logo-img

देउवाको दाबी : कांग्रेस सदैव मजदुरका हकहितमा क्रियाशील छ
फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई समाधान गरेर श्रमिक वर्गको हक र हितको संरक्षण र सम्वद्र्धन गर्न कांग्रेस सदैव क्रियाशील रहेको बताएका छन् ।

मजदुर दिवसका अवसरमा एक सन्देश जारी गर्दै उनले सुशासनका माध्यमबाट आफ्नो आर्जनको सुरक्षा, अनुकूल सामाजिक वातावरण, उचित ज्याला एवं पारिश्रमिक, भयरहित, शान्त र सुरक्षित अवस्थाको सिर्जना गर्न कांग्रेस क्रियाशील रहेको उल्लेख गरेका हुन् ।

सभापति देउवाले वि.सं २००३ सालमा कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदुरको पहिलो ऐतिहासिक आन्दोलन गरेको उल्लेख गर्दै तत्कालीन सरकारले त्यो आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर जननायक बीपी कोइरालालगायत धेरै नेतालाई पक्राउ गरेको बताए ।

नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ सालको ऐतिहासिक जनक्रान्तिको प्रस्थानविन्दु त्यही मजदुर आन्दोलन भएको उल्लेख गर्दै उनले कांग्रेस र मजदुर सधैँ एक अर्कामा सहयोगी भएको कुरा बताएका छन् ।

वि.सं २०१६ मा कांग्रेसको जननिर्वाचित सरकारले नै कारखाना र मजदुरसम्बन्धी कानुनको तर्जुमा गरेर, मजदुरलाई कानुनसम्मत अधिकार प्रदान गरेको स्मरण गराएका छन् । 

सभापति देउवाले आज पनि नेपालका श्रमजीवीहरूले अनेक समस्या बेहोरिरहनुपरेको उल्लेख गरेका छन् । यो ऐतिहासिक दिनमा नेपाल तथा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । 



१ मेमा मजदुर वर्गले लामो सङ्घर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन हो । सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरले गरेको आन्दोलनको सफलताको स्मरण गर्दै यो दिनलाई संसारभरिका मजदुरले अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउँदै आएका छन् ।  

नेपालमा पनि श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरूक बनाइराख्ने अवसरका रूपमा यो दिवस मनाइँदै आइएको छ । 




  • प्रकाशित मिति : वैशाख १९, २०८१ बुधबार ८:३१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया