logo-img

प्रचण्डको आफूनिकट नेताहरुलाई बिफ्रिङ– ओलीलाई साइजमा ल्याइयो, हाम्रै जित भयो

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्लो समय देखिएको विवाद बढो नाटकीय रुपमा समापन भएको छ । यो विवाद यति सहजै समापन होला भन्नेमा सायदै कसैले अनुमान गरेको थियो । 

किनकि नेकपामा पछिल्लो समय विवाद छोटो समयको विवाद थिएन । नेकपाका दुई ‘पाइलट’ अर्थात् अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच यसअघि नै ‘पावर सेयरिङ’ विषयमा विवाद देखिइसकिएको थियो । अनि नेकपका वरिष्ठ नेता माधवकुमार नेपालले त अघि पहिले नै ओलीबाट तीतो वचनको सामाना गर्नु परेको थियो । यो प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलामा समस्या देखिएपछि सिंगापुर जानुभन्दा ठिक एक दिन अगाडिको बालुवाटारमा भएको बैठकको प्रसंग हो । त्यहाँ नेपालले उनलाई स्वास्थ्यलाभको कामना गर्र्दा ओलीले ‘तपाईंको कामना चाहिँदैन’ भन्ने जवाफ दिएका थिए ।

त्यसपछि बारम्बार माधवकुमार नेपालले भन्दै आएका थिए, ‘म अब बालुवाटार जान्नँ, त्यहाँ जानु भनेको आफैं अपमानित हुन जानु हो ।’

पावर सेयरिङमा र विभिन्न पदहरुमा आफूलाई बाइकट गरिरहेको महसुस गरेका प्रचण्ड र ओलीबाट ‘बहिस्कार’मा परिरहेका माधवकुमार नेपालको ‘मोर्चबन्दी’ त्यसैले सहज रुपमा नेकपामा विकसित हुँदै थियो । यो मोर्चाबन्दीमा पछिल्लो समय जोडिएका थिए, वामदेव गौतम पनि । नेकपा सचिवालयमा वामदेव गौतम पछिल्लो समय डिसाइडिङ फ्याक्टर बनेका छन् । 

त्यसैले पनि गत बुधबार भएको सचिवालय बैठकमा गौतमलाई आफूनिकट बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले तुरुप फालेका थिए– अबको प्रधानमन्त्री वामदेव गौतम । गौतम ओलीको यही वचनमा लोभिएकाले यता नेपाल–प्रचण्ड मोर्चाबन्दी कमजोर भयो भन्ने चर्चा अहिले राजनीतिक वृत्तमा कायम छ । 

त्यसैले गत शनिबार भएको सचिवालय बैठकमा ओलीको आत्मआलोचना पछि नेकपामा विवाद साम्य भएको मानिएको छ । त्यसो त यो सचिवालय बैठकभन्दा ठिक एक दिन अगाडि चिनियाँ राजदूतले होउ याङ्छीले गरेका राजनीतिक भेटघाटले पनि यो विवाद सुल्झाउन चिनियाँ भूमिका महत्वपूर्ण रहेको अनुमान छ ।



नेकपामा यो विवाद मिलेपछि एउटा प्रश्न जन्मिएको छ, आखिर यो विवादको अन्त्यमा जित कसको भएको हो त ?

‘सायद जीवनमा पहिलो पटक कार्यकारी पदमा रहँदा केपी ओलीले आत्मआलोचना गरेका छन्, सचिवालय बैठकमा माफी मागेका छन्,’ प्रचण्डनिकट एक नेताले फरकधारसँगको सम्पर्कमा भनेका छन्, ‘त्यसैले यो जित पक्कै पनि उनको होइन ।’ उनले यसो भनिरहँदा यसलाई प्रचण्डको जित भएको पनि दाबी गरेनन् । 



‘तर, प्रचण्ड कमरेडले आफूहरुको जित भएको बताउनु भएको छ,’ उनले भने, ‘उहाँहरुको बुझाइमा जे कुरा उहाँहरुको चाहनामा थियो, त्यो भएको र पार्टीलाई यसले फाइदा पुगेको भन्ने छ ।’

‘खासमा उहाँ अब ठिक ठाउँमा आउनु भएको छ, अब पार्टीका निर्णय मान्ने र सरकारका निर्णयहरुमा पार्टीलाई टेर्ने उहाँको कुरा आएको छ,’ ती नेताले प्रचण्डले सोमबार विहान आफूनिकट केही नेताहरुसँग भनेको कुरालाई उद्धृत गरे, ‘हामीले पनि पार्टी फुटाउन खोजेको होइन तर अब पार्टीमा यसरी चल्दै भन्ने कुरा राखेको हो, हामीले चाहेको पुगेको छ ।’

प्रचण्ड अहिले २५ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठकमा छलफलका लागि लैजाने प्रस्तावको तयारीमा लागेका छन् । यो प्रस्तावमा पनि उनले यही विषयमा विस्तृत चर्चा गर्ने उनीनिकट नेताहरुको दाबी छ ।
 

  • प्रकाशित मिति : वैशाख २३, २०७७ मंगलबार ३:०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया