logo-img

नेपालमा एक दिनमा ६ जना बलात्कृत, ३ जना बालिका

नेपालमा १६ वर्ष भन्दा मुनिका बालिकाहरू धेरै बलात्कृत हुने गरेको तथ्यांकले देखाएको छ । बलात्कारका कुल घटनामध्ये करिब ५१ प्रतिशत पीडित १६ वर्षमुनिका बालिका हुने गरेको प्रहरीको आँकडाले देखाएको छ । 

तीमध्ये १० वर्ष मुनिका बालिकाको संख्या पनि उल्लेख्य छ । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार दर्ता भएका बलात्कारका घटनामध्ये एकतिहाइ पीडित १० वर्ष मुनिका बालिका छन्।

पछिल्लो तीन वर्षमा कुल ६५३४ वटा बलात्कारको घटना  प्रहरीमा दर्ता भएको देखिन्छ । जसमध्ये १६ वर्ष मुनिका ३३४७ जना बालिका बलात्कृत भएका छन् । 
यो तीन वर्षमा कति प्रतिशत बालिका बलात्कृत भएको तथ्यांक हेर्ने हो भने ५१ प्रतिशत भन्दा रहेको तथ्यांक छ । 

३ वर्षमा ३३४७ बालिका बलात्कृत

प्रहरी मुख्यालयले दिएको तथ्यांकमा चालू आर्थिक वर्षमा मात्रै १०८६ जना बालिका बलात्कृत भएका छन् । जसमा १० वर्ष मुनिका २४२ बालिका बलात्कृत भएका छन् भने ११ वर्ष भन्दामाथि र १६ वर्ष भन्दा मुनिका ८४४ जना बालिका बलात्कृत भएको तथ्यांक छ।

यसरी प्रहरीको पछिल्लो तीन वर्षको तथ्यांक हेर्ने हो भने कुल ३ हजार ३४७ जना बालिका बलात्कृत भएका छन् । जसमा १० वर्ष भन्दा मुनिका ८१३ जना र ११ वर्ष भन्दामाथि र १६ वर्षभन्दा मुनिका २५३४ जना छन् । 



कुन आर्थिक वर्षमा कति ?

आर्थिक वर्ष ०७५/०७६ देखि चालू आर्थिक वर्षको ०७७ /०७८ मा १६ वर्ष भन्दा मुनिका करिब साढे तीन हजार बालिका बलात्कृत भएका छन्। 
आर्थिक वर्ष ०७५/०७६ मा १ हजार १८७ जना, ०७६/०७७ मा १ हजार ७४ जना र चालू आर्थिक वर्षमा १०८६ जना बालिका बलात्कृत भएको प्रहरी तथ्यांकमा छ ।  



प्रतिशतमा हेर्दा 

तीन वर्षमा भएको बलात्कारका घटनाको प्रतिशतमा हेर्ने हो भने अघिल्लो आर्थिक वर्षमा सबै भन्दा धेरै बालिका बलात्कृत भएका छन् । ०७५/०७६ मा  ५२.६६ प्रतिशत, ०७६/०७७ मा ४९.५६ प्रतिशत र चालू आर्थिक वर्षमा ५०.८१ प्रतिशत १६ वर्षमुनिका बालिकाहरू बलात्कारको शिकार भएका छन् । 

प्रत्येक दिन ३ जना बालिका बलात्कृत 

तीन वर्षमा प्रहरीमा दर्ता भएका ६५३४ घटनालाई आधार मान्दा नेपालमा दैनिक करिब ६ जना महिला बलात्कृत हुने गरेको देखिन्छ ।  यसमा बालिकाको आधा भन्दा बढी अर्थात कम्तिमा ३ रहेको प्रहरीको तथ्यांकले देखाएको छ । 

उमेर समूहमा हेर्दा ११ वर्ष भन्दा माथि र १६ वर्ष भन्दा मुनिका बालिका सबैभन्दा धेरै बलात्कारको शिकार बनेको पाइन्छ । 
 

के छ सजाय ?

नेपालको कानुनले बलात्कार कसुरमा उमेर समूहका  आधारमा सजाय तोकेको छ । साथै बलात्कृत व्यक्तिको शारीरिक मानसिक अवस्थालाई पनि आधार बनाइएको छ ।  बालबालिकालाई बलात्कार गरेमा कडा सजायको व्यवस्था कानुनमा छ । मुलुकी अपराध संहिता २०७४ मा करणी सम्बन्धी कसुरमा निम्न बमोजिमको सजायको व्यवस्था छ ।

१० वर्षमुनिका बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा ७० वर्ष भन्दा बढीका महिलालाई जबरजस्ती करणी गरेको प्रमाणित भएमा जन्मकैद हुने व्यवस्था छ । 
त्यसैगरी १० वर्ष देखि १४ वर्ष मुनिका बालिका भए १८ देखि २० वर्षसम्मको कैदको सजायको व्यवस्था छ । १४ वर्ष देखि माथि र १६ वर्ष मुनिका बालिकालाई बलात्कार गरेको प्रमाणित भएमा १२ देखि १४ वर्षसम्म कैद सजाय हुने प्रावधान छ ।

घटना न्यूनीकरणका लागि सरकारका तर्फबाट प्रयास गरिएको भए पनि बलात्कारका घटनामा कमि आएका देखिँदैन । अहिलेको प्रयास पर्याप्त नभएको पूर्व प्रहरी अधिकारी हेमन्त मल्ल बताउँछन् । 

यौन हिंसालाई न्यूनीकरण गर्न भन्दै सरकारले विभिन्न कार्यक्रम त गरिरहेको छ, केही परिमार्जन गर्नुपर्ने जरुरी देखिन्छ’ मल्ल भन्छन्, ‘विशेषगरी हिंसा बढी हुने क्षेत्र पहिचान् गरी लक्षित कार्यक्रम सञ्चालन हुनु आवश्यक छ।’

बलात्कार जस्तो हिंसाको छाप पीडितको जीवन भर पर्छ । उसको मात्रै नभएर उसका परिवार, आफन्त र भावी सन्ततिलाई समेत असर गर्ने मल्ल बताउँछन् । यस्ता घटना नियन्त्रणका लागि सामाजिक अभियान चलाउनु पर्ने उनको भनाइ छ । 

  • प्रकाशित मिति : असार १९, २०७८ शनिबार १९:२८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया