पत्रकार महासंघको निर्वाचन : नेतृत्वका लागि कसको पल्ला भारी ?
युनियनको विवादले अन्यलाई फाइदा

नेपाल पत्रकार महासंघको आसन्न चुनावमा पत्रकारिता क्षेत्रका विभिन्न संगठनबीच गठबन्धन भएको छ। गठबन्धनबीच नेतृत्वको लडाइँ भने टक्करको हुने भएको छ।

२५ चैतमा हुने नेपाल पत्रकार महासंघको चुनावमा जित हात पार्न प्रेस युनियनले बिभिन्न ११ वटा संगठनबीच गठबन्धन गरेको छ। यो गठबन्धनको नेतृत्व नेपाल प्रेस युनियनको तर्फबाट विपुल पोखरेलले गर्दैछन्।

१६५ प्रतिस्पर्धी

निर्वाचन समितिले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार ३८ पदका लागि १६५ जना प्रतिस्पर्धी छन्। पत्रकार महासंघमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमा नेतृत्व छानिँदै छ। त्यहीकारण पनि एकै पदमा धेरै पत्रकारको उम्मेदवारी परेको अनुमान गरिएको छ। 

यसमा स्वतन्त्र उम्मेदवारी मात्रै परेको छैन, संगठनकै गठबन्धनमध्ये केहीले संगठनको निर्णय भन्दा बाहिर गएर उम्मेदवारी दिएका छन्। यसमा प्रेस युनियन अगाडि देखिएको छ। प्रेस युनियनले आसन्न चुनावमा ११ संगठनसँग तालमेल गरेका छ। तर उसैको संगठनबाट पदाधिकारीसहितका पदमा बागी उम्मेदवार खडा भएका छन्। 

संगठनको एकलौटी निर्णय नमान्ने भनेर सुरुको ‘नोमिनेशन’ मा सबैभन्दा बढी उम्मेदवारी प्रेस युनियनबाटै परेको थियो। मनोनयनको अन्तिम नामावली प्रकाशनमा महासचिव पदबाट राजेश मिश्र र समावेशी उपाध्यक्षबाट शीतल महतोले नाम फिर्ता लिए। यी दुवैजना यसअघिको चुनावमा युनियनको तर्फबाट पदाधिकारी पदमा थिए।



दवाव या प्रभावले यी दुवैजना चुनावी मैदानबाट पछाडि हटे पनि युनियनकै निर्णय मानेर साझा उम्मेदवारलाई सहयोग गर्ने बलियो आधार देखिएको छैन। यद्यपि, निर्वाचन उम्मेदवारी फिर्ता लिने मिश्र र महतो भने मधेससँगै अन्य जिल्लामा पकड बनाएका उम्मेदवार मानिन्छन्।

युनियनबाटै बागी : पोखरेल भन्दा दाहाल बलियो?



दुई जनाले पदाधिकारीबाट उम्मेदवारी फिर्ता गरेपनि युनियनबाटै अझै दुई जनाको बागी उम्मेदवारी कायमै छ। त्यो पनि शीर्ष पदाधिकारीमा। अर्थात युनियनको आधिकारिक उम्मेदवारसँगै बागी पनि कायम भएको छ।

युनियनतर्फबाट अध्यक्षमा आधिकारिक उम्मेदवार विपुल पोखरेल हुन्। युनियनबाटै रामप्रसाद दाहालले पनि उम्मेदवारी दिएका छन्। उनलाई पनि मनोनयन फिर्ता लिन अन्तिमसम्म दबाब परेको थियो। तर दाहालले अध्यक्षबाट मनोनयन फिर्ता लिने कुनै कारण नभएको बताएका छन्। 

अध्यक्षमा दाहालले आफ्नो उम्मेदवारी दिएर युनियनलाई दुई चिरामा मात्रै उभ्याएका छैनन्, टक्कर दिने अवस्थामा  पुगिसकेका छन्। उनी बजारमा मिहिनेती पत्रकार मानिन्छन् भने पत्रकारको हक अधिकारका लागि वकालत गर्दै आइरहेका छन्।

पत्रकारहरुले गरेका पछिल्ला आन्दोलनहरूमा उनी अग्रमोर्चामा थिए। जसकारण उनको पकड पोखरेल भन्दा बलियो रहेको चर्चा छ। यही चर्चाले युनियनको आधिकारिक उम्मेदवार पोखरेललाई अफ्ठेरोमा पार्ने अवस्था आएको हो। 

अध्यक्षमा दाहालसँगै वरिष्ठ उपाध्यक्षमा पनि बागी उम्मेदवार बनेका रामजी दाहाल। उनी कांग्रेस उपसभापति विमलेन्द्र निकट मानिन्छन्। त्यसैले उनलाई निधिको सहयोग रहेका टक्कर दिने उम्मेदवार बनेका छन्। 

यी दुई उम्मेदवारले युनियनबाट एउटा बेग्लै धार समेत बनाएका छन्। ती धारले संगठनले निर्णय गरेका व्यक्ति भन्दा व्यवसायिक पत्रकारलाई मात्र भोट दिन अपील गरिरहेका छन्। जसको सुरुवात स्वयम् रामजी दाहालले गरेका छन्। 
उनले सामाजिक सञ्जालमार्फत नै आह्वान गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘पत्रकार महासंघमा लेख्ने पत्रकारलाई विजयी गराऔं, पत्रकार महासंघलाई पत्रकारहरुको संस्था बनाऔं, ठेकेदारी प्रथा हटाऔँ।’ 

पार्टीभित्रै असन्तुष्टि

महासंघका उम्मेदवारीले प्रेस युनियन आन्तरिक रुपमा एक र बलियो नरहेको चर्चा संगठनभित्रै भइरहेको छ। यस पटकको उम्मेदवारीले कांग्रेस सभापति शेरबहादुरनिकट नेता पनि खुसी छैनन्। अध्यक्षका उम्मेदवार पोखरेललाई आन्तरिक विद्रोह हुने डरले युनियन अध्यक्ष बद्री सिग्देलले अन्तिम समयमा समर्थन गरेका थिए। अध्यक्षका उम्मेदवार पोखरेल कांग्रेसमा सभापति इतर समुह नजिकका हुन्।

पार्टी सभापति शेरबहादुर मात्रै नभइ उपसभापति निधि पनि पोखरेलसँग सन्तुष्ट छैनन्। रामजी दाहालको नाम प्रस्ताव गरे पनि उनले कहीँ समेटेका छैनन्। त्यहीकारण गठबन्धन गरे पनि युनियनलाई जित निकाल्न गाह्रो पर्ने जानकारहरु बताउँछन्।

यसकारण अध्यक्षमा शर्मा बलियो

युनियन अहिलेसम्म आफ्नो आन्तरिक कलह मेटाउन लागेको छ। तर उसको प्रतिस्पर्धीका प्रेस चौतारीले यही फाइदा उठाएर जित्ने कोसिस थालेको छ। 

युनियनसहितको गठबन्धनमा धेरै बागी उम्मेदवारी तथा आन्तरिक कलह बढेपछि प्रेस चौतारीतर्फकी अध्यक्षकी प्रत्यासी निर्मला शर्माले त्यही अनुरुपको रणनीति तय गरेकी छन्। उनका नारादेखि लिएर सामाजिक सञ्जालमा गरिने प्रचारलाई पनि प्रभावकारी बनाएकी छन्। युनियनको फुट र विवादले उनको पल्ला भारी रहेको पत्रकारहरुमा चर्चा छ। 

सञ्चारिका समूहका अध्यक्ष हुँदादेखि मोफसलमा उनको पकड बलियो छ। महिला मात्रै नभइ पुरुषसँग पनि उनको आफ्नै चिनजान र सम्बन्ध छ। त्यसैले उनी झन् बलियो उम्मेदवार रहेको चर्चा भइरहेको छ। त्यसमा पनि सत्तारुढ दलबाट उम्मेदवार बनेपछि प्रतिस्पर्धी सशंकित बनेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओली आफूनिकटलाई अगाडि बढाउन हदैसम्मको प्रयास गर्ने नेता मानिन्छन्। ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भित्री सम्बन्धका कारण यो पटकको प्रतिस्पर्धा बाहिर देखे जस्तो नरहेको नरहेको चर्चा भइरहेको छ। 

केही व्यवसायिक केही पत्रकारहरुले पनि अहिले एउटा चर्चा गरिरहेका छन्। उनीहरुले भनिरहेका छन्, ‘यो पटकको चुनावमा लेख्ने र कलमजीवीलाई सहयोग गरौं। यसको मनसाय भनेको दलनिकट पत्रकार संगठनले निर्णय गरेको व्यक्तिभन्दा व्यवसायिक पत्रकारलाई अगाडि बढाउनु हो। कतिपयले व्यवसायिक पत्रकारलाई भोट दिने भनेर सामाजिक सञ्जालमा अभियान नै चलाएका छन्।

दुई गठबन्धन

महासंघको चुनावी मैदानमा औपचारिकरुपमा दुईवटा गठबन्धन छ। तर अध्यक्ष पदमा चार उम्मेदवारी परेको छ। अध्यक्षका अर्का प्रत्यासी गजेन्द्रसिंह बुढाथोकीले पनि आफूलाई व्यवसायिक पत्रकारको साथ रहेको भन्दै दाबेदारी पेश गरेका छन्। 

उनलाई प्रेस युनियन, प्रेस चौतारीसम्बद्ध पत्रकारसहित अन्य व्यावसायिक पत्रकारहरुले पनि साथ दिँदै आएका छन्। उनले आफूलाई कुनै दलको समर्थनमा नभइ स्वतन्त्र रुपमा प्रस्तुत गरिरहेका छन्।

अध्यक्षमा गजेन्द्रसिंह बुढाथोकी, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोखरेलसहित चारजना छन्। यसअघि मनोनयन गरेका दीपक पाठकले उम्मेदवारी फिर्ता लिएका छन्।

यस्तै, वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, रमेश विष्ट र रामजी दाहाल उम्मेदवार छन्। यसै पदमा उम्मेदवारी दर्ता गराएका ध्रुव लम्साल पछि हटिसकेका छन्। महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकार, समावेशी उपाध्यक्षमा अवधेश झा, उदय जिएम, मोहन कुमार सिंह छन्।

  • प्रकाशित मिति : चैत १८, २०७७ बुधबार १७:१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया