logo-img

सहकारीबाट हजारौं जनताको अर्बौँ रकम हिनामिना भयो, सरकारले बेवास्ता गर्‍यो : कांग्रेस प्रमुख सचेतक लेखक
फाइल तस्बिर

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसद्मा प्रमुख प्रतिपक्षले उठाएका महत्त्वपूर्ण विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको बताएका छन् । 

पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकारसँगको भेटघाटमा उनले मन्त्री वा कुनै व्यक्ति विशेष नभई हजारौं जनताको अर्बौँ रकम हिनामिना र अपचलन भएको विषयमा छानबिन गरौँ भन्दा त्यसलाई बेवास्ता गरिएको आरोप लगाए । 

प्रमुख सचेतक लेखकले भने, ‘जनताले छाक काटेर सहकारीमा राखेको रकम अपचलन गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइनुपर्छ । मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण खम्बाका रूपमा रहेको सहकारी अभियानलाई राम्रो बनाएर लैजानुपर्छ ।’ 

आफ्नो पार्टी सरकारमा रहँदा पनि ऐन निर्माणका लागि आवश्यक विधेयक ल्याउने र पारित गर्ने विषयमा कमी कमजोरी भएको स्वीकार्दै उनले भने, ‘हामी अहिले प्रतिपक्षमा छौँ, हिजोको त्यो कमी कमजोरी यथावत् छ । विधायनको काम कमजोर भयो भनी आएका सुझाव बोधगम्य छ ।’ 

संसद्को प्रभावकारिता हुन सकेन र जनतालाई संसद् हाम्रा लागि हो भन्ने अनुभूति भएन भने व्यवस्थालाई नै कमजोर तुल्याउन सक्नेतर्फ विचार पुर्‍याउन आवश्यक रहेको बताउँदै नेता लेखकले संसद्लाई काम दिने र जबाफदेही तुल्याउने जिम्मेवारी सरकारकै भएको विचार प्रकट गरे ।
 
संसद्मा दलका नेताबीच मन्तव्यका क्रममा हुने आलोचनात्मक क्रियाकलापले अवलोकनका लागि आउने विद्यार्थीले के पाठ सिक्न सक्छन् भन्नेमा सचेत हुन आवश्यक रहेको बताउँदै पूर्वमन्त्री लेखकले नेकपा (एमाले) सँग नयाँ समीकरण बनाउने र अहिलेको गठबन्धन भत्काउने खेलमा आफ्नो पार्टी नरहेको प्रतिक्रिया दिए ।

देश र जनताका महत्त्वपूर्ण र आधारभूत विषयमा सरकार, प्रमुख प्रतिपक्ष दलबीच सहमति, सहकार्य र समन्वय हुन जरुरी रहेको बताउँदै उनले यस पटक पहिलाको जस्तो छाया सरकार बनाएर अघि बढ्ने मनस्थितिमा कांग्रेस नरहेको जानकारी दिए ।  





  • प्रकाशित मिति : वैशाख २६, २०८१ बुधबार १८:१६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया