logo-img

साँच्चै ओली र विप्लवको मिलन सम्भव छ?
खुसी देखिएनन्, कार्यकर्ता अन्योलमा

दुई वर्षअघि लगाएको प्रतिबन्धका कारण भूमिगत रहेका नेत्र विक्रम चन्द विप्लव शुक्रबार सार्वजनिक भएका छन् । नेपाल कम्युनिस्ट पार्टीको नामको पार्टी गठन गरी सशस्त्र क्रान्तिमार्फत नयाँ व्यवस्था ल्याउने उद्घोष विप्लवले गरेका थिए ।

एकीकृत जनक्रान्तिको नारा अघि सार्दै गतिविधि सञ्चालन गर्दै आएको उनको पार्टी अन्तत्वगत्वा शान्तिपूर्ण राजनीतिमै आउन तयार भएको छ । सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएका सहमति बिहीबार नै सार्वजनिक भइसकेको थियो ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले संयुक्त सभा आयोजना गरी सहमतिको औपचारिक घोषणा गरे ।  संसद् विघटन गर्ने आफ्नो कदमपछि पार्टी विभाजन हुँदा कमजोर बनेका प्रधानमन्त्री ओली पछिल्लो समय पूर्व माओवादीलाई आफ्नो पक्षमा तान्न निकै प्रयत्नशील देखिन्छन् । 

यसै शिलशिलामा उनले आफैँले दुई वर्ष अगाडि प्रतिबन्ध लगाएको विप्लवको पार्टीसँग वार्ता गरी प्रतिबन्ध फुकुवा गरेका हुन् । 

विप्लव ओलीसँग मिल्न लागेका हुन् ?

संसद् विघटनको केही दिनपछि नै ओलीले विप्लव नेकपासँग वार्ता गर्ने कुराको अनौपचारिक रुपमा खुलासा गरिसकेका थिए । घटनाक्रम हेर्दा पनि केही महिनादेखि नै छलफल गरी सहमतिमा पुगेपछि मात्रै वार्ता टोली गठन गरी सहमतिलाई औपचारिकता दिएको देखिन्छ । 



विप्लव ओली समूहमा लाग्ने र उनले ओलीको पार्टीमा महासचिव पद पाउने भन्ने हल्लाहरू चलिरहेका थिए र छन् । शुक्रबार संयुक्त सभा गर्दा त्यो किसिमका अड्कलबाजी पनि भएका थिए । संयुक्त सभामा प्रधानमन्त्री ओली र विप्लवको अभिव्यक्तिमा त्यो किसिमको खासै छनक देखिएन । 

१० वर्षे सशस्त्र क्रान्तिमा सर्वाेच्च कमाण्डर मानेका प्रचण्डले क्रान्तिलाई धोका दिएर मोहन वैद्यलाई पार्टी अलग बनाउन विप्लवले नै उकासेका थिए । पछि वैद्यको नेतृत्वमा पनि जनवादी क्रान्ति हुन नसक्ने भन्दै आफ्नै नेतृत्वमा अलग पार्टी बनाएका थिए ।



अहिले प्रचण्ड र पूर्व एमालेकै ठूलो खेमाले प्रतिगमनकारी भन्दै आरोप लगाइरहेका ओलीसँग कसरी मिल्न पुगे भन्ने प्रश्न धेरैमा देखिन्छ । शान्तिपूर्ण राजनीतिक बाटोमा आउने सहमति भएका विप्लव  शुक्रबारको सभामा खुलेनन् ।

सरकारसँग गरेको सहमतिमा अडिग रहने प्रतिबद्धता उनले व्यक्त गरे । अहिलेको राजनीतिक व्यवस्था ठिक नभएको धारणा राख्दै उनले नयाँ व्यवस्थाका लागि जनतालाई निर्णय गर्नु दिनुपर्ने बताए ।  

अबको राजनीतिक लाइन के हुन्छ भन्ने कुरामा विप्लव मौन बसे । आफूहरूसँग सहमति गरेकोमा सरकार र प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका उनले अन्तै कुरा मोडेर आफ्नो भनाइ टुङ्ग्याए । 

उनले जनताको अपेक्षामा, जनताका पूरा नभएका सपना प्राप्त गर्ने बाटोबाट विचलित नहुने प्रतिवद्धता गर्दै कुटनीतिक बैठान गरे । ओलीले सभामा बोल्ने क्रममा बुढीगण्डकी र त्रिशूली नदी मिसिएको उदाहरण दिँदै अहिले अलग जस्तो देखिए पनि तल पुग्दा एउटै हुने भन्दै कुनै समय मिल्न सक्ने संकेत दिए ।

विप्लवको दल शान्तिपूर्ण राजनीतिमा आउनु नै सबैभन्दा ठूलो उपलब्धी भएको तर्क ओलीले गरे । ओलीले सरकारका उपलब्धी सुनाउँदा विप्लवको मुख अँधेरो
शुक्रबारको सभामा सुरुमा ओली निकै नरम रुपमा प्रस्तुत भएका थिए । हरेक सभामा प्रचण्ड–माधव नेपाललाई कडा शब्दमा गाली गर्ने उनले ठीक आजभन्दा ४१ वर्ष अगाडि सुखानीमा तत्कालीन पञ्चायती सरकारले झापा विद्रोहका अगुवाहरूलाई जेल सार्ने नाममा गरेको हत्याको स्मरण गरे । 

विप्लव समूह र सरकारबीच भएको सहमतिको उपलब्धि बारे बोले । अन्तिमतिर ओली आफ्नो पुरानै शैलीमा प्रस्तुत भए । प्रचण्ड–माधव समूहलाई कटाक्ष गर्न सुरु गर्दै उनले सरकारले धेरै काम गरेको भन्दै उपलब्धिको फेहरिस्त सुनाउन थाले । 

प्रधानमन्त्रीले सरकारका उपलब्धी सुनाउँदै गर्दा बेलाबेलामा प्रधानमन्त्रीतिर हेर्दै गरेका विप्लवको अनुहारमा असन्तुष्टि र त्यो प्रति साह्रै अरुचि रहेको जस्तो देखिन्थ्यो ।

मञ्चमा रहँदा अधिकांश समय उनको मुहारमा खुसी उत्साह देखिँदैनथ्यो । वार्ता टोलीका संयोजक रहेका खड्गबहादुर विश्वकर्माको अनुहारमा खुसी देखिन्थ्यो । 

कार्यक्रमस्थल आउनुअघि ओलीलाई भेट्न बालुवाटार पुगेका विप्लवको ओलीनजिकै बसेर हाँसिरहेको फोटो सार्वजनिक भएको थियो । 

कार्यकर्ता अन्योलमा, ओलीलाई भने हरामी 

थोरै सिट क्षमता भएको राष्ट्रियसभा गृह कार्यक्रम आयोजना गरिएको थियो । गत साल सिके राउतसँग सहमति गरेर संयुक्त सभा गर्दा पनि सोही ठाउँमा गरिएको प्रसंग जोड्दै कार्यक्रम सञ्चालक रहेका प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले सानै ठाउँ भए पनि सकरात्मक इतिहास बोलेको ठाउँ भएकाले यसै ठाउँ रोजेको बताएका थिए । 

कार्यक्रमस्थलमा नअट्ने भएपछि सभा हलमा पत्रकारहरूलाई समेत लाइनमा राखेर परिचयपत्र हेरेर मात्रै भित्र पठाइएको थियो । तर, सभा हलमा विप्लव नेकपाका नेता कार्यकर्ताहरूको भने राम्रो उपस्थिति देखिन्थ्यो । 

हल बाहिर पनि राम्रै उपस्थिति थियो विप्लव नेकपाका नेता, कार्यकर्ताहरूको । विप्लव मञ्चमा आउँदा ‘क्रान्ति नायक विप्लव लाल सलाम !’ भन्दै कार्यकर्ताहरूले नारा लगाएका थिए । विप्लव बोल्न मञ्चमा आउँदा र उनले बोल्दा बीचबीचमा चर्काे तालीको आवाज सुनिन्थ्यो ।  

अब विप्लव नेतृत्वको पार्टी कसरी अगाडि बढ्ला ? भन्ने विषयमा कार्यकर्ताहरूमा अन्योल देखिन्थ्यो । आफूलाई खेलकुद क्षेत्रको बताउने सभा हलमा रहेका विप्लवका एक कार्यकर्ताले ओली सरकारसँग वार्ता गरेर सहमति गरे पनि ओलीसँग पार्टी एकता त के राजनीतिक सहकार्यसमेत नहुनेमा ढुक्क रहेको बताए ।

विप्लव नेकपाले अब के गर्नुपर्छ कुन बाटो अपनाउनुपर्छ भन्नेमा उनी अनभिज्ञ थिए ? ‘खै अब के गर्लान् ? विस्तारै आउला नी लाइन्’ उनले भने । ‘हैन अब त यी ओली ढल्ने बेला भएन् भन्या ? ती कार्यकर्ताले प्रश्न गरे, ‘यिनको फूर्तिफार्ती धेरै भइसक्यो ।’ 

विप्लवनिकट शिक्षक संगठनमा आवद्ध रहेका एक कार्यकर्ताले पनि ओलीको पार्टीमा विप्लव समाहित हुने भन्ने कुरा हुनै नसक्ने बताए । ‘त्यो त सम्भव नै छैन’, उनले भने । सुरुमा कसैलाई गाली नगरी आजको सम्बोधन टुंग्याउने संकेत देखाएका ओलीले प्रचण्ड–माधव समूहलाई गाली गर्न थालेपछि ती शिक्षकले भने, ‘तैट ! हरामी मान्छे अरुलाई गाली नगरी त खाएकै नपच्ने ? यहाँ त कसैलाई गाली नगरेको भए हुने नी ।’

ओलीको भाषणमा ताली बजेन हाँसो मात्रै  

ओलीले हरेक ठाउँमा भाषण गर्दा हुटिङ, ताली र हाँसो धेरै सुनिन्छ । नेकपा दुई समूहमा बाँडिएपछि यो क्रम धेरै देखिन्छ । 

शुक्रबारको सभामा ओली प्रवेश गर्दा, बोल्दा, हुटिङ गर्ने ताली बजाउनेहरू खासै देखिएनन् । तर ओलीले सम्बोधन गर्दा पटक–पटक हँसाए । उनले अंग्रेजी बोल्ने व्यक्तिले नेपालीमा कविता सुनाएको भन्दै क्यारिकेचर गर्दा सबैभन्दा धेरै हलमा हाँसो गुन्जिएको थियो । 

विप्लवको खुला हुने र सरकारको जस लिने रणनीति

समग्रमा हेर्दा खुला राजनीतिमा प्रवेश गरी गतिविधि गर्ने, क्षण भएको शक्ति आर्जन गर्ने रणनीति विप्लव नेकपाको देखियो । पछिल्ला दिनमा विप्लव नेकपासहित साना चार कम्युनिस्ट घटकले मोर्चाबन्दी गरी संगठन सभा तथा कार्यक्रम गर्दै आएका छन् ।

प्रतिबन्ध हट्दा र नेता कार्यकर्ता छुट्दा विप्लव समूहलाई त्यो मोर्चाको गतिविधिमा पनि खुला रुपमा लाग्न सहज हुने देखिन्छ । प्रधानमन्त्री ओलीलाई भने पृथकतावादी नारा लगाइरहेको सिके राउत समूहसँगै हिंसात्मक गतिविधिमा रहेको विप्लव समूहलाई पनि मूलधारको राजनीतिमा ल्याएको श्रेय लिन खोजेको देखियो ।

ओलीले सभामा सम्बोधन कै क्रममा अब नेपालमा कुनै राजनीतिक शक्ति सशस्त्र संघर्षमा नरहेको भन्दै आफ्नो कार्यकालको ठूलो उपलब्धिका रुपमा लिएका थिए । 

प्रचण्डसँगै असन्तुष्ट भई फरक बाटोमा लागेका विप्लवलाई प्रचण्ड अलग भएपछि सहमतिमा ल्याउनुमा ओली समूहले अर्काे फाइदा पनि देखेको छ ।  

प्रचण्डकै कारण विप्लवलाई सहमतिमा ल्याउन सकिएको थिएन । उनले ओलीलाई छाड्नेबित्तिकै कुरा मिल्यो भन्ने सन्देश प्रवाह गर्न खोजिरहेको छ ओली समूहले। 

  • प्रकाशित मिति : फागुन २१, २०७७ शुक्रबार २२:२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया