logo-img

कोलकाताविरुद्ध पञ्जाबको कीर्तिमानी जित, २६२ रनको लक्ष्य ८ बलअगावै पूरा गर्‍यो

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइीपएल) २०२४ मा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । शुक्रबार राति सम्पन्न खेलमा कोलकाताले दिएको २ सय ६२ रनको लक्ष्य पञ्जाबले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

योसँगै पञ्जाबले टी–२० क्रिकेट इतिहासमा विशाल लक्ष्य पूरा गर्ने रेकर्ड बनायो । यसअघि यो फर्म्याटमा उच्च स्कोरको लक्ष्य पूरा गर्ने रेकर्ड दक्षिण अफ्रिकाको नाममा थियो । उसले सन् २०२३ मा वेस्ट इण्डिजले दिएको २ सय ५९ रनको लक्ष्य पूरा गरेको थियो । 

पञ्जाबको जितमा जोनी बेयरिस्टोले शतकीय पारी खेले । उनले ४८ बलमा ९ छक्का र ८ छक्कासहित अविजित १ सय ८ रन बनाए । यस्तै, शशांक सिंहले अविजित ६८, प्रभसिमरन सिंहले ५४ र रिली रुसोले २६ रनको योगदान दिए । कोलकाताका लागि सुनिल नारायण र हर्षित रानाले एक/एक विकेट लिए । 

त्यसअघि इडेन गार्डेनमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६१ रन बनायो । उसका लागि ओपनिङ ब्याटरद्वय फिल साल्ट र सुनिल नारायणले अर्धशतकीय पारी खेले । ३६ बलको सामना गरेका साल्टले ६ छक्का र ६ चौकासहित सर्वाधिक ७५ रन बनाए । यस्तै, नारायणले ३२ बलमा ९ चौका र ४ छक्काको मद्दतमा ७१ रनको इनिङ खेले । 

त्यस्तै, वैंकटेश अय्यर र कप्तान श्रेयस अय्यरले २८/२८ तथा र आन्द्रे रसेलले २८ रन जोडे । पञ्जाबका लागि अर्शदीप सिंहले दुई, कागिसो रबाडा, हर्षल पटेल र राहुल चाहरले एक/एक विकेट लिए । 

जारी सिजनमा कोलकाताले आठ खेल खेल्दा पाँचमा जित र दुई खेलमा हार बेहोरेको छ । कोलकाता अहिले १० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।



यस्तै, पञ्जाब आठौं स्थानमा छ । उसले ९ खेल खेल्दा ६ मा हार तथा तीन खेलमा जित निकालेको छ ।  



  • प्रकाशित मिति : वैशाख १४, २०८१ शुक्रबार २३:४०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया