logo-img

टीकाराम भट्टराई भन्छन् : प्रतिनिधिसभा जीवितै छ, सभामुखले बैठक डाक्न सिफारिस गरून्

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले नेपालमा लिखित संविधान भएकाले त्यसभन्दा बाहिर कोही पनि जान नसक्ने बताएका छन्। सभामुख अग्‍निप्रसाद सापकोटाले बिहीबार गरेको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्। 

'हामीसँग लिखित संविधान छ, यसका दायरा बाहिर प्रधानमन्त्री गए पनि सभामुखले जान मिल्दैन। संविधानले दिएको कर्तव्य निर्वाह गर्दिनँ भन्न पनि हुँदैन', उनले भने, 'पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनपछि फागुन ११ गते गरेको फैसला अनुसार कसैको लहड र सनकको भरमा प्रतिनिधिसभा विघटन हुन सक्दैन। संविधानको धारा ७६ उपधारा १ देखि ५ सम्म पूरा अभ्यास हुनुपर्छ।'

भट्टराईले कसैको लहड र सनकको भरमा प्रतिनिधिसभा विघटन हुन नसक्ने बताए। 'कसैको लहड र सनकको भरमा प्रतिनिधिसभा विघटन हुन सक्दैन भनेको छ। सर्वोच्चले नै प्रतिनिधिसभा मर्दैन भनेकाले अब प्रतिनिधिसभा मर्न सक्दैन', उनले भने, 'सर्वोच्चले फागुन ११ गते पनि प्रतिनिधिसभा जिउँदै छ भनेको थियो। धारा ८५ मा पनि व्याख्या गरिएको छ।'

उनले बजेट ल्याउने दिन जेठ १५ गते कहिल्यै प्रतिनिधिसभा विघटन हुन नसक्ने तर्क गरे। 'संविधानको धारा ११९ को उपधारा ३ ले जेठ १५ गते कहिले पनि प्रतिनिधिसभा मर्दैन भनेको छ। अब हामीले धारा ७६ सँग जोडेर हेरेर सर्वोच्चको फैसला बुझ्नुपर्छ', उनले भने, 'जेठ १५ मा प्रतिनिधिसभा हरहालतमा जीवित हुन्छ भनेको छ संविधानले। जेठ १५ मा प्रतिनिधिसभा मर्दै मर्दैन भनेकाले सभामुखले बजेट अधिवेशन बोलाउनु पर्छ।'

भट्टराईले जबरजस्ती प्रतिनिधिसभा विघटन गरिएको बताए। 'जबरजस्ती प्रतिनिधिसभा विघटन गरिएको छ। अदालतमा पनि विचाराधीन छ मुद्दा। यो अधिवेशनको आह्वान र अन्त्य संविधानको धारा ९३ मा उल्लेख छ', उनले भने, 'अधिवेशनको आह्वान गर्ने अधिकार राष्ट्रपतिलाई छ। तर यही संविधानले अधिवेशनको आह्वान गर्ने अधिकार सभामुखलाई पनि दिएको छ।'

सर्वोच्चको फैसला अनुसार प्रतिनिधिसभा जीवितै रहेको उनले बताए। 'संविधानको धारा ६६ अनुसार प्रधानमन्त्रीबाहेक अरुलाई पनि संसद बोलाउने अधिकार छ। धारा १०३ को उपधारा २ ले यस संविधानको अधिनमा रही संघीय सदनको प्रत्येक सदनलाई आफ्नो काम कारबाही गर्ने अधिकार दिएको छ', उनले भने, 'सर्वोच्चको फैसला अनुसार संसद अहिले पनि जीवित छ। धारा ९३ अनुसार सभामुखले पत्र पठाएर राष्ट्रपतिलाई बैठक बोलाउन आह्वान गर्न लगाउनुपर्छ। संविधान अनुसार सभामुखले राष्ट्रपतिलाई प्रतिनिधिसभा बैठक आह्वान गर्न सभामुखले सिफारिस गर्न सक्छ।'





  • प्रकाशित मिति : जेठ १३, २०७८ बिहीबार १५:२४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया