logo-img

पितृपक्षका अवसरमा मुक्तिनाथमा चहलपहल बढ्याे

कास्की– आश्विन कृष्णपक्ष (पितृपक्ष) का अवसरमा हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ जाने तीर्थयात्रीहरूका कारण पोखरादेखि मुक्तिनाथसम्म चहलपहल बढेको छ । प्रत्येक वर्ष पितृपक्षका अवसरमा मुस्ताङको कागबेनीमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गरेमा पितृको उद्धार हुने विश्वासका कारण देशका विभिन्न भागका दर्शनार्थी मुक्तिनाथ पुग्ने गरेका हुन् ।

मुक्तिनाथ जाने प्रमुख नाका पोखरा भएकाले यहाँबाट पर्वत, म्याग्दी हुँदै स्थलमार्गबाट एक दिनको यात्रामा मुक्तिनाथ पुग्न सकिन्छ भने हवाई मार्गबाट आधा घण्टाको उडानमा जोमसोम विमानस्थल हुँदै पनि जान सकिन्छ । पोखरा विमानस्थलबाट जोमसोमसम्म समिट र तारा एयरलायन्सले दैनिक उडान गरिरहेकामा सोह्र श्राद्धको समयमा केही उडान थप गर्ने गरेको पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिए ।

मुक्तिनाथ जाने आन्तरिक तीर्थयात्रीभन्दा भारतीय तीर्थयात्रीले हवाई उडान बढी प्रयोग गर्ने गरेको जानकारी दिँदै उनले सोह्र श्राद्धको समयमा लगभग १० वटासम्म उडान हुने गरेको बताए । प्रशासकीय अधिकृत पौडेलका अनुसार यति एयरलाइन्सले पोखरा भैरहवा उडान गरेका कारण भैरहवा नाका हुँदै आउने भारतीय पर्यटकको संख्या बढ्दै गएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अघिल्लो वर्ष मुक्तिनाथको दर्शन गरेपछि भारतीय पर्यटकको संख्या बढ्न थालेको पर्यटन व्यवसायीहरू बताउँछन् । पोखरादेखि पर्वत, म्याग्दी हुँदै स्थलमार्गबाट पुग्ने बाटो पनि राम्रो भएका कारण स्थलमार्गबाट मुक्तिनाथ जानेको संख्या उत्तिकै बढेको छ । कतैकतै बाटो बिग्रने भत्कनेजस्ता समस्याले  स्थलमार्गबाट आवागमन कहिलेकाही असहज हुने भए पनि अधिकांश बाटो राम्रो भएकोले स्थलमार्ग नै तीर्थयात्रीको रोजाइमा पर्ने गरेको छ ।

सोह्र श्राद्ध सुरु भएसँगै दुई दिनदेखि तीर्थयात्रीको चहलपहल बढेको मुक्तिनाथको रानीपौवास्थित होटेल ग्राण्ड साम्बालाका सञ्चालक सुरज गुरुङले जानकारी दिए । ‘तीर्थयात्रीको संख्या बढेसँगै यहाँका होटेलमा व्यवसायीले लगानीसँगै सेवा सुविधा पनि बढाएका छन्,’ उनले भने, ‘दर्शन एवम् भ्रमणका लागि आउने पर्यटकका लागि खान बस्नको कुनै असुविधा रहँदैन ।’

रानीपौवामा दैनिक दुई हजारसम्म पर्यटकलाई राख्न सक्ने गरी होटेलको व्यवस्था गरिएको छ । सोह्र श्राद्ध गर्न जाने तीर्थयात्रीले कागबेनीमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गर्ने गरेको त्यहाँका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए । सोह्र श्राद्ध सुरु भएसँगै मन्दिरमा दर्शनार्थीको चाप बढेको उल्लेख गर्दै उनले यो क्रम आश्विन कृष्णपक्ष नसकिदासम्म जारी रहने बताए ।



तीर्थयात्रीको बढ्दो चापका कारण यतिखेर यहाँका होटेल व्यवसायीलाई भ्याइ–नभ्याइ भएकोे छ । पछिल्ला वर्षमा पोखरा, काठमाडौं र चितवनलगायत सहरका होटेल सहरमा पाइने सेवा सुविधा यहाँका होटेलले दिने गरेका छन् ।

जोमसोमदेखि २२ किलोमिटर पूर्वोत्तरमा रहेको मुक्तिनाथ मन्दिर समुद्री सतहबाट तीन हजार ७ सय मिटरको उचाइमा छ । त्यहाँ पुग्न पोखरा, काठमाडौं, सुनौली, बेनी र मालढुंगाबाट सवारीसाधन पाइन्छन् । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथलाई भगवान् विष्णुको पूण्यभूमि मानिन्छ । भगवान् विष्णुको शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको १०८ धारा बनेको किम्बदन्ती छ ।



त्यहाँका १०८ धारामा स्नान र मुक्तिनाथको दर्शन गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ । प्राचीनकालदेखि नै यहाँ रहेको मुक्तिनाथको मूर्तिलाई विसं १८७१ मा मन्दिर बनाइएको थियो । यही स्थलमा बौद्ध गुरु पद्मसम्भवले पनि तिब्बत जाने बेला तपस्या गरेको भन्दै यहाँ विभिन्न गुम्बासमेत बनाइएका कारण बौद्ध धर्मावलम्बीले पनि यस स्थललाई पवित्र तीर्थस्थलका रुपमा लिन्छन् ।

कागबेनीस्थित कालीगण्डकी नदीको तटमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गरेमा पितृ तर्ने विश्वासका कारण आश्विन कृष्णपक्षको अवधिमा यहाँ गरिने दर्शनलाई अत्यन्त महत्वका साथ हेर्ने गरिन्छ । 

  • प्रकाशित मिति : भदौ २९, २०७६ आइतबार १६:३१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया