कोरोना खोप ल्याउन राष्ट्रपतिको सक्रियता : भारतीय समकक्षीलाई पत्र, चिनियाँ राष्ट्रपतिसँग ४० मिनेट वार्ता
प्रेस सल्लाकार ढकाल भन्छन् : चीनबाट सहयोगको बचन आएको छ

नेपालमा कोरोनाको दोस्रो महामारीले दैनिक डेढ सय बढी नागरिकको ज्यान गइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले खोप ल्याउन कूटनीतिक पहल थालेकी छन्। 

कोरोनाविरुद्धको खोप प्रभावकारी बन्दै गएका बेला नागरिकस्तरबाट सरकारमाथि बढ्दो दबाबबीच राष्ट्रपतिले दुई ठूला छिमेकीसँग पहल थालेकी हुन्। 

चिनियाँ समकक्षीसँग वार्ता
राष्ट्रपति भण्डारीले आज दिउँसो चिनियाँ समकक्षी सी जिनपिङसँग ४० मिनेट लामो टेलिफोन सम्वाद गरेको प्रेस सल्लाहकार टीका ढकालले फरकधारलाई जानकारी दिएका छन्। 

'राष्ट्रपतिज्यूले कोरोना खोपबारे हिजो भारतीय समकक्षीलाई एउटा पत्र पठाउनु भएको थियो। उहाँले आज चिनियाँ राष्ट्रपतिसँग ४० मिनेट लामो संवाद गर्नु भएको छ', ढकालले फरकधारसँग भने, 'उहाँको मुख्य चासो कोरोनाविरुद्धको खोपमै थियो। चिनियाँ समकक्षीलाई नेपालको संकट अवगत गराउँदै उहाँले खोप उपलब्ध गराइदिन अनुरोध गर्नु भएको छ।'

ढकालका अनुसार टेलिफोन संवादका क्रममा नेपाल र र चीनको परम्परागत मित्रता एवम् सम्बन्धबारे पनि कुरा भएको छ। 'टेलिफोन संवादमा दुई देशको परस्पर हित र सम्बन्धबारेमा कुरा भयो', ढकालले भने, 'अहिले हाम्रो प्राथमिकता कोभिड-१९ बाट बच्न खोप नै छ। नेपाल खोप खरिद गर्न इच्छुक रहेको भन्दै राष्ट्रपतिज्यूले यसमै जोड दिएपछि चीनबाट पनि सकारात्मक जवाफ आएको छ।'

संवादका क्रममा चिनियाँ राष्ट्रपति सीले नेपाललाई आवश्यक मात्रामा खोप उपलब्ध गराउन तयार रहेको बताएका थिए। 'नेपालले खोप खरिद गर्न नेपाल इच्छुक रहेकाले उपलब्ध गराउन आग्रह भएपछि राष्ट्रपति सीले उदारपूर्वक आफूहरु सहयोगका लागि तयार रहेको बताउनु भयो', ढकालले भने, 'दुई देशबीचको सम्बन्ध सधैँ सकारात्मक र एकापसबीच सहयोग आदान प्रदानमै चलेका हुनाले खोप पनि उपलब्ध हुने जवाफ आएको छ।' 



राष्ट्रपति सीले नेपाल असल छिमेकी भएकाले यसअघि पनि ८ लाख डोज खोप सहयोगस्वरुप उपलब्ध गराएको बताउँदै अब थप खोप पनि उपलब्ध गराउने बताएका छन्। 

भारतलाई पत्र



राष्ट्रपति भण्डारीले कोरोनाविरुद्धको खोप सहयोगको अपेक्षासहित भारतस्थित समकक्षी रामनाथ कोबिन्दलाई मंगलबार पत्र पठाएकी छन्। नेपाललाई भारतले यसअघि ११ लाख डोज कोरोना खोप नि:शुल्क दिएको थियो भने १० लाख डोज किनिएको थियो। 

नेपालमा संकट बढिरहेका बेला खोप उपलब्ध गराइदिन आग्रहसहित कूटनीतिक माध्यमबाट भारतका राष्ट्रपति कोबिन्दलाई मंगलबार पत्राचार गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए । 

भारतीय समकक्षीलाई पठाइएको पत्रमा राष्ट्रपति भण्डारीले नेपालमा कोरोना भाइरस रोकथाम र नियन्त्रणमा खोपको आवश्यकता अति नै महत्वपूर्ण भएकाले आवश्यक पहल गरिदिन भनेकी हुन्। उनले नेपालमा कोरोना नियन्त्रणका लागि यसअघि भारतबाट मिलेको सहयोगप्रति उनले आभार व्यक्त गरेको ढकालले फरकधारलाई बताए।

पछिल्लो समय भारतमा कोरोनाको दोस्रो लहरले भयंकर संकट ल्याएपछि नेपाललाई बेच्ने भनिएको खोप पनि कोभिशिल्ड उत्पादक सिरम इन्स्टिच्युटले रोकिदिएको छ। भारतले यो वर्षको अन्तिममा मात्रै नेपालसहितका देशलाई खोप बेच्न सकिने बताएको छ। 

भारतमा किनिएको खोप पनि आउने अनिश्चित भएका बेला राष्ट्रपतिले कूटनीतिक पहल थालेकी हुन्। कूटनीतिक वृत्तमा उच्च तहबाट पहल भएमा भारतले खोप दिन सक्ने चर्चा भइरहेका बेला राष्ट्रपतिको अर्थपूर्ण पहल सुरु भएको हो। 

  • प्रकाशित मिति : जेठ १२, २०७८ बुधबार १७:३१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया