logo-img

पुनर्निर्मित धरहराको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओली

पुनर्निर्मित धरहराको आज उद्घाटन हुँदैछ । वि.सं. २०७२ सालको महाभूकम्पमा परेर ध्वस्त भएपछि पुनर्निर्माण गरिएको धरहराको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्न लागेका हुन् । 

भीमसेन थापाले तत्कालीन समयमा ११ तल्ला अग्लो बनाएका धरहरा अहिलेको पुनर्निर्माणको क्रममा २२ तल्ला अग्लो बनाइएको छ । बिहान ११ बजे प्रधानमन्त्री ओलीले धरहरा उद्घाटन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । 

भीमसेन थापाले बनाएको ११ तल्ले धरहरा १९९० सालको भूकम्पमा ढलेको थियो । जसको पुनर्निर्माणका क्रममा जुद्ध शमशेरले सोही स्थानमा ९ तल्ले धरहरा बनाएका थिए । 

नयाँ बनेको धरहरा ऐतिहासिक सम्पदा भएपनि अहिले यसको पुनर्निर्माण बहुउपयोगी आधुनिक भवनको रुपमा भएको छ । यहाँ तीनतले पार्किङ स्थलको निर्माण कार्य जारी रहेको छ । 

सुन्धारा, न्युरोड, रत्नपार्क क्षेत्रमा आउने गाडी यहाँ सःशुल्क पार्किङ गर्न सकिने छ । न्युरोड क्षेत्रको पार्किङ समस्या समाधान गर्न यो सुविधा थप्न लागिएको प्राधिकरणले बताएको छ । 

आधुनिक ढंगले पुनर्निर्माण गर्न जमीन अपुग भएपछि सरकारले गोश्वारा हुलाक, टक्सार विभाग, नेपाल राष्ट्र बैंक र सुन्धारामा रहेको सबै जमिन एकीकृत रुपमा विकास गर्नेगरी लिएको थियो । जसकारण पहिले पाँच रोपनी क्षेत्रफलमा भएको धरहराले अब भने ४२ रोपनी क्षेत्रफल ओगटेको छ ।



प्राधिकरणबाट पारित डिजाइनअनुसार गोश्वारा हुलाक भएको ठाउँमा धरहरा प्रवेशद्वार रहेको छ । भित्र छिरेपछि दुई तला भूमिगत बनाइएको छ । भूमिगत तलाबाट लिफ्ट चढेर धरहराको माथिल्लो भागमा पुग्न सकिने व्यवस्था रहेको छ । यसबाहेक धरहरा चढ्नका लागि भर्‍याङको पनि निर्माण गरिएको छ । 

नयाँ बन्ने धरहराको संरचना अपांगमैत्री पनि हुनेछ । धरहराको २०औँ तलामा ‘अब्जर्भेसन डेस्क’ निर्माण गरिनेछ । यहाँबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिने छ । बीस तलाबाट धरहराको टुप्पासम्म जान प्रयोग गरिने लिफ्ट पारदर्शी हुनेछ । धरहरालाई हरियालीयुक्त बनाउन एउटा बगैँचा बनाउने काम अघि बढाइएको छ । बगैँचालाई ‘ह्यांगिङ गार्डेन’ नाम दिइएको छ ।



धरहरा पुनर्निर्माणका क्रममा सुन्धारा पनि मर्मत गरिने प्राधिकरणले जनाएको छ । डिजाइनअनुसार धरहरा प्रवेश गर्ने मुख्य ढोकामा पानीको अत्याधुनिक फोहोरा बनाइने छ । धरहरामा राखिने पानीको फोहोरा ५० फिट अग्लो हुनेछ । 

यहाँ सङ्ग्रहालयसमेत निर्माण गर्ने तयारी छ । संग्रहालयमा पुराना सिक्का छाप्ने मेसिन राखिने छ । यसको १०औँ तलामा मिनी थिएटर रहने छ । जहाँ प्रोजेक्टरबाट धरहराको इतिहासबारे भिडियो देखाइने छ ।

भीमसेन स्तम्भ -धरहरा ! भीमसेन थापाले ११ तल्ला अग्लाे बनाएका थिए, ९० सालकाे भूकम्पले ढालिदियाे, जुद्दशमशेरले ९ तल्ला...

Posted by Prime Minister's Press Advisor on Friday, April 23, 2021
  • प्रकाशित मिति : वैशाख ११, २०७८ शनिबार ७:२५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया