logo-img

सेयर बजारलाई मौद्रिक नीतिमार्फत कडाइ गर्ने राष्ट्र बैंकको संकेत
एकै वर्षमा १२२ प्रतिशतले बढेपछि नियमनको तयारी

पछिल्लो समय नेपालको सेयर बजार निरन्तर उकालो लागेको छ । एक वर्षको अवधिमा सेयर बजार १२२ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । आइतबारसम्मको नेप्से परिसूचकलाई हेर्ने हो भने बजार करिब १२ महिनाको अवधिमा कुनै आधारबिना नै निरन्तर वृद्धि भइरहेको छ । 

सेयर बजार कुनै पनि देशको समग्र अर्थतन्त्रको ऐना हो । तर, नेपालमा भने यो ऐनाले उल्टो गति लिएको देखिन्छ । सम्पूर्ण अर्थतन्त्रका सूचक ओरालो लागिरहेको समयमा सेयर बजार भने एक वर्षभित्रमा नै दोब्बरभन्दा बढी अंकले बढ्नु आश्चर्यजनक भएको अर्थशास्त्रीको बुझाइ छ । 

नेपाल मर्चेन्ट बैंक संघका अध्यक्ष मेखबहादुर थापा बजार कति अंकमा पुग्नुलाई बढी भन्ने र कति अंकसम्म घट्नेलाई कमी भन्ने विषय लगानीकर्ता आफैँले निर्धारण गर्ने बताउँछन् । ‘अहिलेको बजार थुप्रै लगानीकर्ता लागि अझ माथि जानुपर्ने होला भने त्यस्ता धेरै लगानीकर्ताका लागि घट्नुपर्ने होला,’ उनले भने, ‘यो सबै किन्ने र बेच्ने लगानीकर्ताको हातमा हो । तर, पछिल्लो समय बजार उकालो लाग्दा भने अचम्मित भएको छु ।’ 

तर, सेयर बजार विश्लेषक निरव पुडासैनी भने मर्चेन्ट बैंकहरुले कर्नरिङ गरेर अरुको रकममा कमिसन बढाउन लाग्दा बजारका सबै इन्डेक्स स्थिर रुपमा नबढेको हुन सक्ने बताउँछन् । उनले पछिल्लो समयमा इन्साइडर ट्रेडिङ र कर्नरिङको काम फस्टाउँदा बजारका सब इन्डेक्स अस्थिर भएको दाबी गरेका छन् ।  

नेपाल स्टक एक्सचेन्जका अनुसार गत ०७७ असार २५ गते १३३१.२७ अंकमा रहेको सेयर बजार ०७८ जेठ २५ गते आइपुग्दा बढेर २९६० अंकभन्दा माथि पुगेको छ । जेठ ३१ अर्थात् आजसम्म त बजारले ३ हजार बिन्दु नै पार गरिसकेको अवस्था छ । यो तथ्यांकलाई हेर्दा एक वर्ष पनि नपुग्दै सेयर बजारले दोब्बरभन्दा बढी अंकको छलाङ मारेको छ । यसरी अस्वाभाविक रुपमा सेयर बजार परिसूचकले छलाङ मार्दा नेपाल स्टक एक्सचेन्ज मूकदर्शक भएर बस्न नहुने बजार विश्लेषक बताउँछन् ।

तर, नेपाल धितोपत्र बोर्डले भने बजार कारोबार र अंक दुवै अस्वाभाविक रुपमा बढ्नु सकारात्मक संकेत नभएको जनाएको छ । बोर्डका अनुसार कर्नरिङ, इन्साइडर ट्रेडिङजस्ता बदमासी गरेर बजार उकालो लागेको हो कि भन्ने सोचेका कारण बोर्डले अध्ययन गर्नका लागि सहसचिवको संयोजकत्वमा समिति बनाएको छ ।



लगानीकर्ताले भने पछिल्लो समयमा सेयर बजारमा अनलाइन कारोबार पनि गर्न पाइने भएकोले विदेशमा बसेका नेपालीले पनि यहाँको बजारमा लगानी गरेको र सोही कारण बजार उकालो लागेको दाबी गरेका छन् । 

‘पहिलेभन्दा अहिले बजार उकालो लाग्नुको कारण विदेशमा रहेका नेपालीले पनि सेयर बजारमा लगानी गरिरहेका छन् । जसको असर बजारको अंक र कारोबारमा परेको हो,’ नेपाल लगानीकर्ता संघका अध्यक्ष छोटेलाल रौनियारले भने,’ ‘तर, ती सबै सेयर कारोबार स्वच्छ प्रकृतिका छन् भन्ने ग्यारेन्टी म लिन सक्दिनँ ।’ 



बजारमा पूर्ण रुपमा स्वच्छ कारोबार भएकोमा नेपाल धितोपत्र बोर्ड नै विश्वस्त छैन । बोर्डमा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था अनुगमन विभागका कार्यकारी निर्देशक डा.गुणाकर भट्ट पनि सञ्चालक छन् । 

उनकै विशेष पहलमा अध्यक्ष भीष्मराज ढुंगानाले बजारबारे अध्ययन गर्नका लागि समिति बनाएका छन् । सो समितिले अध्ययन गरेर मौद्रिक नीतिअगावै सञ्चालक समितिमा प्रतिवेदन पेस गर्नेछ । 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीति ल्याएर बजारमा कडाइ गर्ने गरी अध्ययन भइरहेको नेपाल धितोपत्र बोर्डका एक अधिकारीले जानकारी दिएका छन् । आगामी मौद्रिक नीतिले सेयर बजारलाई कडाइ गर्ने खालका नीति अवलम्बन गर्ने उनले बताए । 

विगत एक वर्षमा नेप्से परिसूचक वृद्धिको अवस्था

महिना             परिसूचक
असार २५         १३३१.२७
साउन २५         १३९२.६
भदौ २५          १५२०.६
असोज २५       १५७६.२
कात्तिक २५    १६७८.७
मंसिर २५        १९६५.०२
पुस २५            २२३५.७
माघ २५            २५२४
फाल्गुन २५     २५३४.३
चैत २५            २६७१.६
वैशाख २५        २६१८
जेठ २५            २९६०.१४

  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार १७:२०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया