युरो कप: रोनाल्डोलाई इतिहास रच्ने अवसर

युरो कप अन्तिम-१६ अन्तर्गत आइतबार (आज) दुई उपाधि दाबेदार मानिएका बेल्जियम र पोर्चुगल प्रतिस्पर्धा गर्दैछन् ।

खेल नेपाली समय अनुसार राति पौन १ बजे स्पेनको सेभिल्लामा हुनेछ । बेल्जियम समूह ‘बी’बाट विजेता र पोर्चुगल समूह ‘डी’बाट उत्कृष्ट तेस्रो हुने टोलीका रूपमा नकआउट चरणमा पुगेका हुन् ।

समूह चरणको तिनै खेलमा अपराजित रहेको बेल्जियम पोर्चुगल विरुद्ध पनि सोही नतिजालाई जारी राख्ने प्रयासमा हुनेछ । 

निकै लयमा देखिएका रोमेलु लुकाकुलाई रोक्न पोर्चुगललाई भने त्यति सहज हुने छैन ।

समूह चरणमा समान १ जित, बराबरी र हारको नतिजा निकालेको पोर्चुगल पनि बेल्जियमलाई स्तब्ध पार्दै क्वाटरफाइनल प्रवेश गर्ने दाउमा हुनेछ । 

यो खेल क्रिस्टियानो रोनाल्डोका लागि केही विशेष छ । किनभने उनले बेल्जियमविरुद्ध १ गोल गर्न सके भने उनी सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने पुरुष खेलाडी बन्नेछन् । 



रोनाल्डोले समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्ध २ गोल गर्दै इरानी खेलाडी अली दाइको १०९ गोलको कीर्तिमानसँग बराबरी गरेका थिए । 
लयमा देखिएका रोनाल्डोलाई रोक्नु बेल्जियमको मुख्य चुनौती हुनेछ । 

पोर्चुगल र बेल्जियमले हालसम्म १८ खेलमा एक अर्काविरुद्ध प्रतिस्पर्धा गरेका छन् । पोर्चुगल ६, बेल्जियम ५ खेलमा विजयी हुँदा ७ खेल बराबरीमा सकिएको छ ।



यी दुईको भेट पहिलोपटक सन् १९३० मा मैत्रीपूर्ण खेलका क्रममा भएको थियो । यो खेल बेल्जियमले २-१ ले जित्यो ।

मैत्रीपूर्ण खेल अन्तर्गत नै सन् २०१८ मा भएको भेटमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । 

युवा खेलाडीले भरिएका दुवै टोलीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अनुमान लगाउन सकिन्छ । 
 

  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार १२:४५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया