logo-img

कोरोना उपचारमा प्रयोग हुने प्लाज्मा थेरापी के हो ?

गत वर्ष डिसेम्बरमा पहिलो पटक चीनको वुहानमा देखिएको कोरोनाभाइरस अब विश्वका अधिकांश देशमा फैलिइसकेको छ । विश्वका अधिकांश देशहरु यो महामारीका कारण ठूलो समस्यामा पनि फँसेका छन् । 

यो घातक भाइरसले विश्वभर लाखौँ मानिसको ज्यान लिइसकेको छ । विभिन्न देशको अर्थव्यवस्था खराब भइसकेको छ । 

विश्वभरका चिकित्सक, वैज्ञानिकहरुले यो भाइरसलाई रोक्न कोशिस गरिरहेका छन्, विभिन्न भ्याक्सिनको विकास भइरहेको छ । तर, अहिलेसम्म यसको ठोस नतिजा आइसकेको छैन ।

यहीबीच नेपालमा पनि प्लाज्मा थेरापी सुरु गरिएको छ । र, यसले यो भाइरसको प्रभाव कम होला कि भन्ने अनुमान पनि गरिएको छ ।

भारतको राजधानी दिल्लीमा, कर्नाटकमा र केरलामा प्लाज्मा थेरापी सुरु भइसकेको छ । बेलायत, अमेरिका र अरु देशमा पनि प्लाज्मा थेरापी सुरु गरिएको छ । 

चीन जहाँबाट यो भाइरस विश्वभर फैलिएको हो, त्यहाँ पनि प्लाज्मा थेरापी सुरु भइसकेको छ । चीनले त फ्रेबुअरीबाट नै प्लाज्मा थेरापी सुरु गरेको हो । यसमा आफूले सफलता पाएको पनि चीनले बताउँदै आएको छ ।



आखिर के हो त प्लाज्मा थेरापी ? 

आउनुहोस्, यसबारे प्रष्ट होऔँ ।



कन्भोलेसेन्ट प्लाज्मा थेरापी यो धारणामा आधारित छ कि कोही पनि व्यक्तिलाई कुनै भाइरस संक्रमण भएको छ र उसले भाइरस जित्न सकेको छ भने उसको शरीरमा भाइरससँग लड्ने एन्टीबडीको विकास भइसकेको हुन्छ । यसरी एन्टीबडी विकास हुँदा संक्रमण जितेको व्यक्तिको रगतमा त्यो प्रतिरोधात्मक क्षमता हुने मानिन्छ । 

यही एन्टीबडीको सहयोगमा कोभिड १९ का बिरामीलाई रगत दिँदा उसको शरीरमा भएको भाइरसलाई लडेर खत्तम गर्न सकिने विश्वास गरिन्छ ।

संक्रामक रोगहरुमा वर्षौअघिदेखि यो धारणा विकास गरिएको छ र यसरी प्लाज्मा दिएर संक्रमितलाई रोगबाट लड्न सहयोग गर्ने गरिएको छ । यसअघि सार्स, मार्स तथा एचवानएनवानजस्ता महामारीका लागि पनि प्लाज्मा थेरापी प्रयोग गरिएको थियो ।

यसको अर्थ हो, संक्रमणलाई जितिसकेको व्यक्तिको रगत अर्को संक्रमितलाई दिने र उसलाई भाइरसविरुद्ध लड्न सहयोग गर्ने ।

तर, बिर्सनु हुँदैन प्लाज्मा थेरापीले सबै बिरामीका लागि काम गर्छ भन्ने हुँदैन । यो केही हदसम्म भाइरसको उपचारका लागि सहयोग हुनसक्ने विधि चाहिँ हो ।

  • प्रकाशित मिति : भदौ ८, २०७७ साेमबार २२:४७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया