कांग्रेस अनिर्णित, राप्राप तटस्थ : संकटमा कर्णाली प्रदेशका मुख्यमन्त्री
एमालेबाट फ्लोर क्रस भए पनि जोगिन मुस्किल

कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संकट बढेको छ। विश्वासको मत लिने तयारी गरिरहँदा कांग्रेस अनिर्णित र राष्ट्रिय प्रजातन्त्र पार्टी विपक्षमा उभिने भएपछि मुख्यमन्त्री शाहीको संकट बढेको हो। 

कांग्रेसले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने नदिने निर्णय लिन केन्द्रको निर्देशन कुरेर बसेको छ। शुक्रबार बिहान कांग्रेसको कर्णाली प्रदेश संसदीय दल बैठक बिनानिष्कर्ष सकिएपछि शाहीको संकट बढेको हो। बिहान बसेको बैठक बिनानिष्कर्ष सकिएपछि फेर दिउँसो बस्ने भएको छ।

उक्त बैठकमा पनि केन्द्रको निर्देशनपछि थप निर्णय लिनेबारे कुरा भएको एकजना सांसदले बताएका छन्। केन्द्रले निर्देशन दिएपछि मात्रै संसद बस्नुअघि बैठक राख्ने तयारी भएको छ।

कर्णाली प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्दैछ। उक्त बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यसूची तय भइसकेको छ। विश्वासको मतको टुंगो लगाउन आज मतदान हुँदैछ। 

शाहीलाई दिएको समर्थन प्रदेशको सबैभन्दा ठूलो नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही संकटमा परेका छन्। दुई समूहमा विभाजित भए पनि एमालेका केपी शर्मा ओली र माधव नेपाल दुवै पक्ष शाहीको विपक्षमा उभिएका छन्। 

यदि आजको बैठकमा मुख्यमन्त्री शाही विश्वास लिन असफल भए नयाँ मुख्यमन्त्री छनोट अघि बढ्नेछ। 



राप्रपा तटस्थ 

उता मुख्यमन्त्री शाहीलाई राप्रपाले समर्थन नदिने भएको छ। प्रदेशसभामा विश्वासको मत लिन लागेका शाहीलाई साथ नदिने निर्णय राप्रपाले लिएको छ। एक सिट रहेको राप्रपा सत्ताको खेलमा निर्णायक बन्ने अवस्थामा तटस्थ बस्ने भएको हो। 



राप्रपाले प्रदेशसभामा तटस्थ बस्ने निर्णय गरेपछि शाहीको संकट चुलिएको हो। राप्रपाका सचिवालय सदस्य राजाराम बर्तौलाले बिहीबार काठमाडौंमा बसेको पार्टीका प्रमुख तीन नेताहरुको बैठकले सरकार ढाल्ने र बनाउने खेलमा राप्रपा नलाग्ने निर्णय गरेको थियो।

समीकरण 

कर्णाली प्रदेशसभामा हाल ३९ जना सांसद रहेका छन्। जसमा सबैभन्दा ठूलो नेकपा एमालेसँग सभामुखसहित २० जना सांसद छन्। माओवादीसँग १३ जना मात्रै थिए। तर उसले दैलेखबाट कर्णाली प्रदेशसभा सदस्य बनेका धर्मराज रेग्मीलाई पदमुक्त गरेपछि हाल १२ जना मात्रै छन्। 

मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिन अब कम्तीमा २० सांसद चाहिन्छ। कांग्रेसका ६ जनाले साथ दिँदा १८ जना हुन्छन्। त्यसमा राप्रपाले अन्तिम अवस्थामा सघाए १९ पुग्छ। शाहीलाई अझै एकजना सांसदको खाँचो पर्छ। 

त्यसका लागि उनलाई नेकपा एमालेको माधव नेपाल समूहका सांसदहरुले फ्लोर क्रस गरेर साथ दिनुपर्ने हुन्छ। यदि फ्लोर क्रस गरेर साथ दिएमा एमालेका ती सांसदको पद सुरक्षित रहने छैन। कांग्रेस र राप्रपाको पनि साथ पाएर यदि एमालेबाट फ्लोर क्रस नभएमा शाहीको पद जोगिने छैन। 

  • प्रकाशित मिति : वैशाख ३, २०७८ शुक्रबार १३:२०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया