लगानी बोर्डको बैठकद्वारा ९७ अर्बको लगानी स्वीकृत

प्रधानमन्त्री एवम लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा लगानी बोर्डको ४७ औं बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न उक्त बैठकले अनुमानित लागत ५४ करोड अमेरिकी डलर रहेको माथिल्लो तमोर जलविद्युत परियोजना (२८५ मेगावाट) र अनुमानित लागत ३३ अर्ब ४१ करोड ४० लाख रहेको तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत परियोजना (१३९.२ मेगावाट) गरी दुई वटा जलविद्युत परियोजनाको करिब ९७ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ ।

बैठकले सार्वजनिक-निजी साझेदारी अवधारणामा झापाको दमकमा निर्माण हुने गरी प्रस्ताव गरिएको मुलुककै सबैभन्दा ठूलो औद्योगिक पार्क ‘चीन-नेपाल मैत्रीपूर्ण औद्योगिक पार्क’ को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत गरी विकासकर्तासँग परियोजना विकास सम्झौता (पिडिए) को लागि आवश्यक तयारी गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।

संखुवासभा जिल्लामा निर्माण हुने तल्लो अरुण जलविद्युत परियोजना (६७९ मेगावाट) को विस्तृत सम्भाव्यता अध्ययनका लागि सर्वेक्षण अनुमति पत्र जारी गर्न परियोजना विकासकर्ता एसजेभिएन लिमिटेड इन्डियासँग गरिने समझदारी पत्रको मस्यौदा समेत उक्त बैठकले स्वीकृत गरेको छ ।

त्यसैगरी, बैठकमा तमोर जलाशययुक्त जलविद्युत परियोजना (७५६ मेगावाट) को सर्वेक्षण अनुमति प्रदान गर्ने सम्बन्धमा देखिएका अस्पष्टताहरूलाई सम्बोधन गरी आवश्यक कानुनी सुधार गर्न ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

साथै, बैठकले पश्चिम सेती र एसआर-६ संयुक्त जलविद्युत परियोजनाको विकास तथा लगानीको खाका तयार गर्न अध्ययन गरी बोर्ड समक्ष सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षका संयोजकत्वमा एक समिति गठन गरेको छ ।



बैठकले अरुण-३ जलविद्युत परियोजना प्रवेश मार्ग अन्तर्गत छ्याङ्कुटी-दिदिङ खण्डमा पर्ने जग्गाको मुआब्जा उपलब्ध गराउने आवश्यक प्रक्रिया अघि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।

लगानी बोर्डको संस्थागत सुधार एवम कार्य प्रणाली व्यवस्थित गर्ने सम्बन्धमा विदेशी मुद्रा सटही एवम स्थानान्तरण सुविधा सिफारिस सम्बन्धी कार्यविधि-२०७८ स्वीकृत भएको छ ।



उक्त अवसरमा प्रधानमन्त्री ओलीले ऊर्जा सम्बन्धी परियोजनाको विकास गर्दा ऊर्जाको उत्पादन सँगसँगै प्रसारण प्रणाली समेतको निर्माण कार्यलाई अघि बढाइ परियोजनाको प्रभावकारी कार्यान्वयनमा आवश्यक समन्वय तथा सहजीकरण गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् । पम ओलीले उत्पादित ऊर्जाको स्वदेशमै खपत बढाउन औद्योगिक विकासलाई तीव्रता दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । 

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री एवम बोर्डका उपाध्यक्ष विष्णु पौडेलले लगानी बोर्डमा पेस गरिएका प्रस्तावहरूले मुलुकको आर्थिक विकासमा टेवा पु¥याउने बताए । त्यसका लागि प्रभावकारी कार्यान्वयनमा ध्यान पुर्‍याउनु पर्नेमा उनले जोड दिएका छन् । 

  • प्रकाशित मिति : असार ९, २०७८ बुधबार १६:८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया