logo-img

कार्यकर्तालाई देउवाको निर्देशन- आगलागी प्रभावितको राहत र उद्धारमा जुट्नू
फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत र उद्धारमा जुट्न निर्देशन दिएका छन् । 

आज एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले हालै महोत्तरी, खोटाङ, बाग्लुङ, पर्वत, गुल्मी, डोल्पालगायतका जिल्लामा भएका आगलागी प्रभावितको उद्धार, राहत र उचित बसोबासको व्यवस्थापनमा जुट्न निर्देशन दिएका हुन् ।

देशका विभिन्न जिल्लामा व्यक्तिका घर तथा वनमा आगलागीका कारण केही व्यक्तिको मृत्यु तथा सयौं व्यक्ति घाइते, घर, खाद्यान्न, लत्ताकपडालगायतका भौतिक सम्पत्ति नष्ट तथा क्षति हुनुका साथै सयौं चौपायाको मरेकाप्रति पनि सभापति देउवाले दुःख व्यक्त गरेका छन् ।  त्यस्तै, उनले आगलागीका कारण आफ्नो घरबाससहित धनसम्पत्ति गुमाउनुभएका परिवारजनप्रति पार्टी र व्यक्तिगततर्फबाट सहानुभूति प्रकट गरेका छन् । 

‘आगलागीमा परी जीवन गुमाउनु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दुछु । साथै, घाइतेहरूको सीघ्र स्वास्थ्यलाभको कामना गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।

सभापति देउवाले आगलागीका कारण जलेर घाइते भएकाको उचित उपचारको प्रबन्ध तथा घरवारविहीन परिवारजनलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोवासको यथोचित प्रबन्ध गर्नसमेत सरकारसँग माग गरेका छन् । 





  • प्रकाशित मिति : वैशाख १४, २०८१ शुक्रबार २०:३६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया