logo-img

५० वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै वडाध्यक्ष खनाल

पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद खनाल आजदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी भएका छन् । उनले पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा दिएका छन् ।

उमेरले ५० वर्ष पूरा भएका खनालले हेटौंडा–११ स्थित निर्मल बहुमुखी क्याम्पस वस्तीपुरबाट परीक्षा दिएका हुन् । उनी विद्यालय पोसाक लगाएर आज बिहानै परीक्षाका लागि परीक्षा केन्द्रमा पुगेका थिए । 

उनले अब पढाइलाई निरन्तरता दिने बताए । ‘मेरो दुई छोरा, श्रीमती र आमाको साथमा बस्छु, परिवारको साथ सहयोगले नै मैले पढाइतर्फ लागेको हुँ,’ खनालले भने । उनको जेठो छोरा सिभिल इञ्जिनियर छन् र कान्छो छोरा बीएस्सी सकेर बसेका छन् ।  

वडाध्यक्ष खनाल बाल जीवन ज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत हुन् । उनले अध्यक्ष भएपछि सो विद्यालयमा ११ र १२ कक्षा सञ्चालन गरेका थिए ।

वि.सं २०५६ मा प्रवेशिका परीक्षा पास गरेका खनालले पढ्ने चाहना र इच्छा हुँदाहुँदै घरको परिस्थितिले गर्दा पढाइलाई निरन्तरता दिन नसकेर पढाइलाई बीचमै छाडेका थिए । 

‘वि.सं २०७८ सालमा कक्षा ११ भर्ना भएँ, ११ पास पनि गरेँ, राम्रोसँग पढेर १२ पास पनि गर्छु,’ उनले भने । दोस्रोपटक पनि वडाध्यक्षमा निर्वाचित खनाल नेपाली कांग्रेसको क्रियाशील सदस्य हुन् । 





  • प्रकाशित मिति : वैशाख १४, २०८१ शुक्रबार २२:४५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया