logo-img

लुम्बिनीमा हुने अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचनमा २५ देश सहभागी हुने

रुपन्देही– बुद्ध जन्मस्थल लुम्बिनीमा यस वर्ष हुने अन्तरराष्ट्रियस्तरको त्रिपिटक वाचनमा २५ देशले सहभागिता जनाउने भएका छन् । त्रिपिटक च्यान्टिङ आयोजक समितिको मुख्य आयोजना तथा प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, लुम्बिनी विकास कोष र थाई बिहारको सहयोगमा दोस्रोपटक बुद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक वाचन कार्यक्रम हुन लागेको हो । 

कात्तिक २८ देखि ३० गतेसम्म मायादेवी मन्दिर परिसरमा हुने कार्यक्रममा नेपाल, भारत, श्रीलंका, म्यान्मा, थाइल्याण्ड, कोरिया, जापानलगायत देशका भिक्षु, गुरुआमा, लामा ,आनी तथा उपासक उपासिकाकोे सहभागिता रहने आयोजक समितिका सचिव हेमबहादुर विष्टले जानकारी दिए । 

आयोजक समितिका संयोजक भिक्षुमैत्री महास्थवीरका अनुसार तीनदिने कार्यक्रममा बुद्ध वचनको संग्रह त्रिपिटकअन्तर्गतका विनय पिटक, सुत्तपिटक र अभिधम्म पिटकको वाचन हुनेछ । पहिलो दिन नेपाली भिक्षुले सुत्तपिटकअन्तर्गतको दीर्घनिकायको बह्रमजालसुत्त वाचन गरेर त्रिपिटक वाचनको सुरुआत गर्नेछन् । दोस्रो दिन म्यान्माका भिक्षुले अभिधम्म पिटक वाचनको नेतृत्व गर्नेछन् भने तेस्रो दिन थाई भिक्षुले विनयपिटक वाचन कार्यक्रमको नेतृत्व गर्ने कार्यक्रम तय भएको छ ।

‘गत वर्षको कार्यक्रमले राम्रो सन्देश दिएर उत्साह थपेको छ, यो वर्ष पनि बौद्ध शिक्षा र त्रिपिटकको महत्वबारे सबैलाई सचेत गराउन कार्यक्रम महत्वपूर्ण हुनेछ’, सञ्चारकर्मीहरुसँगको कुराकानीमा भिक्षुमैत्रीले भने । त्रिपिटक वाचन कार्यक्रमले विश्वका बौद्धमार्गीको ध्यान तान्ने उनको विश्वास छ ।

त्रिपिटक वाचनअघि लुम्बिनीसहित बुद्ध सर्किट क्षेत्रमा शान्ति पदयात्रा गर्ने कार्यक्रम छ । पहिलो दिन कत्तिक २५ गते लुम्बिनीदेखि रामग्रामसम्म शान्ति पदयात्राको कार्यक्रम छ । दोस्रो दिन २६ गते लुम्बिनीदेखि तौलीहवासम्म पदयात्रा कार्यक्रम गरी साँझ लुम्बिनी फर्केर मायादेवी मन्दिरमा पूर्णिमा उत्सव मनाइनेछ । तेस्रो दिन अन्य बुद्ध सर्किट क्षेत्रमा पदयात्राको कार्यक्रम राखिएको भिक्षुमैत्रीले बताए । 

पदयात्रामा भिक्षु, गुरुआमा, बौद्ध उपासक उपासिकालगायत विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता रहनेछ । कार्यक्रम सम्पन्न गर्न रु एक करोडबराबरको खर्च लाग्ने अनुमान गरिएको छ ।  त्रिपिटक वाचन सम्पन्न गर्न यसअघि भिक्षुमैत्रीको संयोजकत्वमा अन्तरराष्ट्रिय त्रिपिटक वाचन समिति गठन गरिएको थियो । भिक्षुका अनुसार त्रिपिटक बौद्ध धर्मको प्रमुख ग्रन्थ हो । जसलाई सबै बौद्ध सम्प्रदायले मान्छन् । यो बौद्ध धर्मको पुरानो ग्रन्थ हो जसमा भगवान् बुद्धको उपदेश संग्रह छ । यो ग्रन्थ पालि भाषामा लेखिएको छ भने विभिन्न भाषामा अनुवाद भएको छ । 



यस ग्रन्थमा भगवान् बुद्धद्वारा बुद्धत्व प्राप्त गर्दाको समयबाट महापरीनिर्वाण हुुनुअघिसम्म दिएका प्रवचन संग्रह गरिएको छ । बोधगयामा बुद्धत्व प्राप्त गरेपछि ४५ वर्षसम्म भगवान् बुद्धले नेपाल, भारत, श्रीलंकासहित विश्वका विभिन्न मुलुकमा धर्मोपदेश गरेका थिए । गौतमबुद्धको महापरीनिर्वाणपछि विभिन्न संघमार्फत बुद्ध वचनलाई एक सूत्रमा संग्रह गरिएको थियो । यसलाई नै त्रिपिटक भनिन्छ । अभिधम्मपिटक, सुत्त पिटक तथा विनय पिटकको संग्रह नै ‘त्रिपिटक’ हो । 

त्रिपिटकअन्तर्गतका विनयपिटकलाई सुत्तपिटक र अभिधम्म पिटकलाई विभिन्न चरणमा विभाजन गरिएको छ । विनयपिटक अन्तर्गत सुत्तविभंग, खन्धक, परिवार, पातिमोक्ख छन् । सुत्तपिटकअन्तर्गत दीघनिकाय, मज्झिम निकाय, संयुक्तनिकाय, अंगुत्तर निकाय, खुद्दक निकाय र अभिधम्मपिटकअन्तर्गत धम्मसंगणी, विभंग, धातुकथा, पुग्गलपञ्ञती कथावत्थु, यमक र पट्ठान छन् । 
 



  • प्रकाशित मिति : कात्तिक २१, २०७६ बिहीबार १७:३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया