केपी ओली गलत छन्, उनका अगाडि आत्मसमर्पण गरेको छैन : वामदेव गौतम

काठमाडौं : नेकपा (एमाले) का उपाध्यक्ष एवम् पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफूले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अगाडि आत्मसमर्पण नगरेको बताएका छन्।

शनिबार बसेको एमाले संसदीय दलको बैठकमा वामदेव सहभागी भएका थिए। उनी शुक्रबार मात्रै माधव नेपाल पक्षको अखिल नेपाल किसान महासंघको कार्यक्रममा पनि उपस्थित भएका थिए। 

आफूलाई एकीकरण पक्षधर बताइरहेका उनी प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैतिर 'स्पेस' खोजिरहेका छन्। यही क्रममा उनी शनिबार संसदीय दलको बैठकमा भाग लिन बालुवाटार छिरे तर केन्द्रीय कमिटीको बैठकमा बसेनन्। 

गौतमले गत फागुन २८ गतेको बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकलाई मान्यता दिन पनि अस्वीकार गरेका छन्। त्यसलाई उनले केन्द्रीय कमिटी बैठक नै नभएको भन्दै त्यस दिनका सबै निर्णय ओलीले फिर्ता लिनैपर्ने पनि अडान लिएका छन्। 

आफ्नो सचिवालयका एकजना सदस्य विश्‍वमणि सुवेदीमार्फत शनिबार साँझ आफ्ना धारणा सार्वजनिक गर्दै गौतमले आफूलाई अझै पनि ओलीविरुद्धमै उभ्याएका हुन्। 

गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीमार्फत उनले शनिबार बालुवाटारबाट बाहिरिएपछि आफ्नो पछिल्लो धारणा सार्वजनिक गरेका हुन्। गौतमले फागुन २८ सँगै शनिबार बसेको केन्द्रीय कमिटीले गरेको कारवाहीबारे प्रश्न उठाएका छन्। 



उनले एमालेका सबै ने अनुपस्थितिमा गरिएको कारवाहीप्रति आपत्ति जनाएका छन्। बैठकमा उपस्थित नै नभएका नेताहरूमाथि स्पष्टीकरण या कारवाही दुवै गर्न नमिल्ने बताएका हुन्। 

उनले आफू पार्टी एकताको अभियानमा रहेकोले त्यो उद्देश्य पूरा नहुँदासम्म अभियान जारी रहने विश्वास दिलाएका छन् । उनले ओलीबारे टिप्पणी गर्दै उनका कदम गलत रहेको दोहोर्‍याएका छन्। 



'केपी ओली एमाले अध्यक्ष हुनुहुन्छ, त्यसलाई समूह भन्‍न मिल्दैन। तर उहाँको कार्यशैली गलत छ', गौतमले भनेका छन्, 'उहाँका अगाडि मैले आत्मसमर्पण गरेको छैन र गर्ने पनि छैन।'​

यता गौतम पत्नी तुलसा थापा भने सुरुदेखि नै ओली पक्षको भेलामा सहभागी भइरहेकी छिन्। गौतम पत्नी यसअघि नेकपा खारेज नहुँदा पनि बालुवाटार हुने कार्यक्रममा सहभागी भइरहेकी थिइन्। गौतम पनि शनिबारको दल बैठकमा सहभागी भए।

उनले त्यहाँ एमाले ब्यूँताएकोमा खुशी व्यक्त गरेका थिए। त्यसै अनुसार उनले पार्टी एकताको पक्षमा धारण राखेका उनले माधव नेपालहरुलाई कारवाही गर्न नहुने धारणा राखेका थिए। आफूले ओलीलाई समर्थन गरेको सार्वजनिक भएपछि ४ बुँदे धारणा सार्वजनिक गरेका हुन्।

गौतमले भनेका छन् :

१) फागुन २८ को बैठक केन्द्रीय कमिटीको थिएन। त्यसले गरेका निर्णय फिर्ता लिनै पर्छ।

२) पार्टी भित्र रहेका कमरेडहरुलाई उहाँहरुको अनुपस्थितिमा कुनै कारवाही गर्न मिल्दैन ।

३) केपी ओली एमाले अध्यक्ष हुनुहुन्छ। त्यसलाई समूह भन्न मिल्दैन। तर उहाँको कार्यशैली गलत छ। उहाँका अगाडि मैले आत्मसमर्पण गरेको छैन। गर्ने पनि छैन।

४) म पार्टी एकता राष्ट्रिय अभियानमा छु। उद्देश्य पूरा नहुँदासम्म अभियान जारी रहने छ।

  • प्रकाशित मिति : चैत ७, २०७७ शनिबार २३:३०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया