सर्वोच्चले देशलाई ठूलो दुर्घटनाबाट जोगायो : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा‍. रामवरण यादवले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेर देशलाई ठूलो दुर्घटनाबाट जोगाएको बताएका छन् । 

स्वर्गीय महेन्द्र नारायण निधिको ९९औँ जन्मजयन्ती समारोहमा प्रमुख अतिथिका रुपमा बोल्दै पूर्वराष्ट्रपति डा. यादवले अदालतले संविधानअनुसारको निर्णय सुनाएको बताउँदै यो ठूलो नजिर बनेको दाबी गरे ।

अदालतको यस फैसलाबाट लोकतन्त्र र संघीयतामाथि विश्वास गर्ने सम्पूर्ण नेपाली जनताको जित भएको उनले बताए । उनले भने, ‘संविधानमाथि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहार गरेर देशमा ठूलै राजनीतिक वितण्डा मचाएका थिए । तर, सम्मानित सर्वोच्च अदालतले वहाँहरुको यस कदमलाई गलत ठहर गर्दै जनतालाई ठूलो उपलब्धि प्रदान गरेको छ ।’

डा. यादवले राजनीतिक दलहरु विधि विधानअनुरुप चल्न नसकेकाले लोकतन्त्रमाथि पटक–पटक प्रहार हुँदै आइरहेको समेत बताए । राजनीतिक पार्टीहरु आफ्नो विधानअनुरुप नचलेकै कारण नेपालमा लोकतन्त्रमाथि आघात पुगिरहेको उनको भनाइ थियो ।
  
उनले नेपाली कांग्रेसलगायत देशका अन्य कुनै पनि राजनीतिक दलसँग वर्तमान समयमा आर्थिक अनुशासन नरहेको समेत आरोप लगाए । पूर्वराष्ट्रपति डा. यादवले सम्पूर्ण राजनीतिक दलहरुलाई लोकतन्त्र मजबुत बनाउन विधि विधानअनुसार अघि बढ्न आग्रह गरे । उनले राजनीतिक दल विधि विधानअनुसार चलेन भने लोकतन्त्रको जग कमजोर हुँदै जाने दाबी समेत गरे । 

कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायवादी कदमपश्चात् मुलुक फेरि ३ वर्षपछि धकेलिएको आरोप लगाए । उनले प्रधानमन्त्रीले मुलुकलाई ३ वर्ष पछि धकेलेकाले नेपाली जनताले यसको क्षतिपूर्ति गराएरै छाड्ने बताए ।

उनले स्वर्गीय निधिको राजनीतिक जीवन सम्पूर्ण राजनीतिज्ञका लागि अनुकरणीय रहेको बताए । उनले भने, ‘यो परिवर्तनशील संसारमा स्वर्गीय निधिले एउटै विचारलाई अँगालेर जीवनपर्यन्त अघि बढिरहेकोले उनी नेपाली राजनीतिको शिखर पुरुष बन्न सफल भए ।’
 
०५१ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा विघटन गर्दा विकल्पको रुपमा महेन्द्रनारायण निधिलाई किन खोजिएन भन्दै सोनलले यो यक्ष प्रश्न अझै रहेको बताए । 



निधिले जनताको अधिकार, समानताका लागि जसरी संघर्ष गरिरहे त्यो पक्कै पनि हाम्रो लागि उदाहरणीय रहेको बताउँदै मन्त्री सोनलले उनको सपना अझै पूरा हुन नसक्नु दुःखद रहेको बताए । 

को हुन् महेन्द्रनारायण निधि ?



महात्मा गान्धीको विचार र क्रान्तिबाट प्रभावित भएका निधि नेपाली कांग्रेसका संस्थापक नेता थिए । ००३ सालदेखि नेपाल राष्ट्रिय कांग्रेसबाट राजनीतिको शुभारम्भ गरेका निधिलाई ००७ सालको क्रान्तिका बेला पार्टीले जनकपुर, महोत्तरी र सर्लाही क्षेत्रको ‘जनसरकारको प्रधानमन्त्री’ पदमा नियुक्त गरेको थियो । 

राणाकालमा स्थानीय युवकलाई संगठित गर्न उनले किर्तन मण्डली सञ्चालन गरेर गाउँ–गाउँमा रामलीला तथा भजनकीर्तनका माध्यमले स्थानीय युवकलाई राणा शासनविरुद्धको क्रान्तिमा ओरालेका थिए । ००८ देखि ०१० सालसम्म तत्कालीन महोत्तरी जिल्लाको कांग्रेस सभापति बनेका थिए । ०१० देखि ०१५ सालसम्म पार्टीको संसदीय सचिवको रूपमा काम गरेका निधि ०१५ सालको आमनिर्वाचनमा तत्कालीन महोत्तरी जिल्लाको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा पहिलोपटक निर्वाचित भई उपसभामुख बनेका थिए ।  

०१७ सालमा राजा महेन्द्रबाट प्रजातन्त्रमाथि प्रतिबन्ध लगाइएपछि प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गिरफ्तार भएका निधिले करिब १० वर्ष जेल जीवन बिताएका थिए । ०१८, ०२६ र ०२९ सालमा उनी जेल परेका थिए । अहिंसाका पक्षधर निधिले सुवर्णशमशेर र विश्वेश्वरप्रसाद कोइरालाले गरेको ०१८ र ०३१ सालको सशस्त्र संघर्षको खुलेरै विरोध गरेका थिए । 

०४६ सालको जनआन्दोलनमा पनि उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । प्रजातन्त्रको पुनर्स्थापनापछि ०४७ वैशाख ६ गते बनेको अन्तरिम सरकारमा उनी मन्त्री बनेका थिए । ११ सदस्यीय अन्तरिम सरकारमा कांग्रेसको तर्फबाट निधिले जलस्रोत र स्थानीय विकास मन्त्रालय सम्हालेका थिए । 

०५१ सालमा उनी नेपाली कांग्रेसको केन्द्रीय महामन्त्री बने । कांग्रेसभित्र नेताले चुनाव नलड्ने सहमति भएअनुसार ०५१ सालको मध्यावधि निर्वाचनदेखि चुनावी राजनीतिबाट अलग्गिएका निधिले समाजसेवा गर्ने उद्देश्यले बृहत्तर जनकपुर क्षेत्र परिषद्को अध्यक्ष बनेर काम गरेका थिए । ७६ वर्षको उमेरमा ०५६ वैशाख २१ गते हृदयाघातका कारण उनको निधन भएको थियो ।

  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार १८:४२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया