कोरोना भ्याक्सिनः ९० प्रतिशत प्रभावकारी भनिएको भ्याक्सिनबारे जान्नै पर्ने केही कुरा

प्रारम्भिक अनुसन्धानले जनाएअनुसार पछिल्लो समय बनाइएको कोरोनाभाइरस भ्याक्सिनले ९० प्रतिशतभन्दा धेरै मानिसलाई कोभिड १९ लाग्नुबाट जोगाउन सक्छ भनिएको छ । 

यसलाई दुई औषधी बनाउने कम्पनी प्फिजर र बायोएनटेकले बनाएका हुन् । उनीहरुले यो भ्याक्सिनबारे बताउँदै विज्ञान र मानवताका लागि ठूलो दिन भनेका छन् ।

यो भ्याक्सिन अहिलेसम्म ४३ हजार ५ सय मानिसमा परीक्षण गरिएको छ । यसको कुनै साइड इफेक्ट नभएको बताइएको छ । 

यही महिनाको अन्त्यसम्म यो भ्याक्सिनलाई प्रयोगमा ल्याउन कम्पनी लागिपरेको छ ।

इतिहासलाई हेर्ने हो भने यति छोटो समयमा कुनै पनि भ्याक्सिनले यति ठूलो सफलता पाएको पाइँदैन । 

तर, यो भ्याक्सिनबारे थप नयाँ चुनौति नभएका होइनन् । तर, यो घोषणालाई अहिले विश्वभर सकारात्मक रुपमा लिइएको छ र वैज्ञानिकहरुले पनि यसलाई स्वागत गरेका छन् । यही भ्याक्सिनका कारण अब केही महिनामा विश्वमा जीवन फेरि सामान्य हुने अनुमान गरिएको छ ।



अक्सफोर्ड विश्वविद्यालयमा मेडिसिनका प्रोफेसर सर जोन बेलले भनेका छन्, ‘म यसबारे भन्ने पहिलो व्यक्ति हुँला तर यसबारे म कन्फिडेन्सका साथ भन्छु ।’

यो भ्याक्सिनले कोरोनाविरुद्ध काम गर्न दुई डोज लिनु पर्ने भनिएको छ । तीन साताको अन्तरमा लिनु पर्ने यो भ्याक्सिनको परीक्षण अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको हो । यी देशमा गरिएको परीक्षणमा दोस्रो डोज दिएको सात दिनमा नै मानिसमा कोरोना नसरेको भेटिएको थियो ।



तर, अहिले आएको डाटा नै अन्तिम डाटा होइन । अहिले त यो ९४ जनामा गरिएको भ्याक्सिनको परीक्षणको नतिजा हेरेर भनिएको हो । त्यसैले अन्तिममा यसमा फेरि केही परिवर्तन आउन सक्छ ।

प्फिजरका अध्यक्ष डा. अल्बर्ट बौर्लाले भनेका छन्, ‘हामीले अहिले विश्वमा भएको यो स्वास्थ्य संकटको अन्तिम चरणमा आइपुग्न लागेका छौँ ।’ त्यस्तै, बायोएनटेकका संस्थापकमध्येका एक प्रोफेसर उगुर साहिनले भनेका छन्, ‘यो एउटा कोसेढुंगा हो ।’

यो भ्याक्सिन प्रभावकारी भएको खण्डमा यही वर्षको अन्त्यसम्ममा केही मानिसहरुले यो भ्याक्सिन पाउने छन् । यसलाई नोभेम्बरको तेस्रो सातासम्म नियामक संस्थामा लैजाने योजना यी निर्माताले बनाएका छन् । 

भ्याक्सिनले अनुमति नपाएसम्म यो कुनै पनि देशमा मानिसमा सुरु गर्न पाइने छैन । यी दुई कम्पनीले यो वर्षको अन्त्यसम्म ५० लाख डोज बनाउन सक्ने र सन् २०२१ को अन्त्यसम्म १३ अर्ब डोज बनाउन सक्ने बताएका छन् ।

अहिले नै यो भ्याक्सिन सबैले पाउने छैनन् । यसअघि नै अर्डर गरिसकेका देशलाई प्राथमिकतामा राखेर भ्याक्सिन उपलब्ध गराइने भनिएको छ । अनि यसलाई सबैभन्दा पहिले अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीलाई दिइने भनिएको छ । 

५० वर्षभन्दा कम उमेरका र गम्भीर रोग नभएकाहरुले यो अन्तिम चरणमा मात्र पाउने बताइएको छ ।

तर, अझै पनि यो भ्याक्सिनको साइड इफेक्टबारे पूर्णरुपमा अध्ययन गरिइसकिएको छैन । अहिलेसम्म यो भ्याक्सिनले कोरोना संक्रमण नै हुन नदिने हो वा कुनै लक्षण नदेखाउने हो भन्ने पनि निश्चित भइसकेको छैन । 

अनि यो भ्याक्सिन लिएपछि यसले कति समयसम्मका लागि काम गर्छ भन्ने पनि अझै निश्चित भइसकेको छैन । 

सँगसँगै यसको एउटा पाटो के भने यो भ्याक्सिन माइनस ८० डिग्रि सेल्सियसभन्दा कम तापक्रममा राख्नु पर्ने बताइएको छ । त्यसैले यसलाई ठूलो संख्यामा कसरी पुर्याउने भन्ने अर्को चुनौति भएको छ ।

  • प्रकाशित मिति : कात्तिक २५, २०७७ मंगलबार ०:१६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया