यी दुई कारण : जसले नेपाली कांग्रेसलाई अनिर्णयको बन्दी बनायो
जसपाको भर छैन, माओवादीमा विश्वास छैन

संसद पुनःस्थापना भएको एक महिना हुन लाग्दा पनि नयाँ सरकार निर्माणको विषय अझै अन्योलमा छ। सरकारको नेतृत्व गर्न कांग्रेसलाई ठूलो अवसर आएको छ। तर बहुदलयता निरन्तर सत्तामा रहेको कांग्रेसले पहिलो पटक प्रधानमन्त्री पदले ढोका ढकढक्याउँदा पनि मौन बसेको छ। 

अन्य दललाई समेत चकित बनाउने गरी कांग्रेस किन मौन छ त? मुख्यतः दुई कारणले कांग्रेसलाई सत्तामा जान रोकेको छ। पुस ५ मा भएको संसद विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन सजिलो भएको भन्दै तत्कालीन नेकपाकै दाहाल–नेपाल समूहले लड्डु बाँडेका थिए।

उनीहरुले त्यसबेला ओलीलाई विदा गरेर सत्ताको बागडोर सम्हाल्ने विश्वास लिएका थिए। तर उनीहरुको विश्वास विपरीत अहिले पनि ओली अन्य दललाई चुनौती दिएर सत्तामा आसिन छन्। 

संसद पुनःस्थापना भएकै दिन पुष्पकमल दाहाल र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुरलाई फोन गरेर खुसी साटेका थिए। उनीहरुले भोलिपल्टै भेटेर देउवालाई प्रधानमन्त्री बनिदिन आग्रह गरे। तर देउवा त्यसयता टसमस भएर बसेका छन्।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माकै भाषामा प्रधानमन्त्री पदले ढोका त ढकढक्याएको छ तर अहिले नै सत्तामा जान खुट्टा उचाल्नुपर्ने पक्षमा पार्टी र सभापति देउवा पनि तयार छैनन्। 

दाहाल–नेपालले संयुक्त सरकार बनाउन गरेको प्रस्तावमा देउवा केही सकारात्मक थिए। कांग्रेस सरकारमा जाने मुडमा पनि थियो तर सर्वोच्च अदालतले फेरि २३ नेपालको राजनीतिक चित्र नै फेरिने गरी निर्णय दियो। सर्वोच्चले नेकपालाई खारेज गर्दै साविककै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि कथाले अर्कै मोड लिइसकेको छ।



सर्वोच्चको यो फैसलापछि ओलीविरुद्ध उभिएका तत्कालीन नेकपाको माधवकुमार नेपाल समूह एमालेतिरै फर्किएको छ। नेकपा खारेजीमा परेपछि प्रचण्ड अहिले माओवादी केन्द्रका अध्यक्ष भएका छन्।

त्यहीकारण कांग्रेस अहिले सरकार ढाल्ने खेलमा मौन भएको छ। उसले यदि ओलीलाई बिदा गर्ने हो भने माओवादी र जनता समाजवादी पार्टी दुवैले लिखित प्रस्ताव ल्याउनुपर्ने अडान राखेको छ। तर ओलीलाई बिदा गर्ने अंक गणितीय खेल अझै रोकिएको छैन। 



माओवादी केन्द्रले कांग्रेसलाई सरकारको नेतृत्व लिन भनिरहेको छ। तर कांग्रेसले माओवादीको मात्रै नभएर सिंगै जनता समाजवादी पार्टीको साथ खोजिरहेको छ। उता जसपा अध्यक्ष महन्थ ठाकुर बहुमत सांसदसहित ओली सरकारमै जान खुट्टा उचालेर बसेका छन्। कांग्रेस सरकारप्रति नरम मानिएका उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसँग जसपा बहुमत छैन। 

जसपाले सिंगै साथ दिएमा मात्रै माओवादीको पनि साथ लिएर ओलीलाई बिदा गर्ने पक्षमा देखिएका छन् देउवा। तर कांग्रेसले चाहे जस्तो जसपा सिंगै उनको पक्षमा उभिने सम्भावना छैन। सत्ता निर्माणमा निर्णायक जनता समाजवादी पार्टी (जसपा) को अन्तरिक विवादले अहिले सत्ता समीकरण अन्योलमा छ। 

सत्ता निर्माणका लागि समर्थन पाए पछि नहट्ने कुरा कांग्रेसले बताइरहेको छ। तर उसलाई चाहिने बहुमत समर्थन तत्काल जुट्न असम्भव भएपछि ‘वाच एन्ड सी’ को अवस्थामा छ।

किन मौन कांग्रेस?

सरकार निर्माणका लागि प्रतिनिधिसभामा कम्तिमा १३५ भन्दा बढी सांसदको समर्थन चाहिन्छ। तर कांग्रेससँग अहिले ६३ सांसद छन्। जसमा दुईजना निलम्बनमा छन्।

यो घटाउँदा ६१ मा झर्छ। त्यसपछि कांग्रेसलाई माओवादी केन्द्रको समर्थन मिल्दा सांसद संख्या ११० हुन्छ। अहिले माओवादीका पनि चारजना सांसद प्रधानमन्त्री ओली खेमामा छन्। 

अब सरकार निर्माणलाई चाहिने सांसद संख्या ओलीबाहेक जसपासँग छ। कांग्रेस र माओवादीको ११० मा जसपाका ३२ सांसद जोड्दा १४२ हुन आउँछ। सरकार निर्माणका लागि कम्तीमा १३५ सांसद चाहिएकाले यो सजिलो बहुमतको अवस्था हो। तर जसपा अहिले दुई खेमामा विभाजित छ। यही कारण कांग्रेस न त ओलीविरुद्ध अविश्वास लैजान तयार छ न आफैँ सत्ताको बागडोर सम्हाल्न नै।

परिपक्व भएको छैन

कांग्रेस नेता नारायण खड्का अहिले नै सरकार निर्माणका लागि परिक्कव वातावरण नबनेको बताउँछन्। ‘सरकार निर्माणमा चाहिने संख्या कांग्रेससँग पर्याप्त छैन। निर्णायक बनेको जसपा दुई गुटमा विभाजित छ’, उनले भने, ‘त्यसैले उताको पूरै समर्थन नआएसम्म कांग्रेस सरकारमा जान सक्दैन।’ 

वातावरण परिक्कव भएर प्रस्ताव आए मात्रै कांग्रेस अघि बढ्ने उनी बताउँछन्। कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाको भनाइ पनि उस्तै छ। 

‘सरकार निर्माणको लागि चाहिने संख्या तीनवटै दलको जोडेर मात्रै पुग्छ, तर अहिले जसपा दुई गुटमा छ’, उनी भन्छन्, ‘जसपा एक भएर नआएसम्म सरकार निर्माण सम्भव छैन। त्यहीकारण कांग्रेस अहिले चुप छ।’ उनका अनुसार यसमा सहमति नहुँदासम्म कांग्रेस प्रतिपक्षीको हैसियतमै रहनेछ।

माओवादीमाथि शंका 

यता माओवादी केन्द्रमाथि कांग्रेसले विश्वास गर्न सकेको छैन। स्रोत भन्छ, ‘माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता नलिएर त्यो खालको वातावरण तयार गरिसकेको छैन। जसले गर्दा कांग्रेसलाई माओवादी केन्द्रको गतिविधिमा शंका छ।’

नयाँ सरकार बनाउन माओवादी केन्द्रले फागुन २३ लगत्तै ओलीलाई दिएको समर्थन फिर्ता नलिएपछि कांग्रेसले विश्वास गर्न नसकेको हो। 

‘यदि माओवादी केन्द्रले साँच्चिकै सरकार ढाल्नु चाहेको भए सर्वोच्च अदालतले नेकपा खारेज गरेको फैसलालगत्तै समर्थन फिर्ता लिनु पथ्र्यो। तर उसले त्यसो गर्न सकेन।’

समर्थन फिर्ता नलिएपछि माओवादी केन्द्रमाथि कांग्रेसको शंका बढ्दै गएको हो। स्रोतको अनुसार सरकारबाट माओवादी केन्द्र ‘ब्याक’ नभएकाले कांग्रेसले प्रक्रिया अगाडि बढाउन चाहिरहेको छैन। स्रोत भन्छ, ‘समर्थन फिर्ता गरेको भए कांग्रेसले आफ्नो हिसाबले पहल सुरु गथ्र्यो। तर माओवादीले त्यसो नगरेपछि प्रधानमन्त्री पदले ढोका ढकढक्याउँदा पनि कांग्रेस चुपचाप छ।’

जसपामा बढ्दो अन्योल
कांग्रेसको नजरमा र अंक गणितीय हिसाबमा अहिले प्रधानमन्त्री ओली अझै बलियो देखिएका छन्। अर्थात् प्रधानमन्त्री ओलीतर्फको अवस्था तीनै प्रति पक्षीभन्दा फरक छ।

अंक गणितीय हिसाबले अझै एमालेसँगै १ सय २० जना सांसद छन्। यसमा करिब १५ जनाको मात्रै समर्थन अन्य पार्टीबाट आएमा प्रधानमन्त्री ओलीकै बहुमत पुग्छ, बहुमतका लागि चाहिने उक्त संख्या जसपा अध्यक्ष महन्थ ठाकुरसँग छ।

जसपमा महन्थ ठाकुरको गुट अहिले प्रधानमन्त्री ओलीसँग मिलेर सरकार बनाउने रणनीतिमा छ। अहिले जसपा दुई गुटमा विभाजित छ। गुटगत संख्या हेर्ने हो भने उपेन्द्र यादव र महन्थ ठाकुरको खेमामा बराबर सांसद छन्। 

यदि यो फुटेर पनि गएमा एउटा खेमासँग लगभग १६ सांसद रहन्छन्, जुन संख्या ओलीलाई सरकार टिकाउन पर्याप्त हुन्छ। कांग्रेसका एक नेता भन्छन्, ‘जसपाको यही विवादका कारण ओलीको विदाई र नयाँ सरकार निर्माण अनिर्णयको बन्दी बनेको छ।’

  • प्रकाशित मिति : चैत ८, २०७७ आइतबार १८:१५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया