logo-img

शिक्षासेवी एवं साहित्यकार बालकृष्ण भट्टराईको निधन

शिक्षासेवी एवं साहित्यकार बालकृष्ण भट्टराईको निधन भएको छ । उनको आज बिहान आठ बजे ८० वर्षको उमेरमा निधन भएको हो । 

नेपाली वाङ्मयका क्षेत्रमा समर्पित रहेर साहित्य सिर्जना, सम्पादन, अनुवादका साथै साहित्यिक संस्था स्थापना र सञ्चालनका माध्यमबाट नेपाली भाषासाहित्यको संरक्षण र संवद्र्धनमा भट्टराईको उल्लेख्य भूमिका छ । 

शिक्षा र साहित्यका क्षेत्रमा समर्पित र निष्ठावान् भट्टराई विगत २० महिनाभन्दा लामो समयदेखि क्यान्सर रोगका कारण अस्वस्थ भई उपचाररत थिए । भट्टराईका श्रीमती र पाँच सन्तान छन् । अमेरिकामा रहेकी छोरी मञ्जु भट्टराई अधिकारी नेपाल आउने क्रममा रहेकाले भट्टराईको पार्थिव शरिरको अन्त्योष्टि  २०८१ वैशाख २७ मा पशुपति आर्यघाटमा दिउँसो १ः३० मा र १३ दिनको कार्य भट्टराईको कर्मथलो  भैरहवास्थित निवासमा गर्ने गर्ने परिवारले जनाएको छ ।

गत ११ वैशाखमा ललितपुर इमाडोलस्थित निवासमा भट्टराईको पुस्तक ‘समीक्षावली’को लोकार्पण भएको थियो । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको आयोजनामा साहित्यकार रमा शर्माबाट भट्टराईको समालोचना संग्रह ‘समीक्षावली’ लोकार्पण भएको थियो । 

साहित्यकार सूब सेनको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रा.डा. भागवत ढकालले लोकार्पित कृतिको समीक्षा गरेका थिए । 



प्रतिष्ठानको २०९औँ कृतिका रूपमा प्रकाशित ‘समीक्षावली’मा लक्ष्मीप्रसाद देवकोटा, जगदीशशमशेर राणा, तीर्थराज अधिकारी, भद्रकुमारी घले, सूब सेन, अजम्बरध्वज खाती, प्रा.डा. कपिल लामिछाने, नीलाम्बर पन्थी र सुनीता कार्कीका कृतिहरूको भट्टराईले समालोचना–समीक्षा गरेका छन् । 
आमा हरिकलादेवी तथा पिता रामप्रसाद भट्टराईका सुपुत्रका रुपमा उनी २००१ कात्तिक १७ मा पाल्पाको बौघा गुम्हामा जन्मिएका थिए । 

२०१५ मा भारतको क्रृषिकेशबाट प्रकाशन हुने ‘नयाँ पुकार’ पत्रिकामा ‘ग्राम्य जीवन’ शीर्षक कविता छापिएपछि साहित्यिक क्षेत्रमा उनको प्रवेश भएको थियो । 



नेपाली साहित्यका  कविता, निबन्ध, कथा, समालोचना, अनुवाद, सम्पादन, अन्तर्वार्तालगायत विधामा समर्पित रही रचना एवं कृति प्रकाशनका साथै सिद्घार्थ साहित्य परिषद् र लुम्बिनी वाङ्मय प्रतिष्ठानजस्ता थुप्रै ऐतिहासिक साहित्यिक संस्थाको स्थापना, सञ्चालन र मार्गनिर्देशनमार्फत नेपाली साहित्यको संवद्र्धन र संरक्षणमा उनले खेलेको भूमिका धेरैको स्मृतिमा अझै ताजै छ । 

रुपन्देही, भैरहवालाई कर्मभूमि बनाएर नेपाली साहित्यमा छ दशक लामो समयसम्म क्रियाशील रहँदै विविध गतिविधिमार्फत नेपाली भाषासाहित्यको उन्ननयमा भट्टराईको योगदान सधैँ स्मरणिय रहनेछ ।

  • प्रकाशित मिति : वैशाख २५, २०८१ मंगलबार १७:३५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया