logo-img

लिपिबद्ध गरिँदै साल्पा-सिलिचुङको मुन्दुमी मिथक

मुन्दुम मौखिक इतिहास हो । किरात समुदायले मुन्दुमलाई जीवनदर्शन मान्छन् । यस्तै किरात राई समुदायको संस्कृति र सभ्यतासँग जोडिएको साल्पा-सिलिचुङको मुन्दुमी मिथकलाई लिपिबद्ध गरी पुस्तकका रुपमा प्रकाशन गरिएको छ । 

साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले प्रकाशन गरेको ‘साल्पा सिलिचुङ–सिलिछो’ नामक मुन्दुमी मिथक र इतिहासको पुस्तक शुक्रबार यहाँ विमोचन गरिएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा प्राडा टङ्क न्यौपाने, प्राडा सोमनाथ खतिवडा, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सह-प्राध्यापक डा जनक राई, किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो र राससका महाप्रबन्धक सिद्धराज राईले सामूहिक रुपमा पुस्तकको विमोचन गरेका हुन् ।

पुस्तकको परिचर्चा गर्दै त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. जनक राईले किरात राई समुदायका आम मानिसले मुन्दमी ज्ञानलाई कसरी प्रयोग गरिरहेका छन् भन्ने पुस्तकमा उल्लेख गरिएको बताए । “साल्पा सिलिचुङको मुन्दुमी मिथकलाई अध्ययन गर्दा जतिखेर किरातका पुर्खाहरु साल्पा सिलिचुङ पुगेका थिए, त्यतिखेर मातृसत्तात्मक समाज भएको प्रस्ट हुन्छ,” उनले भने । 

प्राडा सोमनाथ खतिवडाले विश्वका धेरै विश्वविद्यालयले मौखिक इतिहास पढाउने गरेको बताए । उनले नेपालमा मात्र लेख्य इतिहास पढाउने गरेको तर किरात सभ्यता र संस्कृतिसँग धेरै ठूलो मौखिक इतिहास भएको बताए । उनले त्यस्ता मौखिक इतिहासलाई लिपिबद्ध गर्ने काममा यो पुस्तक कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे । 

किरात संस्कृतिका अध्येता प्राडा टङ्क न्यौपानेले कुनै एउटा मात्र जाति र व्यक्तिको देश नहुने बताए । विविध जाति समुदाय रहेको नेपालमा किरात धर्म संस्कृतिका अनेकौँ मुन्दुम लेखिनुपर्ने उनको जोड थियो । “यस पुस्तकले मिथकहरुको माध्यमबाट किरात राईहरुको एकताको सन्देश दिन खोजेको छ”, उनले भने, “अहिलेको नेपाल राज्य निर्माण गर्ने प्रमुख शक्ति किरात हो, त्यसैले साल्पा र सिलिचुङको मिथक पनि जनइतिहास भएकामा कुनै विवाद छैन ।”

आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष दिवस राईले किरात राई समुदायमा खुवालुङ, तुवाचुङ र सिलिचुङ सभ्यताको प्रतीक रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि भूपाल राईले मुन्दुमी मिथकलाई पुस्तकका माध्यमबाट प्रकाशन गरिनु प्राज्ञिक काम भएको भन्दै प्रशंसा गरे । “जसको लेख्य इतिहास हुँदैन, त्यसको मिथक मात्र बाँकी रहन्छ”, उनले भने, “कुनै कालखण्डमा राज्यले किनाराकृत गरेको समुदायको मिथक मात्र बाँकी रहन्छ, त्यसैले यो पुस्तक एउटा लिखित र प्राज्ञिक आक्रोश पनि हो ।”



साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिका अध्यक्ष राजेन राईले यसपटक साल्पा सिलिचुङमा सुम्निमा पारुहाङ र नछुङ/नाक्सो (धामी) को प्रतिमा स्थापनासँगै मिथक खण्डको पुस्तक प्रकाशन गरिएको बताए । अर्को खण्डमा मुन्दुम सङ्कलनसँगै थप इतिहास संरक्षणको काम गर्ने बताए । 

दुई सय २७ पृष्ठको पुस्तकमा मिथक र विश्लेषण गरी दुईवटा खण्ड छ । २१ वटा मिथक सङ्कलित छन् । पुस्तकको सम्पादन भोगिराज चाम्लिङ, डा तारामणि राई, चन्द्रकुमार हतुवाली र शालिकराम राईले गरेका छन् । पुस्तक विमोचन कार्यक्रमपश्चात् किराती सङ्गीतमा आधारित भई मुन्दुमी महिमागान र साङ्गीतिक कार्यक्रम गरिएको थियो ।



साल्पा सिलिचुङ साल्पा सिलिछो गाउँपालिका भोजपुरमा पर्दछ । यो स्थान भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु र खोटाङको सीमासँग जोडिएको छ । साल्पा पोखरी समुन्द्री सतहदेखि तीन हजार सात सय ५० मिटर उचाइमा छभने सिलिचुङ चार हजार एक सय ५५ मिटर अग्लो शिखर हो । 

  • प्रकाशित मिति : वैशाख १५, २०८१ शनिबार ११:४२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया