logo-img

विदेशी सम्बन्धन प्राप्त कलेजको अनुगमन गर्दै मन्त्रालय, यस्ता छन् कलेजका बदमासी

विदेशी सम्बन्धनमा चलेका कलेजहरूको व्यवस्थापनका लागि निर्देशिका संशोधन गर्न कार्यदल गठन गरेकी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अहिले ती कलेजहरूको अनुगमन गर्ने तयारी गरेकी छिन् । विदेशी सम्बन्धन प्राप्त कलेजसम्बन्धी गुनासो आउन थालेपछि शिक्षामन्त्री श्रेष्ठले ती कलेजहरूको आवश्यक अनुगमन गर्ने तयारी गरेको शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता केशवप्रसाद दहालका अनुसार मन्त्रालयले चाँडै विदेशी सम्बन्धन प्राप्त कलेजहरूको अनुगमन गर्ने जानकारी दिए ।

शिक्षा मन्त्रालयअन्तर्गतको उच्च शिक्षा महाखाका कर्मचारीलाई चरणबद्ध रूपमा सबै कलेजमा पठाएर अनुगमन गर्ने तयारी भइरहेको प्रवक्ता दहालको भनाइ छ । उनले भने, ‘मन्त्रालयले एउटा टुल्स बनाएको छ । सोहीअनुसार अनुगमन गर्न कर्मचारीलाई खटाउने तयारी भइरहेको छ ।’ शिक्षा मन्त्रालयले दिएको सर्तबन्देजको पालना कलेजले गरेका छन्–छैनन्, निर्देशिकाले तोकेको मापदण्ड बमोजिम सञ्चालन भएका छन् वा छैन भनेर अनुगमन हुने उनले बताए ।

एकैपटक सबै विद्यालय तथा कलेजमा जान सक्ने सम्भावना नभएकाले शिक्षा मन्त्रालयको प्रशासन महाशाखाले क्रमशः कर्मचारीलाई अनुगमनमा खटाउने तयारी भइरहेको उनले बताए । अनुगमन गरेर रिपाेर्ट आएपछि विश्लेषण गर्दा मापदण्डविपरीत सञ्चालन भएको देखिए मन्त्रालयले आवश्यक कारबाहीको प्रक्रियाअघि बढाउने उनको भनाइ छ । अनुगमन कहिलेबाट गर्ने भन्ने विषयमा शिक्षा मन्त्रालय अन्तर्गतको उच्च शिक्षा महाशाखाले समन्वय गरिरहेको उनले जानकारी दिए ।

विदेशी सम्बन्धन प्राप्त कलेजहरूलाई व्यवस्थापन गर्न निर्देशिका संशोधन गर्न लागेकी शिक्षामन्त्री श्रेष्ठले निर्देशिका संशोेधन र अनुगमनका लागि छुट्टा छुट्टै कार्यदल गठन गरेर नियमविपरीत सञ्चालन भएका कलेज तथा स्कुलहरूलाई नियमन गर्ने तयारी गरेकी छिन् । शिक्षा मन्त्रालयका अनुसार अहिले देशभर विदेशी सम्बन्धनप्राप्त कलेजेको संख्या ८० रहेको छ । जसमध्ये ५९ वटा कलेजले स्नातक र स्नात्तोत्तर सम्बन्धीका कार्यक्रम सञ्चालन गरिरहेका छन् भने २१ वटा स्कुलले कक्षा १ देखि १२ सम्मको कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

यी क्षेत्रमा मन्त्रालयको अनुगमन आवश्यक

विसं २०७७ देखि नै महालेखापरीक्षकको प्रतिवेदनले विदेशी शैक्षिक संस्थाबाट सम्बन्धन लिएर सञ्चालित शिक्षण संस्थाको बेतिथिमाथि निरन्तर प्रश्न उठाइरहेको छ । विदेशी सम्बन्धन लिएका कलेजले नियम पालना नगरेको भन्दै महालेखाले बारम्बार कारबाहीको दायरामा ल्याउन शिक्षा मन्त्रालयलाई निर्देशन दिँदै आएकाले अबको अनुगमनमा मन्त्रालयले महालेखाले दिएको सुझावलाई अवलम्बन गर्नुपर्ने देखिन्छ ।



त्यस्तै, विदेशी सम्बन्धनप्राप्त कलेजहरूको नविकरणको विषय पनि बारम्बार उठ्ने गरेको छ । नवीकरणविना सञ्चालन भएका कलेजलाई कानुनी दायरामा ल्याउन आवश्यक छ । विदेशी सम्बन्धन प्राप्त कलेजहरूले लिने भर्ना, शुल्क र परीक्षामा पनि पारदर्शिता देखिँदैन । यो पक्षलाई पनि मन्त्रालयको यसपटकको अनुगमनले समेट्नुपर्नेछ ।

कलेजले विदेशी डिग्री उपलब्ध गराउने नाममा विद्यार्थीबाट मनोमानी ढंगले चर्काे शुल्क असुल्ने गरेका छन् । मन्त्रालयले कुन कलेजले कतिसम्म शुल्क लिन पाउने भन्ने मापदण्ड निर्माण गरी शुल्क लिन पाउने आधारहरू तय गरी शुल्क तोक्नुपर्छ । यस्तो गर्न सकेको खण्डमा विद्यार्थी र अभिभावकले राहत महसुस गर्नेछन् ।



यसैगरी बेलायतका शैक्षिक संस्थाबाट सम्बन्धन लिएका अधिकांश कलेजहरूले तीन वर्षे कोर्सलाई तानतुन गरेर चारवर्षे बनाई विद्यार्थीबाट शुल्क असुल्ने काम गरेका छन् । यसतर्फ पनि शिक्षा मन्त्रालयले ध्यान पुर्याउन जरुरी छ । 

बेलायतबाट सम्बन्धन लिएर नेपालमा सञ्चालनमा रहेका शैक्षिक संस्थाको संख्या २१ रहेको छ । बेलायबाट सम्बन्धन लिएका अधिकांश कलेजले तीन वर्षे कोर्सलाई चार वर्षे बनाएको कुरा अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संस्था (आइप्यान)कै पदाधिकारीहरूले स्वीकार गर्ने गरेका छन् ।

यस्तै कतिपय कलेजले एउटा विश्वविद्यालयबाट सम्बन्धन लिने, तर पढाइ पूरा नहुँदै अर्कै विश्वविद्यालयसँग सम्बन्धन परिवर्तन गर्ने गरेका छन् । जसका कारण विद्यार्थीको भविष्य डामाडोल हुने गरेको छ । यो विषयमा पनि शिक्षा मन्त्रालयले अनुगमन गर्न जरुरी देखिन्छ ।

सम्बन्धन प्राप्त कतिपय कलेजहरूले विद्यार्थीलाई दुई वर्षको डिप्लोमा अध्यापन गराउने र एकवर्ष विश्वविद्यालयको कोर्स अध्यापन गराउने गरेका छन् । इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी (आइएसएमटी) कलेज यस्तो कार्यमा संलग्न रहेको प्रमाण फरकधारले प्राप्त गरेको छ ।

कलेजले दुई वर्ष ‘पियरसन’को हायर नेसनल डिप्लोमा कोर्स र एक वर्ष युनिभर्सिटी अफ सण्डरल्यान्डको कोर्स पढाउने गरेको छ । त्यस्तै, हेराल्ड कलेजले पनि ‘आई एकेडेमी’को डिप्लोमा कोर्स पढाउने गरेको तथ्य फरकधारले फेला पारेको छ ।

शिक्षा मन्त्रालयका अनुसार विदेशी सम्बन्धन प्राप्त कलेजले डिप्लोमा कोर्स पढाउन पाउँदैनन् । तर, आइएसएमटी र हेराल्ड कलेजले त्यसलाई बेवास्ता गर्दै डिप्लोमा कोर्स पढाइरहेको छन् । यो विषयमा पनि शिक्षामन्त्री श्रेष्ठले ध्यान पुर्याउन जरुरी छ ।

यसैगरी कलेजले विद्यार्थीको कुल संख्यामध्ये १० प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने नियम भए पनि केही प्रतिशत छुट दिएका विद्यार्थीको संख्यालाई समेत छात्रवृत्ति दिएको भन्दै मन्त्रालयमा विवरण पेस गर्ने गरेका छन् । यसतर्फ पनि शिक्षा मन्त्रालयको नजर पर्न जरुरी छ ।

शिक्षामन्त्रालयकै पूर्वसचिव गोपीनाथ मैनालीले अधिकांश विदेशी सम्बन्धन प्राप्त कलेजहरू राजनीतिक संरक्षणमा मापदण्डविपरीत सञ्चालन भइरहेको बताउँदै आएका छन् । राजनीतिक संरक्षण पाएर मापदण्डविपरीत सञ्चालन भएका त्यस्ता कलेजलाई पनि निमयन गर्न शिक्षामन्त्री श्रेष्ठलाई चुनौती देखिन्छ ।

  • प्रकाशित मिति : वैशाख १८, २०८१ मंगलबार १९:२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया