logo-img

मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो : न तलब पाइन्छ, न सम्मान
फाइल तस्बिर

रामेछापकी डोमा तामाङ केही वर्षअघि रोजगारीको खोजीमा काठमाडौं आइन् । देशको राजधानी भएकाले सजिलै जागीर पाइएला भनेर यहाँ आएकी उनलाई सोचेजस्तो सजिलो भएन । धेरै ठाउँमा धाउँदा पनि खोजेजस्तो जागीर नपाएपछि तामाङले अन्तिम विकल्पका रूपमा एउटा क्याट्रीनमा काम गरिन् ।  

निकै मिहिनेतपछि हातमुख जोर्ने जागीर पाएपछि को खुसी नहोला १ त्यस्तै खुसी थियो उनमा पनि । सरकारले श्रमका लागि तोकेको आठ घण्टाभन्दा दोब्बर अर्थात् दिनको झण्डै १६ घन्टा काम काम गरे पनि सोअनुसार पारिश्रमिक नपाएपछि भने तामाङ खिन्न छिन् ।

‘कामअनुसारको पारिश्रमिक पाएत ठिकै थियो, उल्टै शारीरिक र मानसिक दुर्व्यवहार सहनुपरेको छ’, उनी भन्छिन् । न समयको टुङ्गो, न कामअनुसारको दाम । त्यसैमा विवाहका लागि काठमाडौंका ब्याङ्क्वेटमा खटिँदा फरक फरक स्वभावका मान्छेहरूसँग ठोकिन पुग्दा गलत नियत राख्नेहरूसँग जोगिनु अर्को जोखिम रहेको डोमाको भनाइ छ । 

‘कामगर्दा कार्यरत संस्थामा भोग्ने समस्या त छँदैछन् । त्योबाहिर पनि सुरक्षित अवस्था छैन । पछिल्लो समय त क्याट्रीनसम्म मानव बेचबिखन गर्ने बिचौलीया छिरेकाले हामी महिला थप जोखिममा छौँ,’ उनले भनिन् ।

शुक्रबार काठमाडौंमा शुभअवसर ग्राम नेपालले आयोजना गरेको एक कार्यक्रममा मनोरञ्जन क्षेत्रका पेशागत पीडित सहभागीले यस्तै समस्या व्यक्त गरेका थिए । 

रामेछापकै रबिना तामाङले डोमाको जस्तै गुनासो गरिन् । स्नातक तह अध्ययन गरिरहेको बताउने उनी पनि काठमाडौंको एउटा क्याट्रीनमा कार्यरत छिन् । तोकिएको समयभन्दा बढी परिश्रम गर्नुपर्ने बाध्यताले पढाइमा निकै समस्या भएको तर अर्को विकल्प नहुँदा दुःखजिलो गरेर काम गरि रहनुपरेको उनको भनाइ छ । ‘पढ्ने रहर छ तर समय पुग्दैन । न त परिश्रम गरेजति पारिश्रमिक पाइन्छ,’ रबिनाले भनिन् ।



विराटनगरकी सुनिता खड्काले पनि मनोरञ्जन क्षेत्रमा काम गरेको लामो समय भयो । सो अवधिमा श्रम शोषण मात्रै होइन शारीरिक र मानसिक दुर्व्यवहारसमेत भोग्नुपरेको उनले सुनाइन् । मनोरञ्जन क्षेत्र आफैंमा नराम्रो होइन तर यस क्षेत्रका सञ्चालकहरूले व्यवसायलाई व्यवस्थित बनाउन समस्या भइरहेको उनको भोगाइ छ । 

‘मनोरञ्जन क्षेत्रमा धेरै महिला जोखिमपूर्ण अवस्थामा छन् । तोकिएको समयभन्दा बढी श्रम गर्दा पनि न समयमा तलब पाइन्छ, न त सम्मान नै । त्यसैले हाम्रो पेशागत सुरक्षा कसले गर्ने ?,’ उनको प्रश्न छ । 



अधिकारकर्मी रसना ढकाल भने मनोरञ्जन पेसा कलाकार जन्माउने क्षेत्र भएकाले सोहीअनुसार उचित सम्मान र पारिश्रमिकको व्यवस्था हुनुपर्ने धारणा राख्छिन् । मनोरञ्जन क्षेत्रमा कामगर्ने महिला तथा किशोरीले कोठा नपाउने, कोठा खोज्नकै लागि ‘लिभिङ टुगेदर’ बस्नुपर्ने, त्यसरी बस्दा थुप्रै आपराधिक गतिविधि निम्तिएका उनले बताइन् । ‘उहाँहरूले नियुक्ति पत्रसमेत पाउनुभएको छैन, समयमा तलब पाउने कुरा त परैजाओस्’, रसनाले भनिन्, ‘मनोरञ्जन क्षेत्रलाई मर्यादित बनाउन व्यवसाय सञ्चालकदेखि राज्यका हरेक निकाय सचेत हुन जरुरी छ ।’  ।

काठमाडौं महानगरपालिकाका सामाजिक विकास विभाग अधिकृत भवानी कपालीले महानगरले गरेको अनुगमनमा डान्सबार, होटलका तथा मनोरञ्जन क्षेत्रमा कामगर्र्ने किशोरीहरू बढी असुरक्षित रहेको बताइन् । यस्ता क्षेत्रमा काम गर्ने महिला तथा किशोरीलाई आत्मनिर्भर बनाउनुका साथै पेसालाई व्यवस्थित र मर्यादित बनाउने महानगरको योजना बनाइरहेको उनले जानकारी दिइन् । त्यसैगरी सबै वडालाई आफ्नो क्षेत्रमा रहेका डान्सबार र रेष्टुरेण्टको अवस्थाबारे अनुगमन गर्न निर्देशनसमेत दिइएको उनको भनाइ छ । 

कार्यक्रममा शुभअवसर ग्राम नेपालका प्रतिनिधि रञ्जना शर्माले सन् २०२३ मा मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको अवस्थामाथि अनुसन्धान प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला तथा पुरुषमध्ये धेरैले नियुक्ति पत्र नपाएको, शारीरिक र मानसिक शोषण खेप्नुपरेको, समयमा तलब नपाएको, सम्मानजनक व्यवहार नभएजस्ता समस्या अनुसन्धानले देखाएको शर्माले उल्लेख गरिन् । रासस

  • प्रकाशित मिति : वैशाख १४, २०८१ शुक्रबार २०:१२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया