logo-img

कोलकाता आइपिएल प्लेअफ नजिक, लखनउको यात्रा कठिन

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले प्लेअफ सम्भावना लगभग सुरक्षित गरेको छ । गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सलाई ९८ रनले हराउँदै कोलकाताले प्लेअफ सम्भावना लगभग सुरक्षित गरेको हो ।

प्लेअफमा स्थान बनाउन कोलकातालाई अब एक जित मात्र आवश्यक छ । यदि त्यसो हुन नसके पनि कोलकाता नेट रन रेटमा माथि रहँदै प्लेअफ पुग्ने सम्भावना बलियो छ । अहिले उसको नेट रनरेट १.४५३ रहेको छ ।

कोलकातासँग घरेलु मैदानमा फराकिलो हार बेहोरेको लखनउको यात्रा भने केही कठिन बनेको छ । उसले ११ खेल खेल्दा ६ मा जित र पाँच खेलमा हार बेहोरेको छ । आफ्नो ११औँ खेलमा कोलकाताले दिएको २ सय ३६ रनको विशाल लक्ष्य पछ्याएको लखनउ १६.१ ओभरमा १३७ रनमै अलआउट भयो । 

उसका लागि मार्कस स्टोइनिसले ३६, कप्तान केएल राहुलले २५, एस्टन टर्नरले १६, आयुष बदोनीले १५ र निकोलस पूरनले १० रन जोडे । कोलकाताका लागि हर्षित राना र वरुण चक्रवर्तीले तीन/तीन, आन्द्रे रसेलले दुई, मिचेल स्टार्क र सुनील नारायणले एक/एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ३५ रन बनायो । उसका लागि सुनील नारायणले आक्रामक ब्याटिङ गरे । ३९ बलको सामना गरेका नारायणले सात छक्का र ६ चौकासहित सर्वाधिक ८१ रन बनाए । 

यस्तै, फिल साल्ट र अङ्कृष्ण रघुवंशीले ३२/३२, रमनदीप सिंहले अविजित २५, कप्तान श्रेयस अय्यरले २३, रिंकु सिंहले १६ र आन्द्रे रसेलले १२ रन बनाए ।



लखनउका लागि नवीन उल हकले तीन, रवि विश्नोई, युद्धवीर सिंह र यश ठाकुरले एक/एक विकेट लिए । यो जितपछि ११ खेलबाट १६ अंक जोडेको कोलकाता शीर्ष स्थानमा उक्लिएको छ । पराजित लखनउ पाँचौं स्थानमा छ । 



  • प्रकाशित मिति : वैशाख २४, २०८१ साेमबार ६:३९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया