संसद विघटनविरुद्धको रिटमा २७ घण्टामा ६८ जनाको बहस, अब ७ घण्टा बाँकी

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतमा बहस जारी छ। संवैधानिक इजलासमा असार ९ गतेबाट नियमित बहस भइरहेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितले दर्ता गरेको रिट निवेदनमा शुक्रबारसम्म पक्ष र विपक्षमा बहस सकिएको छ।

रिट निवेदनको पक्षका कानुन व्यवसायीले पाएको १२ घण्टा र विपक्षी अर्थात सरकार पक्षका कानुन व्यवसायी पाएको १५ घण्टाको समय सहिएको छ।  

रिट निवेदक तर्फबाट ३६ जनाले बहस गरेका थिए । प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा ३२ जनाले बहस गरे । अब सभामुखको तर्फबाट बहसका लागि २ घण्टाको समय दिइएको छ । रिट निवेदक पक्षलाई ३ घण्टा जवाफी बहस गर्ने समय तोकिएको छ।  त्यसपछि रायका लागि इजलासले झिकाएका ४ एमिकस क्युरीले २ घण्टा बहस गर्नेछन् । इजलासले तोके अनुसार अब यो रिटमा बहसका लागि ७ घण्टाको समय बाँकी छ।  

निवेदक पक्षको ४ र विपक्षी ५ दिन बहस

रिट निवेदक पक्ष र विपक्षीलाई बहसका लागि संवैधानिक इजलासले १५–१५ घण्टाको समय तोकेको थियो । सोही अनुसार बहसमा सहभागी हुने वकिलको व्यवस्थापन गर्न भनिएको थियो । 

निवेदक पक्षलाई सुरुमा १२ घण्टा र विपक्षीको बहस सकिएपछि जवाफी बहसका लागि ३ घण्टाको समय तोकियो। 



रिट निवेदक पक्षको बहस ४ दिनसम्म चल्यो । निवेदक पक्षका कानुन व्यवसायीले पाएको १२ घण्टाको समयमा असार ९, १०, ११ र १३ गतेसम्म बहस गरे। 

जसमा असार ९ गते ५ जना, १० गते ९ जना, ११ गते ६ जना र १३ गते १६ जना गरी ३६ जनाले बहस गरेका थिए।  



गत सोमबार अर्थात १४ गतेबाट रिट निवेदनको विपक्षमा बहस सुरु भएको थियो। पहिलो दिनको पूरै समय महान्यायाधिवक्ता रमेश बडालले एक्लैले बहस गरे। 

त्यसपछि मंगलबार नायब महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेय, नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र नायब महान्यायाधिवक्ता श्याम कुमार भट्टराई लगायतले बहस गरेका थिए। 

बुधबार तीन सह महान्याधिवक्ता र तीन निजी कानुन व्यवसायीले सरकारको पक्षमा बहस गरे।

सह महान्यायाधिवक्ता गोपाल प्रसाद रिजाल, सह महान्याधिवक्ता संजीवराज रेग्मी, सह महान्याधिवक्ता लोकराज पराजुलीले बहस गरे। त्यसपछि सरकारको पक्षमा निजी वकिलहरूले बहस सुरु गरेका थिए। 

बुधबार वरिष्ठ अभिवक्ता सुशील पन्त, बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र विजयकान्त मैनाली बहस गरे। 

बिहीबार बरिष्ठ अधिवत्ताहरु अग्नि खरेल, सुरेन्द्र महतो,  अधिवक्ता परशुराम कोइराला, सुवास आचार्यले बहस गरे। त्यसैगरी बरिष्ठ अधिवक्ता महेश नेपाल, टंक दुलाल, रवि नारायण खनालले पनि बिहीबार बहस गरे।

शुक्रबार ११ जना बहसमा सहभागी भए । समय भने १० मिनेट र ७ मिनेट मात्रै तोकिएको थियो । वरिष्ठ अधिवक्ता रमेश गुरागाई, बिष्णुमणि अधिकारीले बहस गरे ।त्यसैगरी अधिवक्ताहरू ईश्वरी भट्टराई, भोजराज आचार्य, बाबुराम दाहाल, सिपी रेग्मी, बलबहादुर राई, शान्तिदेवी खनाल, बिष्णुमाया भुसाल, अनन्त लुइँटेल, लोकनाथ खरेलले बहस गरे।
 
सरकार पक्षले पाएको १५ घण्टाको समयमा ७ घण्टा ३० मिनेट सरकारी वकिल र ७ घण्टा ३० मिनेट निजी वकिलका लागि छुट्याइएको थियो । जसमा ११ सरकारी वकिल र २१ निजी वकिलले प्रधानमन्त्री र राष्ट्रपतिको पक्षमा प्रतिरक्षा बहस गरे।

कहिले सकिएला बहस ?

अब आइतबार सभामुख पक्षको बहस सकिएर रिट निवेदक पक्षको जवाफी सुरु हुने देखिन्छ । सोमबार जवाफी सकिने देखिन्छ । एमिकस क्युरीको २ घण्टाको बहसमसेत गर्दा बहस मंगलबार मात्रै सकिने देखिन्छ । 

  • प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार १४:२४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया