देशभरि अहिले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान जारी छ । ‘लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ यो वर्ष मंसिर १० देखि २५ गतेसम्म यो अभियान जारी रहनेछ ।
यो अभियान प्रत्येक वर्ष यसैगरी विभिन्न संघ–संस्था तथा सम्बन्धित निकायको सहभागितामा मनाउँदै आइएको छ । यो अभियानको उद्देश्य लैंगिक हिंसा न्यूनीकरण गर्नु नै हो । जसका लागि १६ दिनसम्म महिला हिंसाबारे सबैले चर्चा मात्रै गर्दैनन्, रोकथामका लागि प्रतिबद्धता समेत जनाउने गर्छन् ।
तर, १६ दिने अभियानपश्चात फेरि महिला हिंसा वा लैंगिक हिंसाको वकालत गर्ने संघ–संस्थाहरु अन्य काममा लाग्छन्, एकातिर अभियानका कार्यक्रम चलिरहन्छन्, अर्कोतिर हिंसा पनि बढ्दै गइरेहको हुन् । १६ दिनपश्चात् मात्रै होइन, यो अभियान जारी रहँदा पनि लैंगिक हिंसा हुने गरेको पाइएको छ । केही उदाहरण हेरौँ ।
उदाहरण–१
मंसिर १० गतेदेखि देशभरि लैंगिक हिंसा अभियान जारी छ । तर, ठयाक्कै २० दिन अगाडि रौतहटमा अमृता साहको हत्या भयो । जसको खुलासा करिब २० दिन पछाडि प्रहरीले गरेको पत्रकार सम्मेलनबाट भयो । अर्थात्, कात्तिक २६ गते आफ्नै छोरीको हत्यामा संलग्न रहेको अभियोगमा बाबुआमासहित सातजना पक्राउ परे अनि त्यो घटनाको पर्दाफास भयो ।
उदाहरण–२
यसैगरी आजभन्दा करिब एक महिनाअघि राजधानीमै एउटी युवती बलात्कृत भइन् । रत्नपार्कबाट भक्तपुर लगेर केही युवाले उनलाई सामूहिक बलात्कार गरे । यो घटना ०७७ असोज १७ गते शनिबार रत्नपार्कबाट भक्तपुर जाने बसमा भएको थियो । जसको सिकार १७ वर्षीया किशोरी भएकी थिइन् ।
यी दुई घटना त उदारहण मात्रै हुन् ।
पछिल्लो समय बलात्कारका घटना दिनहुँजसो सार्वजनिक भइरहेका छन् । आर्थिक वर्ष ०७३÷७४ यताको पाँच वर्षमा देशभर बलात्कारका ७,७०२ वटा घटना भएको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ । यो आँकडाअनुसार, सरदर दैनिक चार महिला बलात्कृत हुने गरेका छन् ।
नेपाल प्रहरीसँग भएको पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा बलात्कार मात्रै नभएर महिला हिंसा नै बढ्दो क्रममा रहेको देखिन्छ । तथ्यांकअनुसार घरेलु हिंसापछि बलात्कार र जबरजस्ती करणी उद्योगमा महिला बढी पीडित भएको देखिन्छ ।
मानिसहरुमा नैतिक मूल्य र सामाजिक मान्यता खस्किँदै गएका कारण अपराधको पारो चढिरहेको प्रहरीका पूर्वसुरक्षाविदहरु बताउँछन् । पूर्वडिआइजी हेमन्त मल्ल यस्ता घटनाले समाजको चित्रण गरिरहेको बताउँछन् । ‘जुन एकदम भयानक विषय हो,’ उनले भने । यसतर्फ सबैको सकारात्मक पहलको आवश्यकता रहेको उनको तर्क छ ।
समाजमा महिला हिंसामा पनि घरेलु हिंसाका घटनाको संख्या उच्च देखिन्छ । आर्थिक वर्ष ०७३÷७४ देखि ०७७÷७८ सम्ममा ७,७०२ बलात्कार र २,९३१ जबरजस्ती करणी उद्योग बलात्कार प्रयासका घटना भएका छन् भने घरेलु हिंसाबाट ५३ हजार ६२२ महिला पीडित भएका छन् ।
यसरी घटना बढ्नुमा एक त समाजमा अपराधकै दर बढेको र त्यससँगै प्रहरीमा उजुरी दिने प्रचलन बढ्नुले पनि संख्या थपिएको प्रहरी अधिकारी तर्क गर्छन् । नेपाल प्रहरीका प्रवक्ता वसन्त बहादुर कुँवर भन्छन्, ‘अपराधको सूचना प्रहरीमा आउने क्रम बढेसँगै समुदायमा कानुनको पहुँच बढेको छ ।’
आर्थिक वर्ष ०७३–७४ देखि ०७७–७८ सम्म घरेलु हिंसाका घटनामा सरदर दैनिक २९ जना महिला न्यायका लागि प्रहरीकहाँ पुगेको देखिन्छ ।
घरेलु हिंसा कसुर तथा सजाय ऐनले शारीरिक, मानसिक, यौनजन्य र आर्थिक यातनालाई घरेलु हिंसाको रूपमा परिभाषित गरेको छ ।
महिला हिंसाका घटना बढ्नुमा त्यस्ता सामग्रीमाथिको सहज पहुँच कारक रहेको ठहर गर्दै सरकारले पोर्न साइट प्रयोगमा नियन्त्रण गरेको छ । प्रहरी प्रवक्ता कुँवर भन्छन्, ‘इन्टरनेटको माध्यमबाट अपराधका नयाँ–नयाँ काइदा भित्रिएको छ ।’
दण्डहीनताका कारण अपराधलाई सामान्य रूपमा स्वीकार्न समाज अभ्यस्त बन्दै गएको टिप्पणी गर्छन्, अधिवक्ता कमलमोहन पोखरेल । भन्छन्, ‘अपराधीले सफाइ पाएका एक–दुई उदाहरणले पनि आपराधिक मनोवृत्तिलाई मलजल गरिरहेको हुन्छ, हामीकहाँ त्यही भइरहेको छ ।’ हिंसा र अराजकता हाकाहाकी भइरहेको देखेको पुस्ता समाजको मूलधारमा रहेका कारण अराजकतासँगै महिलाविरुद्धका हिंसा बढिरहेको उनको भनाइ छ ।
यता, नेपाल प्रहरीका प्रवक्ता भने अपराध बढेको देखिनु दुःखद भए पनि कानुन कार्यान्वयन पनि भइरहेको बताउँछन् ।
सडकमा रहेका मानसिक रूपमा अस्वस्थ महिला रात या साँझको समयमा बलात्कृत हुने गरेको मानव सेवा आश्रमको अनुमान छ । कतिपय त घर–परिवारभित्रै यौन उत्पीडनको सिकार भएको समेत पाइएको वीरगन्ज मानव सेवा आश्रमले जनाएको छ ।
मानव सेवा आश्रमका देवेशका अनुसार, मानसिक रूपमा अस्वस्थ महिला घर–परिवारभित्रै बलात्कृत भई त्यागिएर सडकमा आएपछि पुनस्र्थापनाको सम्भावना कम रहन्छ । उनी भन्छन्, ‘हामीले अत्यन्तै दयनीय अवस्थाबाट उद्धार गरेका महिलामध्ये कतिपय पुरुष देख्नासाथ तर्सिने गर्छन् । यसबाट उनीहरू बलात्कारको सिकार भएको बुझ्न सकिन्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।