जिल्ला प्रशासनको सुब्बासँग कहाँबाट आयो अर्बौँको सम्पत्ति ?

सुपारी तस्करीमा सेटिङ मिलाउने योजनाकारका रुपमा देखिएका दीपक पोखरेल २० वर्षअघिसम्म जिल्ला प्रशासन कार्यालय झापाका सुब्बा थिए । उनले सुब्बाको जागिर छाडेको पुग–नपुग २० वर्ष भएको छ । माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला पोखरेलले सरकारी जागिर छाडे । 

सरकारी जागिर छाडेपछि आमकर्मचारीलाई घर चलाउन समेत धौ–धौ परेको समाजमा देखिँदै आएको छ । तर, दीपकको भने सरकारी जागिर छाडेपछिका वर्ष मालामाल  भए । जिल्ला प्रशासन कार्यालयमा रहँदै कर्मचारी, व्यापारी र प्रहरी प्रशासनसँग सेटिङ मिलाउन माहिर पोखरेलले त्यसपछि पछाडि फर्किएर हेर्नुपरेन । 

उनी नेपालमै पहिलोपटक जेट इन्जिन भएको विमान सञ्चालन गर्ने एयरलाइन्स कम्पनीका अध्यक्ष भए । उनको कम्पनीले एक अर्ब रुपैयाँमा जेट इन्जिन भएको विमान किनेको दाबी छ । यति मात्रै होइन, दीपक पोखरेलको एकल स्वामित्वमा मेची अञ्चलमै पहिलोपटक निजी क्षेत्रबाट सुविधासम्पन्न निजी अस्पताल पनि खोलियो । 

ओमसाई पाथिभरा नामक अस्पताल दीपक पोखरेलको सञ्चालनमा रहेको पहिलो देखिएको व्यापार थियो । उनले सरकारी जागिर छाडेको केही समयमै उक्त अस्पताल सञ्चालनमा ल्याएका थिए । यस्तै, पोखरेलले झापामा रासयनिक मल उत्पादन गर्ने भनेर उद्योग पनि खोले, तर पछि उनले सञ्चालनमा ल्याएनन्  । 

यसरी एकपछि अर्को करोडौँको लगानीमा व्यवसाय सञ्चालन गर्दा सरकारले उनलाई यत्रो लगानी गर्ने बजेट कहाँबाट आयो भनेर सोध्नुपर्नेमा उल्टै उनलाई नै सरकारले सम्मान गर्दै आयो । अहिलेसम्म पोखरेलको सम्पत्तिको स्रोत खोजी भएको छैन । जो सत्तामा छ, उसैको भएको देखाउने ‘सुपारी किङ’का रुपले चिनिएका पोखरेलको पुख्र्यौली पेसा भने कृषि नै हो । 

उनको परिवारको अहिले पनि झापाको मेचीनगरमा चिया खेती रहेको छ । सरकारी जागिर र पुर्ख्यौली खेतीपातीले मात्रै उनले अर्बौँ रुपैयाँ कमाए भन्नेमा प्रश्न गर्न सकिने ठाउँ रहेकोे उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । 



जिल्ला प्रशासनमा हुँदै सेटिङ 

नेपालमा ०४६ सालको परिवर्तनपछि तेस्रो मुलुकबाट सुपारी आयत गरी भारत लगेर बेच्ने धन्दा सुरु भयो । यो धन्दामा ठूलो पैसा देखेपछि दीपक पनि सरकारी कर्मचारीको आडमा यो धन्दामा लागेको उनलाई नजिकबाट चिन्नेहरु बताँउछन् । 



सबैसँग सरल र नम्र भएर बोल्ने दीपकले जिल्ला प्रशासन कार्यालय झापामा हुँदा यही स्वाभावको बलमा अरुलाई खुसी पार्दै सुपारी तस्करीको जालो फैलाएको झापाली व्यवसायीहरु बताँउछन् । 

कांग्रेस नेता कृष्ण सिटौलासँग नजिकको सम्बन्ध बनाएका पोखरेलले सिटौलासँगको सम्बन्धको फाइदा उठाउँदै प्रहरी र प्रशासनसँग लाइन मिलाएका थिए । सिटौला गृहमन्त्री भएका बेला सुपारी तस्करीको जालो पोखरेलले थप फिँजाएको देखिन्छ । 

तेस्रो देशबाट सेटिङमा सुपारी भित्र्याएर वैध र अवैध रुपमा भारत पठाउने धन्दामा लागेपछि उनले जागिर छाडेको उनी निकट स्रोतले जनायो । सुपारी तस्करीबाट अकुत सम्पत्ति भएपछि यसलाई वैध बनाउनका लागि उनले झापामा देखाउन मिल्ने व्यवसायका रुपमा ओम साई पाथिभरा अस्पताल सञ्चालन गरेको उनी निकट बताउछन् ।

यस्तै, सुपारी तस्करीबाट आएको पैसा वैध बनाउन उनले झापामा रासयनिक मल उत्पादन गर्ने कारखानासमेत स्थापना गरेका थिए । दीपकले घाटामा गएको भन्दै मल कारखाना भने बन्द गरेका छन् ।

नेता मिलाउन माहिर 

कर्मचारी र प्रहरी प्रशासन मात्रै होइन, उनले सबै राजनीतिक दलका नेतालाई समेत मिलाउने गरेका छन् । 

एक झापाली अग्रज व्यवसायी भन्छन्, ‘हरेक राजनीतिक दलका नेताले दीपक हाम्रो मान्छे भन्छन् । तर, उनीचाहिँ कुन पार्टी र कसका मान्छे हुन् भन्न भन्न सकिन्न ।’ 

कांग्रेस नेता कृष्ण सिटौलाका विश्वास पात्रका रुपमा रहेका पोखरेल अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत निकट रहेको बताइन्छ । 

  • प्रकाशित मिति : जेठ ३०, २०७८ आइतबार १६:२२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया