logo-img

चार अभिनेत्री जाे गर्दैनन् नयाँ वर्षमा नयाँ संकल्प

काठमाडौं– हामीमध्ये कतिले अब घरमा क्यालेन्डर फेरिसक्यौँ होला । नयाँ वर्ष २०७६ हाम्रो ढोकैमा आइसकेको छ । 

जब नयाँ वर्ष आउँछ, हामी धेरैले नयाँ संकल्पहरु गर्छौँ, नयाँ प्रतिबद्धताहरु बनाउँछौँ । नयाँ वर्षको सुरुवातसँगै नयाँ वर्षमा केही गर्ने जोश र जाँगर बटुल्छौँ । बितेको वर्षमा गर्न नसकेका कतिपय कामहरु सकाउने प्रयास गर्छौँ । 

तर, हामीमध्ये केही हुन्छौँ जसलाई क्यालेन्डरमा दिन फेरिनुले मात्र पनि ठूलो माने राख्दैन । त्यस्तैमध्ये एक हुन्, अभिनेत्री प्रियंका कार्की । 

‘नयाँ वर्ष आयो भनेर अहिलेसम्म मैले कुनै संकल्प गरेकी छैन, रिजोलुसन बनाएकी छैन,’ तपाईंको नयाँ वर्षको रिजोलुसन के छ त भन्ने प्रश्नमा प्रियंकाले भनिन्, ‘मलाई केही काम गर्न मन लाग्यो भने जहिले पनि गरिहाल्छु, नयाँ वर्ष कुर्नै पर्छ भन्ने छैन ।’

अर्की अभिनेत्री ऋचा शर्मा पनि एक दिन वा विशेष अवसर वा समयलाई साक्षी राखेर संकल्प गर्नुमा आफूलाई विश्वास नभएको बताउँछिन् । ‘केही गर्ने संकल्प त मैले जन्मिएको दिनबाट नै सुरु गरेकी हुँ,’ उनले भनिन्, ‘मेरा लागि हरेक दिन नयाँ नौलो हो, हरेक सेकेन्ड नयाँ हो । त्यसैले म अठोट गर्दा पनि प्रत्येक दिन गर्छु ।’

शर्मालाई नयाँ वर्ष आउने भन्ने कुराले आफ्नो मनका प्रतिबद्धता खासै अर्थ नराख्ने उनी बताउँछिन् । ऋचा जस्तै संकल्पमा विश्वास गर्दिनन् अभिनेत्री केकी अधिकारी । तर ‘न्यु इयर रिजोलुसन’ नबनाउने केकीको कारण भने फरक छ । 



‘म हरेक वर्ष संकल्प गर्थे तर संकल्प गरेअनुसार आफूले पछि गर्न सक्दिनँ,’ उनले हाँस्दै भनिन्, ‘बरु नसोचेका राम्रा काम पनि भइहाल्छन्, त्यसैले आजभोलि म कुनै संकल्प गर्दिनँ ।’

केकीले नयाँ वर्षमा संकल्प गर्न छाडेको दुई वर्ष भइसक्यो । ‘हरेक दिन आफूलाई हिजोको आफूभन्दा आजको आफूलाई कसरी राम्रो बनाउने भनेर प्रयत्न गरिरहन्छु,’ उनले भनिन्, ‘नयाँ वर्षकै दिनबाट केही गर्छु भनेर संकल्प नलिए पनि जीवनभर राम्रो गर्ने संकल्प गरिरहेकी छु । यस अर्थमा म हरेक दिन संकल्प गर्छु ।’



अभिनेत्री स्वस्तिमा खड्काको विचार पनि केकीको विचारसँग मिल्दो जुल्दो छ । गर्छु भनेको काम गरेर नसकिने भएकाले पनि आफूले संकल्प गर्न छाडेको बताउँछिन् स्वस्तिमा । ‘मन लागेको काम गर्न कुनै विशेष दिन नै हुनु पर्छ भन्ने छैन । राम्रो काम त जहिले, जतिबेला देखि सुरु गर्दा पनि भयो,’ स्वस्तिमाले भनिन् । 

स्वास्तिमालाई कुनै दिनलाई पर्खेर संकल्प गर्नु भनेको भोलिवादी हुनु हो जस्तो लाग्छ । ‘कुनै एक दिनलाई पर्खेर केही कामको अथवा नराम्रा बानी सुधार्छु भन्नु भोलिवादी हुनु हो,’ उनले भनिन् । तर, उनलाई गएको वर्षभन्दा आउँदो वर्षमा राम्रो गर्नु पर्छ भन्ने चाहिँ लाग्छ । उनी भन्छिन्, ‘पक्कै पनि आउने साल राम्रो गर्न सकूँ र राम्रो गर्ने छु भनेर मनमनै त लाग्छ नि !’

  • प्रकाशित मिति : चैत ३०, २०७५ शनिबार १०:४१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया