नेकपा फुटेपछि केपी ओलीलाई भ्याइनभ्याइ
बैठकमा पुगेर दिनदिनै घण्टौँ भाषण गर्छन्

काठमाडौं : प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि संसदमा  करिब दुईतिहाइ बहुमत रहेको सत्तारुढ दल नेकपा विभाजन भएको छ। नेकपा विभाजनपछि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीको सक्रियता अस्वभाविक ढंगले बढेको छ।  पछिल्ला दिनमा ओली लगातार आफ्नो समूहको भेला, प्रशिक्षण र छलफलमा सहभागी भएका छन्। 

पार्टीका विभिन्‍न कमिटी जनवर्गीय संगठनका भेलामा प्रमुख वक्ताका रुपमा ओली सहभागी भइरहेका छन्। ती सबै कार्यक्रममा ओलीले १ घण्टाभन्दा बढी भाषण गर्ने गरेका छन्। 

सम्बोधनका क्रममा ओलीले अधिकांश समय पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षका नेताहरूमाथि कटाक्ष गर्दै आएका छन्। ओलीले पार्टी नफुटेको र केही नेताहरु पार्टीको बैठकमा नआएको मात्रै भएको बताइरहेका छन्। 
पार्टी विभाजन हुनुभन्दा पहिले प्रधानमन्त्री निवास बालुवाटारबाट खासै बाहिर ननिस्कने ओली अहिले उपत्यकाका विभिन्न ठाउँमा भएका पार्टीका कार्यक्रममा पुगेर घण्टौँ बिताउने गरेका छन्। 

पार्टी विभाजन अघि ओली पार्टीका बैठकमा जान मान्दैनथे। निकै दबाबपछि बस्नै परे पार्टीका बैठक पनि बालुवाटारमै राख्दै आएका थिए। आफ्नै पार्टी मुख्यालय धुमबाराहीमा जान पनि सुरक्षा खतरा रहेको अभिव्यक्ति प्रधानमन्त्रीले दिएका दिए। 
पार्टी विभाजनअघि

प्रधानमन्त्री ओलीले सुरक्षा खतरा रहेको भनेपछि गत मंसिर २१ गते पार्टी कार्यालय धुमबाराहीमा राखिएको स्थायी समितिको बैठकमा कडा सुरक्षा व्यवस्था गरिएको थियो। ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। रेक्कीका लागि कुकुरको व्यवस्था गरिएको थियो। 

बम डिस्पोजल टोली खटाइएको थियो। एम्बुलेन्स तयारी अवस्थामा राखिएको थियो। पार्टी कार्यालय वरपरका घरमा समेत सुरक्षाकर्मी तैनाथ थिए। यति धेरै सुरक्षा व्यवस्था गरिए पनि प्रधानमन्त्री ओली बैठकमा उपस्थित भएनन्। 



मंसिर २८ गतेको स्थायी समिति बैठक केन्द्रीय सदस्य कमानसिंह लामाको मृत्युप्रति शोक प्रस्ताव पारित गरी अन्त्य गर्ने सहमति भएपछि ओली उपस्थित भए। एकैछिनका लागि बसेको बैठक ओलीकै बालुवाटारमै बस्यो। 

त्यसपछि पुस १ गते प्रधानमन्त्री निवास बालुवाटारमै स्थायी समिति बैठक बसेको थियो। अघिल्लो दिन मात्रै सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेपछि त्यसले नेकपाभित्र थप विवाद चुलिएको थियो। 



पुस १ मा सुरुमा ओली बैठकमा उपस्थित नहुने मुडमा थिए।  त्यही दिन पार्टीकै सांसदहरु संसदको विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालय पुगेको जानकारी पाएपछि अर्का अध्यक्ष प्रचण्डसँग छलफल गरी बैठकमा सहभागी भएका थिए। 

बैठकमा ओलीले अध्यादेश फिर्ता गर्ने र अर्काे पक्षले संसद अधिवेशन मागको निवेदन फिर्ता गर्ने सहमति भएको थियो। अर्काे बैठक पुस ५ गतेका लागि तोकिएको थियो।  पुस ५ गतेको बैठक पनि पार्टी कार्यालयमा नभइ बालुवाटारमै बोलाइएको थियो। 

त्यसैदिन पार्टी बैठक बस्नुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको निर्णय गरेपछि नेकपा विवाद फुटतर्फ उन्मुख भयो। यसका बाबजुद पनि ओली पक्ष बाहेकका स्थायी समिति सदस्यहरुको बैठक बालुवाटारमै बसेको थियो। त्यसपछि  निरन्तर दुवै समूहका बैठक बस्न सुरु भए। 

पार्टी विभाजन भएपछि ओली निकै उत्साहका साथ बैठक, भेलामा सहभागी भइरहेका छन्। अहिले उनको मूल काम नै पार्टीका बैठक भेलामा गएर अर्काे पक्षका नेताहरूमाथि कटाक्ष गर्ने मात्रै रहेको जस्तो देखिन थालेको छ।

विभाजनपछि सक्रियता

पार्टी पार्टीको बैठक राख्न र बैठकमा उपस्थित हुन नमान्ने ओलीले पार्टी दुई कित्तामा विभाजित भएपछि निरन्तर आफ्नो समूहको बैठक राखिरहेका छन्। 

सरकारको काम गर्नुपर्ने बेला अनावश्यक रुपमा पार्टी बैठकमा बोलाएर अल्मल्याएको ओलीले भन्ने गरेका थिए। पार्टी विभाजनपछि ओली हरेक दिनजसो आफ्नो समूहका कार्यक्रम पुगेर घण्टौँ बस्ने गरेका छन्। 

ओलीको व्यस्तता 

पुस ६ गते (बालुवाटार)

पुस ६ गते बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ओली समूहले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक राखेको थियो। त्यसको अध्यक्षता ओलीले गरेका थिए। 

पुस ७ गते(बालुवाटार)

पुस ६ गते बालुवाटारमा बसेको ओली पक्षका केन्द्रीय सदस्यको बैठक बोलाएर ओलीले केन्द्रीय समितिमा देशभरबाट आफू पक्षका ५५६ जनालाई थपेको घोषणा गरेका थिए। 
त्यसरी थपिएका केन्द्रीय सदस्यहरुलाई सपथ खुवाउने र प्रशिक्षण पुस ७ गते राखिएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित त्यस कार्यक्रमको नेतृत्व ओली नै गरेका थिए। 

पुस ९ गते (बालुवाटार) 

ओली पक्षले विस्तार गरेको केन्द्रीय समितिको बैठक बालुवाटारमा राखिएको थियो। बैठकको अध्यक्षता ओलीले नै गरेका थिए। 

पुस १० गते मन्त्रिपरिषद्मा नयाँ मन्त्री थप्नका लागि ओली नेताहरुसँग र भेटघाटमा व्यस्त भएका थिए। मन्त्री थप गरी साँझपख मन्त्रीहरुलाई शपथ खुवाइयो। 

पुस १५ (कार्की पार्टी प्यालेस)

पुस १५ गते नेकपा (ओली)समूहले सुदूरपश्चिम प्रदेशका नेता कार्यकर्ता भेला आयोजना गरेको थियो। बबरमलस्थित कार्की पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रमका मुख्य वक्ता ओली नै थिए। 

पुस १७ (भर्चुअल कार्यक्रम)

अङ्ग्रेजी नयाँ वर्ष २०२१ को अवसरमा प्रवास रहेका नेकपाका ओली निकट कार्यकर्ताहरूले भर्चुअल कार्यक्रम आयोजना गरेका थिए। यस कार्यक्रमको मुख्य वक्ता ओली नै थिए। यस कार्यक्रममा प्रधानमन्त्री ओलीले करिब १ घण्टा सम्बोधन गरेका थिए। 

पुस १८ गते (प्रज्ञा भवन)
काठमाडौं कमलादी स्थिति प्रज्ञा भवनमा पुस १८ गते ओली समूहका काठमाडौं जिल्लाका नेता-कार्यकर्ताको भेला थियो। यसका कार्यक्रममा प्रमुख अतिथि र मुख्य वक्ता ओली थिए। 

पुस १९ गते (कार्की पार्टी प्यालेस)

१९ गते बबरमलस्थित कार्की ब्ल्याङ्केटमा ओली नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुको ओली समूहको भेला आयोजना गरिएको थियो। यस कार्यक्रमको मुख्य अतिथि र वक्ता ओली नै थिए।

  • प्रकाशित मिति : पुस २०, २०७७ साेमबार १५:१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया