logo-img

कोरोना निको भएको थाहा पाउन एन्टिबडी परीक्षण

अहिले नेपालमा कोरोना संक्रमणदर घटिरहेको छ, तर कोरोनाको जोखिम भने टरिसकेको छैन । विज्ञहरु जाडोमा कोरोनाको दोस्रो लहर आउन सक्ने बताइरहेका छन् । हामीलाई कुनै पनि लक्षणबिना कोरोना संक्रमण भई निको पनि भइसकेको हुनसक्छ, लक्षणविहीन हुँदा आफू संक्रमित नभएको भ्रममा पनि हुनसक्छौँ ।

कोरोना भए / नभएको थाहा पाउन पिसिआर परीक्षण भइरहेको छ । पिसिआर परीक्षणले शरीरमा कोरोना भाइरस सक्रिय भएको अवस्थामा मात्र संक्रमण भए / नभएको पत्ता लाग्छ तर पहिला नै संक्रमण भइसकेको तथ्य भने पत्ता लाग्दैन । यसका लागि एन्टिबडी परीक्षण गर्नुपर्ने हुन्छ ।

एन्टिबडी परीक्षणमा रगतको नमुना संकलन गरी जाँच गरिन्छ र यसबाट पहिला नै कोरोना संक्रमण भई निको भइसकेको छ भने पनि पत्ता लाग्छ । नेपालमा पनि कोरोना संक्रमणको वास्तविक अवस्था पत्ता लगाउन एन्टिबडी परीक्षण सेरो प्रिभिलेन्स सर्भे भइसकेको छ, केही दिनमा नै यसको नतिजा सार्वजनिक गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.वासुदेव पाण्डेका अनुसार कोरोना संक्रमणको अवस्था पत्ता लगाउन पहिलो चरणमा सेरो प्रिभिलेन्स सर्भे भइसकेको छ।

सेरो प्रिभिलेन्समा विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त किटको प्रयोग भएको थियो । नेपालमा किट सजिलै उपलब्ध नहुने भएकाले तत्काल एन्टिबडी परीक्षण गर्न सकिने अवस्था नरहेको पाण्डेले बताए । किटहरुको उत्पादन प्रकियामै छ महिना लाग्ने भएकाले सहज तरिकाले किट उपलब्ध भएपछि मात्र नेपालमा एन्टिबडी परीक्षणको थालनी गर्न सकिने डा. पाण्डेको भनाइ छ । 

रगतको नमुना संकलन गरी कोरोनाको एन्टीबडी परीक्षणमार्फत आफूलाई कोरोना लागेर ठिक भइसकेको वा कोरोना संक्रमण नै नभएको पत्ता लगाउन सर्वसाधारण नागरिकले अझै केही समय कुर्नैपर्ने पाण्डेले बताए ।





  • प्रकाशित मिति : मंसिर २५, २०७७ बिहीबार १७:९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया