क्षतिपूर्ति

उहिल्यै, 
निधारमा कुल्चिएर 
तिमीले भाग्यको दस्तावेज कोर्दा नै 
विद्रोहको आगो ओकालेका हुन् पुर्खाहरुले 
तब न 
मेरै पुर्खाहरुको करङ भाँचेर 
उठाएका हौ आलिशान दरबार 
मेरै कोक्पाहरुको छाला काढेर 
ओढेका हौ ठिहीमा 
तिम्रा ती रङ्गीन चारै भित्ताहरु 
मेरै कोकुहरुको रगतले पोतिएको हो । 

सायद तिमीले भुल्यौ होला 
त्यो दरबारको मूलढोकामा 
कोक्पाको शीर चढाएको 
कोकुहरुको वदनमा निस्फिक्री औँलाहरु नचाएको 
दोजिया कोकुहरुको पेट चिरेर
कलिला नानीहरु ओखलमा पिसेको 
बिर्सियौ होला नाक कानको तौल, मोल मोलाइ
बिर्सियौ होला 
बलिहाङ, उलिहाङ, काङ्सोरे
रिन्जेन, राम्लिहाङ र रिदामाहरु 
सायद सबै सबै भुलेको हुनुपर्छ 
यी त बानी परेको हो 
र त आज पनि उसैगरी 
चढाउन खोज्छौ तिम्रो मन्दिरमा कुनै कुमारीको टाउको 
ओछ्याउन खोज्छौ कलिलो युवतीको जवानी ।

खबरदार !
यो समय म ब्युँझेको समय हो 
ओखलमा किच्याइएका कलिला नानीहरुको 
अदृश्य अनुहार र चित्कार 
दोजिया कोकुहरुको प्रतिकारको आगो 
कोक्पाहरको विद्रोहको भुङ्ग्रो
मेरो छातीमा भर्भराएपछि
यतिखेर म 
इतिहासको क्षतिपूर्ति लिन
ठीक तिम्रो सामुन्ने उभिएको छ । 

म उहीँ मतुवाली नामसिन्या 
यतिखेर 
तिम्रो ज्यादतीले बेजोड मातेको छु 
जुनसुकै बेला छप्काउन सक्छु खुकुरी 
जुनसुकै बेला निमोठ्न सक्छु घाँटी
जुनसुकै बेला भाँच्न सक्छु हातपाउ
जुनसकै बेला तिम्रो करङ सल्काएर 
जलाउनेछु एउटा निर्मम इतिहास
र तिम्रै रगतले लेख्नेछु 
अलिखित इतिहासको अर्को अध्याय 

खबरदार !
यतिखेर म मात्र होइन 
मासिन्या, अछुत र अपवित्र छाउपडीहरु 
लामो समयदेखि छातीमा भर्भराएको आगो बोकेर 
तिम्रो मूल ढोकामा उभिएका छन् । 

(क्षतिपूर्ति शीर्षकको यो कविता सामाजिक अभियन्ता तथा कवि प्रेमिला राईले बालाजु–बाइपास सडक विस्तारविरुद्ध सोमबार भएको विरोधसभामा वाचन गरेकी थिइन् ।)
 





  • प्रकाशित मिति : फागुन २४, २०७७ साेमबार १९:१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया