logo-img

अर्बाैँ अमेरिकी डलर स्वाहा, तर पनि छाएन शान्ति

आतंकवादी संगठन अलकायदाले आजभन्दा २० वर्षअघि गरेको भीषण हमलापछि तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसले अफगानिस्तानमाथि धावा बोलेको थिए । बुसपछि बिल क्लिन्टन, बाराक ओबामा र डोनाल्ड ट्रम्प प्रशासनले समेत अफगानिस्तानमा अलकायदा र तालिवानविरुद्ध अमेरिकाको संघर्ष जारी राख्यो ।
 
६ महिनाअघि निर्वाचित राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सैनिक पूर्ण रूपमा फिर्ता ल्याउने घोषणा गरे । अफगानिस्तानबाट जतिजति अमेरिकी सैनिक फिर्ता हुने क्रम बढेको छ, उतिउति तालिवान सक्रिय हुन थालेका छन् । तिनले भीषण आक्रमण सुरु गरेका छन् । 

तालिवान चाहन्छ, वर्तमान अफगान सरकारलाई बन्दुकको बलमा पूर्णतयार उखेलेर फाल्न सकियोस् । आफ्नो यही उद्देश्य पूरा गर्न तालिवानले अफगानिस्तानमा आतंक मच्चाउन थालेको छ । यतिसम्म कि तालिवानीहरू अहिले अफगान राजधानी काबुलको उत्तरी सीमामा पुगिसकेका छन् । तालिवानी आतंक रोक्न अफगान सेना पूर्णतः कमजोर साबित भइसकेको छ । अर्बौँ डलर खर्च, दुई दशक समय नाश, अनेक तालिम र चेतनाजस्ता क्रियाकलाप असफल सिद्ध हुँदै गएको देखिएको छ ।

अफगानिस्तानमा शान्ति स्थापना गर्न अमेरिका असफल भएकै हो ? ठूलो लगानीपश्चात् पनि किन तालिवानी आतंक रोकिएन ? यी प्रश्नहरूले संसारलाई यतिखेर उद्वेलित पारिदिएका छन् । शान्तिको कामना गर्ने मुलुकहरू आश्चर्यचकित बनेका छन् ।

सुरक्षाका नाममा अमेरिकाले खर्च गर्यो ८८ अर्ब डलर

अमेरिकाले गत वर्ष डिसेम्बरसम्ममा अफगानिस्तानलाई सुरक्षा मद्दत गर्न भनेर ८८ अर्ब डलर खर्च गरेको छ । यो वर्ष यस्तो सहयोग तीन अर्ब डलर घोषणा गरिएको छ ।

अफगानिस्तान युद्ध समाप्तिको घोषणा गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले भने, ‘यो अमेरिकाको सबैभन्दा लामो युद्धको अन्त्य हो । यो समय अमेरिकी सैनिक घर फर्कने समय हो ।’ बाइडेनले अफगानिस्तानका सुरक्षाबललाई लामो समयसम्म सुरक्षा सहायता उपलब्ध गराइरहने पनि बताउँदै यसबाट अफगानिस्तान पुनः आतंकवादीहरूको स्वर्ग नबन्ने जिकिरसमेत गरे । 



आतंककारीले अमेरिकामाथि हमला गर्न नसकून् भनेर सुरक्षा सहायता जारी राखेको उनको भनाइ थियो । सोही कारण अमेरिकामा ९/११ आक्रमणपछि जवाफ स्वरूप अफगानिस्तानमा हमला गरेको थियो । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले केही दिनअघि अफगान सेना आफ्नो सीमा र नागरिकको सुरक्षा गर्न निकै सक्षम भएको प्रतिक्रिया दिएका थिए । उनले आगामी दिनमा अफगान सेना र एयरफोर्सको मद्दत गरिरहने पनि बताएका थिए । 

अफगान सेना किन असफल भयो ?



अफगानिस्तानको सुरक्षामा अर्बौँ डलर खर्च भइसक्दा पनि त्यहाँको सेना अक्षम नेतृत्व, पलायन र कमजोरीसँग जुधिरहेको छ । अफगान सेनालाई तालिम दिने एकजना अमेरिकी जर्नेलले एनपिआर न्युज वेबसाइटसँग भने, ‘दुःखको कुरा के हो भने, अहिले पनि केक पूर्ण रूपमा पाकिसकेको छैन । हामीले आफ्नो धैर्य गुमायौँ र सैनिक फिर्तीको एकतर्फी घोषणा गरिदियौँ । हामी फिर्ता जानाले कतिपय क्षेत्रमा रिक्तता छाएको छ, त्यहाँ तालिवानीलाई मौका मिल्न गयो । अर्कोतिर त्यस्ता क्षेत्रमा अफगान सेनाको कुनै तयारी भएन । तिनको नेतृत्व निकै कमजोर छ । तालिवानसँगको युद्धमा थुप्रै अफगान सेना गुमेका छन्, जसका कारण सैनिकको मनोबल गिरेको छ ।’

उता, तालिवानीहरूले ८० प्रतिशत क्षेत्रमा आफ्नो पकड रहेको दाबी गरेका छन् । बाइडेनको सैनिक फिर्ती घोषणामाथि उनकै पार्टीका सांसदहरू प्रश्न गरिरहेका छन् । पेन्टागनकी अधिकारी तथा डेमोक्रेटिक पार्टी नेता एलिसा स्लोटिकनले आतंककारी पुनः एकजुट नहुने र अमेरिकी सहयोगीमाथि हमला नहुने निश्चित गर्न केही गर्नुपर्ने बताइन् । 

अमेरिका अफगानिस्तान बाहिर सक्रिय हुने

राष्ट्रपति बाइडेनले आतंकवादविरुद्धको अभियान अफगानिस्तान बाहिरबाट कायमै रहने बताएका छन् । बाइडेनको इशारा अन्य मुलुकमा रहेका आतंकवादीहरूतर्फ पनि थियो । बाइडेनले आफ्ना सैनिक फिर्ताको घोषणा गरे पनि तालिवानले अहिलेसम्म अलकायदासँगको सम्बन्ध तोडेको छैन । तालिवानी र अमेरिकाबीचको सम्झौतामा उनीहरुले अलकायदासँगको सम्बन्ध तोड्नुपर्ने एक शर्त थियो ।

तालिवानले अहिले पनि अलकायदासँग मिलेर पूर्वी अफगानिस्तानमा हमला गरिरहेको छ । अफगानिस्तानको हेलमन्द प्रान्तमा अमेरिकी र अफगानी सेनाको हवाई हमलामा अलकायदालाई निशाना बनाइसकिएको छ । सिआइएका पूर्वडाइरेक्टर तथा अफगानिस्तानमा अमेरिकी सेनाको नेतृत्व गरिसकेका जनरल डेभिड पेट्रियस भन्छन्, ‘आतंकवादीहरूको विस्तार निकै चिन्ताको विषय हो । तालिवान सैन्य रूपमा मजबुत हुने र उसले आफ्ना आतंकवादी गुटलाई सक्रिय रहने अनुमति दिन सक्छ ।’ 

अमेरिकी रक्षा विशेषज्ञ फ्रेड कागनले अमेरिकाले अबका दिनमा ‘रियल टाइम’ जासुसी गर्न नसक्ने बताए । उनका अनुसार अब अमेरिकाको हमला गर्ने क्षमता पनि सीमित हुँदै जाने छ ।

(एजेन्सीकाे सहयाेगमा)

  • प्रकाशित मिति : असार १४, २०७८ साेमबार १४:४५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया