logo-img

सन्दीपको मुद्दामा मलाई जोडेर दुष्प्रचार गरियो, कानुनी उपचारमा जान्छु : पारस खड्का

सन्दीप लामिछानेको मुद्दामा आफूलाई जोडेर दुष्प्रचार गरिएको भन्दै नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आपत्ति जनाएका छन् ।

बुधबार साँझ सामाजिक सञ्जालमार्फत खड्काले आफ्नो चरित्र हत्या गर्ने उदेश्यले नियोजित दुष्प्रचार गरिएको बताएका हुन् । विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहीन तरिकाले लगाइएको व्यक्तिगत आरोपप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उनले जनाएका छन् ।

खड्काले लेखेका छन्, ‘पछिल्लो केही समययता सामाजिक सञ्जालमा मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहीन तरिकाले म माथि भैरहेको व्यक्तिगत आरोपप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। नेपालको कानुनले कसैलाई पनि बिनाप्रमाण चरित्र हत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट दिएको छैन। नेपालको कानुनले सबैलाई कानुनी उपचारको बाटो खुल्ला राखेको छ।’

सन्दीप लामिछानेसँग जोडिएको पछिल्लो मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको उल्लेख गर्दै उनले उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जाने बताएका छन् ।

खड्काले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली क्रिकेटसँग सम्बन्धित विभिन्न पक्षहरू र विशेषतः सन्दिप लामिछानेसँग जोडिएको पछिल्लो मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जाने नै छ। यो सबैकाबीच समेत तर्कहीन तरिकाले मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले ममाथि भैरहेको नियोजित षड्यन्त्रलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउने समेत जानकारी गराउन चाहन्छु ।’ 





  • प्रकाशित मिति : वैशाख २६, २०८१ बुधबार २१:३५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया