logo-img

महिला टेबल टेनिस टिम इभेन्ट्समा भक्तपुर नगरपालिका वडा नं ५ च्याम्पियन

राजधानीमा जारी भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिता अन्तर्गत महिला टिम इभेन्ट्समा भक्तपुर नगरपालिका वडा नं ५ च्याम्पियन भएको छ ।

लैनचौरस्थित टेबलटेनिस हलमा भएको फाइनलमा भक्तपुर नगरपालिका वडा नं ५ ले सोही नगरपालिका वडा नं २ लाई ३–२ को सेटमा पराजित गर्दै च्याम्पियन भएको हो ।

पहिलो खेलमा भक्तपुर ५ की  दिया देउलाले भक्तपुर २ की मञ्जु सुवाललाई ३–० को सेटमा हराउँदा दोस्रो खेलमा २ की  क्यारिना सुवालले ५ की नर्मदा खैटुलाई ३–२ को सेटमा पराजित गरेकी थिइन् ।

तेस्रो खेल अन्तर्गत महिला डबल तर्फको खेलमा भक्तपुर ५ का दिया र नर्मदाको जोडीलाई भक्तपुर २ का मञ्जु र प्रदिपा सुवालको जोडीले १–३ को सेटमा पराजित गर्दै अग्रता निकालेका थिए । तर, चौथो खेलमा पुनः दिया देउलाले क्यारिना सुवाललाई ३–० को सेटमा पराजित गर्दा सेट बराबरीमा आएको थियो ।

अन्तिम तथा निर्णायक खेलमा भक्तपुर नगरपालिका ५ की  नर्मदाले भक्तपुर नगरपालिका २ की मञ्जु सुवाललाई ३–१ को सेटमा पराजित गर्दा नगरपालिका वाड नं ५ टिम च्याम्पियन भएको हो ।

प्रतियोगितामा मंगलबारै पुरुष टिम इभेन्ट्समा पहिलो क्वार्टरफाइनल खेल सम्पन्न भएका छन् । ललितपुर महानगरपालिका वडा नं १९ ले सोही नगरपालिकाको वडा नं ८ लाई ३–२ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाउँदा  दोस्रो क्वार्टरफाइनल खेलमा धरान उपमहानगरपालिका ९ ले ललितपुर महानगर पालिका वडा नं ७ लाई ३–१ को सेटमा हराएर सेमिफाइनलमा स्थान बनायो ।



त्यस्तै तेस्रो क्वार्टर फाइनल खेलमा धरान उपमहानगरपालिका वडा नं १३ ले भक्तपुर नगरपालिका ५ लाई ३–२ को सेटमा हराउँदा अन्तिम क्वार्टर फाइनल खेलमा विराटनगर महानगरपालिका वडा नं ३ ले ललितपुर महानगरपालिका १२ लाई पनि ३–१ को सेटमा हराउँदै अन्तिम चारमा प्रवेश गर्‍यो ।  प्रतियोगिता अन्तर्गत मंगलबार नै पुरुष एकल र महिला एकलमा पहिलो चरण र भेट्रान्स ४० वर्ष माथि तथा ५० वर्ष माथिको प्रतिस्पर्धा सम्पन्न भए ।

प्रतियोगितामा पुरुषमा २६ टिमका ४ सय ३३ खेलाडीको सहभागिता छ । महिलामा ८ टिमका ९० खेलाडी सहभागी छन् । पुरुष-महिला सिंगल्स र टिम तथा भेट्रान ४० वर्षमाथि र ४५ वर्षमाथि गरी ६ स्पर्धामा हुँदै छ । प्रतियोगिता ७ गते सम्म चल्नेछ ।



  • प्रकाशित मिति : चैत ३, २०७७ मंगलबार १९:४९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया