logo-img

टोखा दम्पती मृत्यु प्रकरण : सगुन एप्सका लागि दिएको १० करोड माग्दा हत्या भएको परिवारको आशंका

काठमाडौंको टोखामा एक दम्पती शुक्रबार राति मृत अवस्थामा फेला परेका छन् । अमेरिका उड्न लागेका श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेपछि घटना शंकास्पद बनेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा श्रीमानकाे हत्या गरी श्रीमतीले आत्महत्या गरेकी देखिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार श्रीमती सुदीक्षा गिरीले श्रीमान् उमेश केसीको हत्या गरी झुण्डिएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घटनास्थलमा प्रहरी पुग्दा श्रीमान् केसी मृत अवस्थामा ओच्छ्यानमा थिए भने श्रीमती भर्याङनिर झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । 

घटनास्थलको अवस्थालाई केलाउँदा श्रीमतीले श्रीमान्लाई मारेको हुन सक्ने आकलन गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । 

६ दिनपछिका लागि अमेरिकाको टिकट काटेका थिए उमेशले 

प्रहरी स्रोतका अनुसार उमेश दसैँ मनाउनका लागि तीन महिनाको छुट्टीमा अमेरिकाबाट नेपाल फर्किएका थिए । त्यसयता उनीहरु ग्राण्डी अस्पताल नजिकको एक हाउजिङमा बस्दै आएका थिए । मृतकका सहोदर दाइ हिमेश केसीका अनुसार उमेशले आगामी १४ तारिखका लागि अमेरिकाको टिकटसमेत काटिसकेका थिए ।  

बिहानको करिब ३ बजे अचानक हिमेशलाई क्यानडाबाट माइजूको फोन आयो । माइजूबाटै उनले थाहा पाए, भाइ उमेश र बुहारी अस्पतालमा छन् । उनी हतार–हतार अस्पताल गए । अस्पताल पुगेपछि उनलाई थाहा भयो, भाइको हत्या राति नभएर अघिल्लो दिन बिहानै भएको हो ।
  
‘सगुन एप्स’मा उमेशको १० करोड लगानी



फरकधारसँग कुरा गर्दै मृतका दाइ हिमेशले भने– बुहारीको दिदीसँग मेरो कुरा हुँदा उनले बिहान ८ बजे नै मृत्यु भएको, तर आफूहरुले राति साढे ८ बजे मात्रै प्रहरीलाई खबर गरेको बताइन् । जसले यो घटनालाई थप शंकास्पद बनाएको उनी बताउँछन् । सो घटना अरु काहीँबाट घटाइएको हुन सक्ने मृतकका दाइ हिमेशको आरोप छ । 
   
उनी भन्छन्–‘भाइको बिहे भएको पाँच वर्ष भएको छ, दुवैको बीचमा सम्बन्ध पनि राम्रै थियो । तर, भाइले मलाई भनेअनुसार उसले बुहारीको आफन्तलाई करिब १० करोड रुपैयाँ दिएको थियो । जुन पैसा माग्दा श्रीमतीसँग विवाद पनि भइरहन्थ्यो ।’ तर अब जानेबित्तिकै लिने भनेर भाइले अस्तिको भेटमा आफूलाई सुनाएको हिमेश बताउँछन् ।  

उनका अनुसार ‘सगुन एप्स’मा लगानीका रुपमा भाइले पैसा दिएको पनि करिब ४ वर्ष भइसकेको थियो । उनले भने, ‘भाइले त्यो पैसा पनि मागिरहन्थ्यो, सायद त्यही कारणले पनि हत्या गरिएको हुन सक्छ ।’ यसको अलावा अहिलेसम्म अरु कुनै कारण नदेखिएको दाइ हिमेश बताउँछन् । 
 
‘भाइको मृत्यु बुहारीबाट नभएर अन्यबाट भएको पनि हुन सक्ने मृतकका परिवारको आशंका छ । किनकि भाइ मरेको खबर हामीलाई बाहिरबाट आयो, उनले भने, ‘त्यसकारण यो घटना अझ रहस्यमय बनेको छ । त्यसैले हरेक कोणबाट अनुसन्धान गर्न आफूहरुले प्रहरीलाई आग्रह गरेको दाइ हिमेशले बताए । 



शव उठाउँदा समेत प्रहरी तथा बुहारीका आफन्तहरुले आफूहरुलाई खबर नगरी उठाएको उनको गुनासो छ । 

यता, महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमिश विष्टले भने– कोठाभित्रबाट लक थियो, बाहिरबाट कोही गएर हत्या गरेको पनि देखिँदैन । श्रीमान्को हत्यापछि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

यद्यपि, विस्तृत विवरण भने पोस्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरीले जनाएको छ । पोस्टमार्टम गर्न शवलाई त्रिवि शिक्षण अस्पताल पठाइएको उनले जानकारी दिए ।

  • प्रकाशित मिति : पुस २५, २०७७ शनिबार १९:४६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया