स्वास्थ्य बिमा कार्यक्रम
५ वर्षमा सुदूरपश्चिममा तीन लाखभन्दा बढीले गरे बिमा

सुदूरपश्चिम प्रदेशमा ३ लाखभन्दा बढी नागरिक स्वास्थ्य बिमाको पहुँचमा पुगेका छन् । प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको झण्डै पाँच वर्ष पुग्नै लाग्दा प्रदेशमा ३ लाख २८ हजार ६०२ नागरिकले स्वास्थ्य बिमा गराएका हुन् ।

सुदूरपश्चिम प्रदेशको कैलालीमा २०७२ चैत २५ गतेदेखि बिमा कार्यक्रमको नामावली सुरु गरिएको थियो । कैलालीबाट नै पहिलो पटक स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको हो । २०७३ साल जेठ १ गतेदेखि स्वास्थ्य संस्थाबाट बिमितलाई सेवा प्रदान गरिएको थियो ।

कैलालीबाट सुरु भएको बिमा कार्यक्रम अहिले सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लामा लागू गरिएको छ । २०७६ साल फागुन २२ गते डडेल्धुरा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत नामावली दर्ता प्रक्रिया सुरु भएसँगै प्रदेशका नौवटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम विस्तार भएको थियो ।

सबैभन्दा पहिला बिमा कार्यक्रम सुरु भएको कैलाली जिल्ला यो तीन वर्षको अवधिमा स्वास्थ्य बिमा गराउनेमा दोस्रो नम्बरमा रहेको छ । २०६८ सालको जनगणनाअनुसार कैलालीमा ७ लाख ७५ हजार ७०९ जनसंख्या रहेको छ । हालसम्म कैलालीमा १ लाख ६९ हजार ५४० जना स्वास्थ्य बिमामा आबद्ध रहेका छन् ।

राष्ट्रिय स्वास्थ्य बिमा बोर्ड, सुदूरपश्चिम प्रदेश कार्यालयले दिएको तथ्यांक अनुसार माघ महिनासम्म सबैभन्दा बढी बाजुरामा नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको एक वर्षपछि २०७४ साल चैत २५ गते बाजुरामा पनि बिमा कार्यक्रम शुभारम्भ गरिएको थियो । २०६८ सालको जनगणनाअनुसार बाजुरामा १ लाख ३४ हजार ९१२ जनसंख्या रहेको छ । हालसम्म बाजुरामा २९ हजार ५३० जना स्वास्थ्य बिमामा आबद्ध भएका छन् ।



त्यस्तै २ लाख ११ हजार ७४६ जनसंख्या रहेको डोटीमा सबैभन्दा कम  (२ हजार ४७७ जना) स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् ।

स्वास्थ्य बिमा गर्नेमा बैतडीमा १७ हजार १२० जना पुगेका छन् । भने, अछाममा ३८ हजार १३०, बझाङमा ३४ हजार ७२५, कञ्चनपुरमा २४ हजार ३०, दार्चुलामा ८ हजार १७० र डडेल्धुरामा ४ हजार ८८० जना नागरिक पुगेका छन् ।



पछिल्लो समय स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका नागरिकले नवीकरण गराउने दर पनि बढ्दै गएको छ । सुरुमा स्वास्थ्य बिमा कार्यक्रमप्रति आकर्षण बढे पनि विस्तारै स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका बिमितहरूमध्ये नवीकरण गराउने दर कम रहेको थियो ।

२०७४ साल चैत २५ गते सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमितहरूमध्ये नवीकरण गर्नेहरूको दर २२ प्रतिशत रहेको थियो । अहिले भने यो दर ९२ प्रतिशत पुगेको छ ।

सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमामा आबद्ध भएकाहरूमध्ये हालसम्म ३९ हजार ३०१ जनाले सेवा प्रदायक संस्थाबाट स्वास्थ्य सेवा लिएका छन् ।

सेवा प्रदायक संस्थाबाट स्वास्थ्य सेवा लिनेहरूमा कैलालीमा ३० हजार ५१५ बिमित रहेका छन् ।

त्यस्तै अछाममा १ हजार ६५९, बैतडीमा १ हजार ८४६, बझाङमा २ हजार १९८, बाजुरामा २ हजार ३५४, दार्चुलामा १५१ र कञ्चनपुरमा ५७८ जनाले स्वास्थ्य प्रदायक संस्थाबाट स्वास्थ्य सेवा लिएका छन् ।

बिमा बोर्डका प्रदेश संयोजक जनक साउदले सुदूरपश्चिम प्रदेशमा अझै पनि स्वास्थ्य बिमा कार्यक्रम अपेक्षा गरिएअनुसार प्रभावकारी नहुनुमा जनचेतनाको अभाव, पर्याप्त स्रोत साधनको अभाव, स्थानीय तहसँग समन्वय नहुनु, स्वास्थ्य प्रदायक संस्थाले प्रदान गर्ने सेवामा कमजोरी लगायत रहेको बताए ।

उनले भने, ‘स्वास्थ्य संस्थाका जनशक्तिलाई अभिमुखीकरण, क्षमता अभिवृद्धि गर्नुका साथै बिमामैत्री सेवाका लागि जिम्मेवार बनाउन आवश्यक रहेको छ ।’

बिमा बोर्डका प्रदेश संयोजक जनक साउदले बिमा बोर्डमा बिमितहरूले आवश्यक औषधी नपाउने, चिकित्सकको राम्रोसँग राय सुझाव नपाउने लगायतका गुनासो आइरहने गरेको उनले बताए । स्थानीय तहले पनि बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन जनस्तरबाटै जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने उनले सुझाव दिए ।

बिमा कार्यक्रम हरेक गरिब, विपन्न वर्गलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन लागू गरिएको थियो । बिमा बोर्ड प्रदेश संयोजक साउदले सेवा प्रदायक संस्थाको सेवामा सुधार नहुनु, दर्ता सहयोगीले बिमाबारे बुझाउन नसक्नु लगायतका कारण बिमा कार्यक्रममा सबै आबद्ध हुन नसकेको बताए ।

प्रदेशका ३१ वटा विभिन्न स्वास्थ्य संस्थाले बिमितलाई सेवा दिइरहेको प्रदेश संयोजक साउदले बताए । ‘राज्यले स्वास्थ्य बिमा बापत विपन्न परिवारका लागि छुट्टै प्याकेज दिने प्रयास गरेको छ । यो सामाजिक न्यायमा आधारित कार्यक्रम हो ।’ 

‘संविधानले पनि व्यवस्था गरेको छ । आधारभूत स्वास्थ्य सेवा निःशुल्क छ’, बार्डका सुदूरपश्चिम संयोजक साउदले भने । 

स्वास्थ्य बिमासम्बन्धी ऐन, २०७४ अनुसार पाँच जनासम्मको परिवारका लागि वार्षिक ३ हजार ५ सय रुपैयाँ तिरेपछि स्वास्थ्य बिमा परिचयपत्र दिइन्छ ।

पाँचभन्दा बढी सदस्य भएमा प्रत्येक व्यक्तिका लागि थप ७ सय रुपैयाँ तिर्नुपर्छ । अति विपन्न, अशक्त, अपांग, कुष्ठरोगी, एचआईभी संक्रमित, जटिल खालका क्षयरोग लागेका बिरामी र ७० वर्ष नाघेका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बिमा हुने प्रावधान छ । कार्यक्रमअन्तर्गत प्रतिपरिवार १ लाख रुपैयाँ बराबरको उपचार सुविधाको प्रत्याभूति गरिएको छ ।

  • प्रकाशित मिति : फागुन ८, २०७७ शनिबार १४:२४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया