अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाउन जुटेका तीन सांसद पछि हटे

काठमाडौं : बागमती प्रदेशमा नेकपा दाहाल-नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन जुटेकामध्ये तीनजना सांसद अन्तिम समयमा पछि हटेका छन्। मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेकपाका तीनजना सांसदले समर्थन फिर्ता लिएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ७ ‘ख’बाट निर्वाचित प्रकाश श्रेष्ठ, काठमाडौं क्षेत्र नम्बर १० ‘ख’की रमा आलेमगर र चितवन क्षेत्र नम्बर ३ ‘क’का सांसद कृष्ण भुर्तेलले अविश्‍वासको प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता लिएका हुन्।

नेकपा दाहाल-नेपाल समूहले गतसाता मुख्यमन्त्री पौडेलविरुद्ध ४५ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गराएको थियो। उक्त अविश्वास प्रस्तावमा शाक्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरिएको थियो। गत मंगलबार भएको विरोध प्रदर्शनका क्रममा दाहाल-नेपाल समूहले शाक्यलाई बागमती प्रदेशको भावी मुख्यमन्त्री भनेको थियो।

१ सय १० सदस्यीय बागमती प्रदेशसभामा नेकपाका ८० जना सांसद छन्। तिनमा दाहाल-नेपाल पक्षका ४५ जनाले पौडेलविरुद्ध हस्ताक्षर गरेका थिए। तर अब त्यो संख्या ४२ मा झरेको छ। ओली पक्षमा सभामुख सानुकमार श्रेष्ठसहित ३८ जना छन्। अन्य सांसद अझै खुलिसकेका छैनन्। 

अविश्वास प्रस्तावबाट मुख्यमन्त्रीलाई हटाउन त्यहाँ ५६ जना सांसदको हस्ताक्षर चाहिन्छ। दाहाल-नेपाल समूहले मात्रै अविश्वास प्रस्ताव पारित गर्न सक्ने अवस्था छैन। यो पारित हुन प्रमुख प्रतिपक्षी कांग्रेस निर्णायक छ। यदि कांग्रेसले पक्षमा उभिने निर्णय नलिए दाहाल-नेपालको प्रयास असफल हुनेछ।





  • प्रकाशित मिति : पुस १९, २०७७ आइतबार १४:१८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया