतिपय ठाउँमा ट्र्याक खोल्न बाँकी रहेको आयोजना प्रमुख पुजन गिरीले बताए। अछाममा ८० किलोमिटरमध्ये २३ किलोमिटर सडकको ट्र्याक खोल्ने काम बाँकी रहेको प्रमुख गिरीले जानकारी दिए ।

उनका अनुसार बाजुराको मेडासैनदेखि राना गाउँसम्मको १२ किलोमिटर ट्र्याक खोल्न बाँकी छ । सो सडकखण्डमा पर्ने कतिपय ठाउँमा रुख कटानीका कारण ट्र्याक खोल्ने काम अघि नबढेको हो । चैनपुरदेखि उरै भञ्ज्याङसम्म भौगोलिक विकटताका कारण काम गर्न समस्या भइरहेको आयोजना प्रमुख गिरीले बताए ।

चालु आर्थिक वर्षमा सो सडकका लागि १४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सडकमा पर्ने पुल निर्माणका लागि चालु आवमा तीन करोड रुपैयाँ विनियोजन गरिएको थियो । पुल निर्माण सम्पन्न भए पनि बजेट अभाव भएकाले भुक्तानी दिन नसकिएको प्रमुख गिरीले बताए । 

कैलाली, डोटी, अछाम, बझाङ र बाजुरालाई जोड्दै ताक्लाकोट सीमा नाका जोड्ने यो लोकमार्ग उत्तर–दक्षिण जोड्ने रणनीतिक महत्व बोकेको सडक हो । यो लोकमार्ग धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण चीनको मानसरोवर पुग्ने छोटो मार्ग हो । 



आव २०६५/६६ मा निर्माण सुरु गरिएको यो लोकमार्ग नेपाल सरकारको प्राथमिकताको आयोजना भनिए पनि काम सुस्त बनेको हो ।  



  • प्रकाशित मिति : वैशाख १४, २०८१ शुक्रबार १२:३६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया