logo-img

माधव नेपालप्रति ईश्वर पोखरेलको आक्रोश : विधि र प्रक्रियाको वकालत गर्नेको मुकुण्डो उदांगो भयो

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आफ्नै दलका उम्मेदवारलाई हराउन लागेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालप्रति आक्रोश पोखेका छन्। उनले आज राष्ट्रियसभा उपनिर्वाचनमा देखिएका हर्कतहरु अत्यन्तै निकृष्ट र अक्षम्य रहेका पनि बताएका छन्। 

'राष्ट्रिय सभाका लागि आज भएको उपनिर्वाचनमा देखिएका हर्कतहरु अत्यन्तै निकृष्ट र अक्षम्य छन्', नेता नेपालले एमाले उम्मेदवार रामबहादुर थापा बादललाई हराउन खेलेको भूमिकाबारे उनले भनेका छन्, 'यसखाले अराजक कुकृत्यले नेकपा एमालेभित्र बनिरहेको एकताको वातावरण धुमिल बनाइदिएको छ।'

महासचिव पोखरेलले यस्ता गतिविधि  पार्टी विधान, पद्दति , प्रक्रिया, नीति , निर्णय र निर्देशनको वकालत गर्दै वरिष्ठ नेता नेपाल समूहले गरेको नाटक मञ्चनको मुकुण्डो पनि उदांगो भएको बताएका छन्। 'पार्टीविरूद्धमा आज  गरिएका यी अपराधपूर्ण कामले पार्टी विधान, पद्दति , प्रक्रिया, नीति , निर्णय र निर्देशनको वकालत गर्दै भइरहेका नाटक मञ्चनको मुकुण्डो पनि उदांगो भएको छ', उनले भनेका छन्। 

उनले आफ्नै पार्टीविरुद्ध लागेर वरिष्ठ नेता नेपाल समूह विपक्षीहरूको गोटी बनेको पनि टिप्पणी गरेका छन्। 'आफ्नै पार्टीका अध्यक्षलाई संसदमा विश्वासको मत दिन उपस्थित नहुने, कर्णालीको प्रदेशसभामा फ्लोर क्रस गर्ने, लुम्बिनीमा त्यसैको पुनरावृत्ति गर्न खोज्ने , ‘सूर्य’ चिन् बाहक आफ्नै उम्मेदवारलाई हराउन विपक्षीहरूको गोटी बन्ने काम भए', उनले भनेका छन्, 'तर अनेक भ्रमपूर्ण र आपराधिक समाचारहरू सम्प्रेषण गर्ने  जस्ता निर्लज्ज  र अपराधपूर्ण कामहरू  कम्युनिष्ट आन्दोलन र संसदीय/ लोकतान्त्रिक आन्दोलनका लागि लज्जास्पद विषय हुन्।' 

पोखरेल नै नेता बादललाई हराउन लागेको आरोपसहित नेता नेपालनिकट केही अनलाइनहरुले समाचार प्रकाशित गरेका थिए।  आजको निर्वाचनपछि पोखरेलनिकट १३ जना मतदाताले बादलविरुद्ध उठेका खिमलाल देवकोटालाई दिएको दाबीसहित समाचार आएका थिए।

आजको निर्वाचनले एमाले अझै बलियो रहेको पुष्टि गरेको दाबी उनले गरेका छन्। 'यद्यपि आजको निर्वाचनले एमाले विरोधी महागठबन्धनका बाबजुद नेकपा (एमाले) एक्लै चुनौतीको सामना गर्न सक्षम छ भन्ने  कुरा आज स्पष्ट भएको छ', उनले भनेका छन्, 'विषम अवस्थामा पार्टी विभाजनविरूद्ध दृढतापूर्वक उभिँदै पार्टी र आन्दोलनको रक्षामा जुट्न आवश्यक छ।'





  • प्रकाशित मिति : जेठ ६, २०७८ बिहीबार २१:५०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया