बागमती प्रदेश हिउँदे अधिवेशन
कड्किइन् अष्टलक्ष्मी, शान्त डोरमणि
कांग्रेस भन्छ– प्रदेशमा एक हुनुस्

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ६ महिनापछि सुरु भएको छ । प्रदेशसभाको अधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा प्रचण्ड–नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले ओली सरकारको चर्को विरोध गरेकी छिन् भने प्रदेश सरकारको नेतृत्व गरिरहेका ओली पक्षका डोरमणि पौडेल नरम रुपमा प्रस्तुत भएका छन् । 

वर्तमान राजनीतिक विषयमा प्रवेश नगरेका मुख्यमन्त्री पौडेलले हिउँदे अधिवेशनको शुभकामना व्यक्त गर्दा प्रदेश सरकारले सबै राम्रो काम गरिरहेको व्याख्या गर्न भने भ्याएका थिए ।

सरकार विकास र समृद्धिको अभियानमा हिँड्दै गर्दा केही बाधा आइपरेको दाबी गर्दै उनले संसद विघटन सही या गलत के हो भन्नेबारे सर्वोच्च अदालतले निर्णय गर्ने भएकाले त्यसमा अल्झिन आवश्यक नरहेको बताए ।  

प्रदेश सरकारले ऐन कानुनको अभावलगायत चुनौतीका बाबजुद छोटो अवधिमा धेरै काम गरेको दाबी गर्दै आफूलाई सुरुदेखि नै काम गर्न अप्ठ्यारोमा पारेको गुनासो गरे । उनले भने, ‘सरकार ढलाउने खेल सुरुदेखि नै भए पनि संविधानका कारण रोकिएको हो, पहिले बागमती प्रदेश सरकारमा एकै स्वरमा बोल्नेहरु पनि अहिले फरक ढंगले प्रस्तुत भएका छन् ।’ 

शाक्य भन्छिन् : अब फेरि जनतामाझ कसरी मुख देखाउने ? 

प्रदेशसभा सदस्य तथा प्रचण्ड–नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनकारी भएको आरोप लगाउँदै रोष प्रकट गरेकी छिन् । उनले कानुनी रुपमा नेकपा नफुटे पनि अलग भइसकेको बताएकी छिन् । शाक्यले भनिन्, ‘नेकपा मात्रै नभई मुलुककै लागि ओलीको कदम दुर्भाग्यपूर्ण हो ।’  शाक्यले प्रधानमन्त्री ओली नेकपाको पूर्वअध्यक्ष भएको दाबी गर्दै आफू पनि बागमती प्रदेश नेकपा संसदीय दलको नेता भएको दाबी गरिन् । 



उनको प्रश्न थियो, ‘५ वर्ष सरकार चलाऊ भनेर जनताले हामीलाई जिताएको हो । अब फेरि जनतामाझ कसरी मुख देखाउने ?’ केपी ओलीको प्रतिगमनकारी सरकारले अब विकास र समृद्धि गर्नै नसक्ने उनले बताइन् ।  

सत्ताका लागि आतुर छैनौँ, मिल्नुस् : कांग्रेस 



बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले कांग्रेस सरकारमा जान आतुर नभएको भन्दै नेकपा आपसमा मिल्नुपर्ने बताएका छन् । उनले नेकपा एक हुँदा पनि धेरै कुरामा तिक्तता रहेको भन्दै अहिले पनि प्रदेशमा मिलेर जानुपर्ने बताएका हुन् । जनताले कांग्रेसलाई प्रतिपक्षको भूमिका दिएको भन्दै उनले ५ वर्षसम्म कांग्रेस प्रतिपक्षमा बस्न तयार भएको बताए । 

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बनाउने खेल सुुरु गरेको बताउँदै  नेकपाले जनताको मतलाई अपमान गरेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्वका लागि नेकपा अझै पनि फुट्न नहुने दोहोर्याउँदै उनले अस्थिरता हुँदा  लोकतन्त्र र संघीय व्यवस्थाप्रति वितृष्णा पैदा गराउने काम  हुने बताए ।  

यसो भन्छन् साना दल

नेमकिपाका सांसद सुरेन्द्रराज गोसाईंले प्रदेश सरकार हराएको छैन है भनेर बल्ल चर्चा सुरु भएको बताए ।  हिउँदे अधिवेशनको शुभकामना व्यक्त गर्ने क्रममा उनले नेकपा विभाजन गरेर कठपुतली सरकार गठन गर्न नै यो गन्जागोलको अवस्था सिर्जना गरिएको दाबी गरे । 
 
यस्तै, हिउँदे अधिवेशनलाई शुभकामना व्यक्त गर्दै विवेकशील साझाका बागमती प्रदेशका संसदीय दलका नेता रमेश पौड्यालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अहिले देखिएको विवाद सत्ताका लागि मात्रै भएको बताए ।  दुवै नेकपा पक्षको लडाइँ जनताको हितका लागिभन्दा पनि सत्ताका लागि भएको उनको भनाइ थियो । उनले ३ वर्षको अवधिमा संघीय र प्रदेश सरकारमा भएका विकृतिविरुद्ध नलडी अहिले आएर विरोध गरेको भन्दै नेकपा प्रचण्ड–नेपाल पक्षको नैतिकतामा प्रश्न गरे । 

यस्तै, राप्रपाका सांसदहरु रिता माझी र रिना गुरुङले संघीयता असफल भइसकेको दाबी गरे । सांसद्वयले अब निर्वाचनमा जाँदा व्यवस्था परिवर्तन गर्ने ऐजेण्डा लिएर जानुपर्ने बताएका थिए । 

बागमती प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । ६ महिनापछि सुुरु भएको सातौँ अधिवेशन पहिलो बैठक बसेर स्थगित भएको हो । सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका थिए । 

  • प्रकाशित मिति : माघ ७, २०७७ बुधबार १८:५१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया