logo-img

स्वास्थ्य मन्त्रालयले सुरु गर्यो कोभिड–१९ लक्षित डेटा पोर्टल

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ लक्षित डेटा पोर्टल संचालनमा ल्याएको छ । संक्रमणको आधिकारिक विवरण प्रदान गर्न सञ्चालनमा रहेको पोर्टलमा रहेका तथ्यांकलाई सजिलै सर्वसाधारणको पहुँचमा लैजान यो पोर्टल संचालनमा ल्याइएको बताइएको छ ।


पहिलो चरणको बन्दाबन्दीसंगै सुरु भएको पोर्टल अहिले थप विवरण तथा तथ्यांकसहित अद्यावधिक गरिएको छ । अहिले मन्त्रालयले कोभिड–१९ सूचना तथा गतिविधिको सम्प्रेषण गर्न भाइबर ग्रुप, फेसबुक पेज, ट्वीटर ह्याण्डल, कोभिड–१९ प्रेस ब्रिफिङ, मोबाइल एप ‘हाम्रो स्वास्थ्य’, कोभिड–१९ पोर्टल लगायतका डिजिटल माध्यम अपनाइरहेको छ ।


नयाँ डेटा पोर्टलमा पुरानो पोर्टलमा रहेका कोभिड–१९ बारेका जानकारी, स्व–मूल्यांकन, आइइसी सामग्री, बारम्बार सोधिने प्रश्न, सूचना तथा समाचार र सिचुएसन रिपोर्ट यथाअवस्थामा छन् । यस अलावा नयाँ डेटा पोर्टलले प्रयोगकर्ता अनुकुल  संक्रमणसम्बन्धी विभिन्न तथ्यांकहरुलाई नक्शामा हेर्न सकिने सुविधा छ ।


संक्रमणको प्रादेशिक विवरण, जिल्लागत महिला तथा पुरुषको विवरण, उमेर समूह अनुरुपको विस्तृत विवरण, लिङ्गका आधारमा संक्रमणको अवस्था हेर्न सकिने बनाइएको छ । प्रयोगकर्ताले हालसम्मका संक्रमण अवस्था नक्सामा हेर्न सक्ने छन् । नयाँ पोर्टलमा प्रयोगकर्ताले पछिल्लो २४ घण्टाको संक्रमणको अवस्था हेर्न सक्नेछन् । 
नयाँ पोर्टलमा संक्रमणको अवस्था सिंगो नेपाल, प्रदेशगत, जिल्लागत आधारमा नक्सासँगै रहेको टेबुलमा समेत हेर्न सकिने छ । प्रदेशहरुको संक्रमणको अवस्था र एक अर्काको तुलना रेखाचित्रमा देखाइएको छ । यससँगै पोर्टलमा मन्त्रालयको आधिकारिक फेसबुक, ट्वीटर र अत्यावश्यक सेवा तथा जानकारी लिनुपर्दा आवश्यक हटलाइन नम्बर पनि राखिएको छ ।


मन्त्रालयले जारी गरेको मोबाइल एप हाम्रो स्वास्थ्य एन्ड्रोइड र आईओएसमा गरी दुई लाख पटक डाउनलोड भइसकेको बताइएको छ । कोभिड सूचना प्रदान गर्ने भाइबर ग्रुप एमओएचपी नेपाल कोभिड–१९ मा साढे चार लाखभन्दा बढी प्रयोगकर्ता सक्रिय छन् ।


आधिकारिक फेसबुक पेजमा साढे छ लाख फलोअर रहेका छन् । मन्त्रालयले आफ्नो डिजिटल उपस्थिति संक्रमणको जोखिम बढेसँगै थप प्रभावकारी बनाउँदै लगेको छ ।





  • प्रकाशित मिति : भदौ १०, २०७७ बुधबार १५:१७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया