logo-img

५१ कम्पनीको सेयरमा कर्नरिङ भएको सेबोनको ठहर
तर, नेप्से भन्छ : नेपालको सेयर बजारमा कर्नरिङ हुँदैन

पछिल्लो समय सेयर बजारमा सेयर कर्नरिङ बढेको अत्यधिक चर्चाको विषय बनेको छ । सीमित व्यक्ति तथा समूहले कर्नरिङ गरी सेयर मूल्य बढाएको गुनासो लगानीकर्ताले गर्दै आएका छन् । यसरी लगानीकर्ताको गुनासो बढ्दै जाँदा बजारमा सेयर आपूर्ति कम भएका केही कम्पनीको मूल्यमा अस्वाभाविक वृद्धि हुँदै गएसँगै नेपाल धितोपत्र बोर्डले यसको छानबिनका लागि कमिटी नै गठन गरी अध्ययन थालिसकेको छ । जसको पहिलो चरणको अध्ययन सकिएको र अध्ययन प्रतिवेदन अर्थ मन्त्रालयमा पेस गरिएको बोर्डका उप–कार्यकारी निर्देशक डा. नवराज अधिकारीले बताए । 

‘लामो समय अगाडिदेखि जेठ २७ गतेसम्मको नेप्सेमा कारोबार हुने कम्पनीहरुको विस्तृत अध्ययन गरिएको थियो,’ उप–कार्यकारी निर्देशक अधिकारीले भने, ‘यसमा ५१ वटा कम्पनीको कारोबार, मूल्यलगायत अप्राकृतिक तथा अस्वाभाविक देखिएको छ, जसमा हाइड्रो पावर, माइक्रोफाइनान्स र फाइनान्स कम्पनी परेका छन् ।’

विगत केही वर्ष अघिदेखि राम्रो वित्तीय विवरण नभएका तथा विवरण नै प्रकाशित नगरेका कम्पनी बोर्डले सूचीकृत गरी अन्य विवरणसहित अर्थ मन्त्रालयमा प्रतिवेदन पेस गरिएको उनले जानकारी दिए ।

यसरी बोर्डले छानबिन कमिटी नै गठन गरी अध्ययन थालेसँगै सेयर बजारमा ५१ वटा कम्पनीको सेयर मूल्यमा उच्च चलखेल गरी अस्वाभाविक मूल्य वृद्धि गरिएको भेटिएको छ । जसमध्ये हाइड्रोपावर, माइक्रोफाइनान्स र फाइनान्स कम्पनीको सेयर मूल्यमा अप्राकृतिक वृद्धि गराई कारोबार भएको नेपाल धितोपत्र बोर्डले निष्कर्ष निकालेको हो । 

‘यस्ता कम्पनीको सेयरमा माग र मूल्य बढ्नु स्वाभाविक होइन, यसको छानबिन भइरहेको छ,’ बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले भने, ‘यो पहिलो चरणको अध्ययनले देखाएको विषय मात्र हो, थप अध्ययन जारी छ, कारबाहीको पक्ष पूर्ण रुपमा अध्ययन सकिएपछि हुन्छ ।’

‘सेयर कर्नरिङ भएको गुनासो आएको हो, तर वास्तविकता पत्ता नलगाई बोर्डले कारबाही गर्न अप्ठ्यारो हुन्छ,’ ढुंगानाले भने, ‘पछिल्लो समय जुन–जुन कम्पनीको अस्वाभाविक रुपमा मूल्य बढेको छ, ती कम्पनीको बोर्डले विस्तृत अध्ययन गर्दै छ, कर्नरिङ भएको हो–होइन र हो भने कसरी भएको हो ? त्यसको अध्ययन बोर्डले एक साताअघिबाटै सुरु गरेको छ ।’



सेयर कर्नरिङ भएको हो–होइन पत्ता लगाउन दरिलो आधार चाहिने भएकाले बोर्डले नेपाल स्टक एक्सचेन्जसँग समन्यव गरी अध्ययन गरिरहेको उनले बताए । गुनासो आएको वा कसैले भनेकै भरमा कर्नरिङ गरेको भनेर कारबाही गर्न नमिल्ने हुँदा वास्तविकता पत्ता लगाउन अघिल्लो साताबाट बोर्डले अध्ययन थालेको उनले जानकारी दिए ।

थोरै साधारण लगानीकर्ताको स्वामित्व भएको निश्चित व्यक्ति तथा समूहका स्वामित्व बढी भएको सेयरमा कर्नरिङ हुने आशंका बोर्डले गरेको छ । हल्लाको पछि लागेर दोस्रो बजारबाट हावाको भरमा सेयर कारोबार गर्नुभन्दा कम्पनी मूल्यांकन गरेर मात्र लगानी गर्न उनले लगानीकर्तालाई सुझाब दिएका छन् ।



पछिल्लो समय गोर्खा फाइनान्सलगायत केही संस्थाको सेयरमा कर्नरिङ भएको आशंका गरिएको छ । गोर्खा फाइनान्समा दीपेन्द्र अग्रवाल र उनको समूहले कर्नरिङ गरेको बताइन्छ । यद्यपि, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने नेपालमा हालसम्म सेयर कर्नरिङ नभएको प्रस्ट पारेका छन्।

‘रियल टाइममा डिमाण्ड र सप्लाई प्रत्येक लगानीकर्ताले आफ्नो युजरनेम र पासवर्ड लिएर किनबेच गर्न सक्छन्, कर्नरिङ हुने, थोरै सेयरको कृत्रिम डिमाण्ड र सप्लाई देखाउने कुरा भ्रम फैलाउने हल्ला मात्र हो,’ साउदले भने, ‘अहिले बजार भनेको वास्तविक लगानीकर्ताको हातमा छ, सूचनाका आधारमा इसाइडर ट्रेडिङको कुरा होला, त्योसँग सम्बन्धित हाम्रो देशमा नियम नै छैन ।’

सोसँग सम्बन्धित नियम नभएको हुँदा कर्नरिङ भएको आशंका गरेर अध्ययन तथा छानबिन गरी बजारमा नकारात्मक हल्ला फैलिन दिन नहुने उनको भनाइ छ । साउदका अनुसार, बोर्डले आएको गुनासोको आधारमा अध्ययन गर्नु स्वाभाविक भएको हुँदा र त्यसमा नेप्सेले समन्वय मात्रै गरिरहेको हो । तर, बजारमा केही कम्पनीको मूल्य धेरै माथि गएको, तर नेप्सेले हेरेन भन्ने विषय नितान्त अर्थहीन आक्षेप मात्र भएको पनि उनले स्पष्ट पारे । 

‘बोर्डले दैनिक कारोबारको तथ्यांक स्वयं नै हेर्न सक्छ भने माग गरेको तथ्यांक सूचना तुरुन्तै दिइरहेका छौँ, यसअघि अजोड, विशाल बजार कम्पनी, राष्ट्रिय बिमा, माउन्टेन इनर्जीलगायत कम्पनीको डाटा सेबोनमा पठाएका छौँ भने वित्तीय विवरण सार्वजनिक नगर्ने कम्पनीको कारोबार समेत रोक्का गरेका छौँ,’ साउदले भने, ‘मूल्य माथि गयो नेप्सेले हेरेन भनिएको छ । तर, एक कम्पनीको मूल्य कतिसम्म माथि जान पाउने वा नपाउने भनेर कहाँ तोकिएको छ ? शंका लागेमा धितोपत्र बोर्ड आफैँले पनि नेप्सेको डाटा हेर्न मिल्छ ।’

एकले अर्कालाई आक्षेप लगाउनुभन्दा बजारलाई व्यावहारिक रुपमा बुझेर मात्र लगानी गर्नुपर्ने उनको सुझाब छ ।

‘कर्नरिङ भएको रहेछ भने नेप्से सधैँ सचेत छ, जिम्मेवारी बहनबाट भाग्न मिल्दैन, हामी हेर्छौं, हामीले हेर्न मिल्ने सबै सेवोनले पनि हेर्न मिल्छ, उताबाट पनि हेर्न सक्छन्,’ साउदले भने, ‘सेयर बजारमा सूचनाको ठूलो भूमिका हुन्छ । तर, त्यसमा कर्नरिङ भयो र भएको हो भन्नलाई प्रमाण चाहिन्छ, विनाप्रमाण कर्नरिङ भएको हो, भनेर हामी भन्दैनौँ ।’

कर्नरिङ तथा सर्कुलर ट्रेडिङ भएको आशंका तथा गुनासोमा नेप्सेले धेरैपटक विस्तृत अध्ययन गरेको भए पनि सो नपाइएको उनले जानकारी दिए । अहिलेको अवस्थामा कुनै एक कम्पनीको सेयर मूल्य बढेकै भरमा कर्नरिङ भएको भनेर विनाप्रमाण जिम्मेवार निकायमा बसेर भन्न नमिल्ने उनको भनाइ छ ।

मूल्यमा अस्वाभाविक उतारचढाव हुँदा नेप्सेले यस्ता कुरालाई सिस्टमबाटै सर्किटब्रेक गरेर कन्ट्रोल गर्छ । प्रतिकारोबारमा २ प्रतिशतको तलमाथि र दिनभरको कारोबारमा १० प्रतिशतको उतारचढाबभन्दा बढीलाई सिस्टमले कन्ट्रोल गर्ने हुँदा सिस्टमभन्दा बाहिर गएको विषयमा मात्र सेबोनले प्रश्न गर्न मिल्ने बोर्डको ठम्याइ छ । 

‘बजारमा के हल्ला फैलिएको छ भनेर सुन्नुभन्दा लगानीकर्ताले लगानी गरिने कम्पनी कस्तो हो ? त्यसको प्रतिफल के आउँछ ? त्यो मूल्यांकन गर्न आवश्यक छ,’ साउदले थपे, ‘कसैले सेयर किन्छ वा बेच्छ भने किन ? भनेर प्रश्न गर्न मिल्दैन, यहाँ १ सय रुपैयाँको सेयर घटेर २०–२५ रुपैयाँ पुगेका पनि छन् भने सय रुपैयाँको सेयर बढेर हजारौँ रुपैयाँ पनि पुगेको छ ।’

साउदका अनुसार, अहिले चौतर्फी रुपमा व्यापार व्यवसाय बन्द भएको अवस्थामा सबै क्षेत्रका लगानीकर्ता पुँजी बजारमै लागेका छन् । जसकारण बजारको मागअनुसार अन्य कम्पनीसँगै स–साना पुँजी भएको कम्पनीको खरिद–बिक्री बढ्दा सेयर मूल्य बढेको उनको दाबी छ । 

नेपालको पुँजी बजार स्वतन्त्र अर्थतन्त्रमा चलेको बजार हो । बजारमा माग र आपूर्तिका आधारमा बिक्रीकर्ता र खरिदकर्ताले आफ्नो किसिमले मूल्य निर्धारण गर्ने हुँदा मूल्य बढ्यो भन्दैमा आत्तिनुपर्ने वा कर्नरिङ भएको भन्न नमिल्ने उनी बताउँछन् । 

 

  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १८:८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया