विप्लव समूह फुकुवाको चार महिना : के-के भए उपलब्धि ?
सहमति कार्यान्वयनमा किन हुँदैछ ढिलाइ ?

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा प्रतिबन्ध फुकुवा भएर शान्तिपूर्ण राजनीतिमा आएको आज ठ्याक्कै चार महिना पुग्यो । गत २१ फागुन ०७७ मा सरकारसँगको वार्तापछि महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका थिए । दुई वर्ष भूमिगत राजनीतिपछि सार्वजनिक हुँदै गर्दा सरकारसँग यो समूहले तीन बुँदे सहमति गरेको थियो । चार महिना बित्दा पनि सहमति कार्यान्वयन नहुँदा विभिन्न टिकाटिप्पणी सुरु हुन थालेका छन् । 

संसदवादी दलहरु यतिबेला सत्ताको जोड घटाउमा व्यस्त रहे पनि झण्डै दुई वर्ष लामो भूमिगत राजनीतिक जीवनबाट मुक्त भएर खुला राजनीतिमा आइपुगेका विप्लव भने मौन छन् । पार्टी तीन बुँदे सहमतिप्रति पूर्ण प्रतिबद्ध रहेको बताउँदै विप्लवले आफूहरु पार्टीको राजनीतिक–सङ्गठनात्मक काममा व्यस्त रहेको बताएका छन् । पार्टीका विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतका शीर्ष नेताहरु सार्वजनिक कार्यक्रममा समेत देखिएका छैनन् ।

उनीहरुले खुला राजनीतिमा आएयता कुनै गतिविधि देखाउन सकेका छैनन् । खुला राजनीतिमा आइसकेपछि विप्लव नेतृत्वको नेकपाले राजनीतिक अभियान सञ्चालन गर्ने, ठाउँठाउँमा सभा आयोजना गर्ने, संगठन निर्माणमा लाग्ने धेरैको अनुमान थियो । कतिपयले त विप्लव समूह सत्ताको जोड घटाउमा सहभागी हुने समेत आँकलन गरेका थिए ।

तर, अहिले विप्लव समूह गुमनाम भएपछि कतै ओलीले झुक्याएका त होइनन् ? भन्ने प्रश्न पनि राजनीतिक वृत्तमा उठ्न थालेको छ । यसलाई थप पुष्टि आइतबार (हिजो) पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले गरे । आइतबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा प्रकाण्डले सहमति कार्यान्वयन भएन भने त्यसको मूल्य सरकारले चुकाउनुपर्ने चेतावनी दिए । सरकारसँग गरिएको सम्झौताको कुनै नतिजा नआएपछि विप्लव नेकपाको राजनीतिक महत्व घटेको हो भन्ने प्रश्नमा उनले यसमा कुनै सत्यता नभएको दाबी गरे । 

‘यो कस्तो प्रेम भयो, जुन र घामको...!’
राष्ट्रिय सभागृहबाट २१ फागुनमा सार्वजनिक हुँदै गर्दा महासचिव विप्लवले कर्णालीतिर गाइने एउटा गीत सुनाएका थिए । उनले ‘यो कस्तो प्रेम भयो, जुन र घामको...कहिल्यै भेट नहुने’ कर्णालीतिर यस्तो गीत गाइन्छ भन्दै केही शब्द खर्चिएका थिए । गीतले त्यस्तो भनेपछि सरकार र आफूहरु सहमतिमा पुग्नु घाम र जुनको भेट भएजस्तै भएको उनको भनाइ थियो ।

साथै, सरकारसँग भएको सहमतिबारे उनको उद्घोष थियो, ‘कम्युनिस्ट विद्रोहका मात्रै योद्धा होइनन्, शान्तिका दूत पनि हुन् । सहमति पालना गर्छौँ ।’ सभागृहबाट प्रधानमन्त्रीकै अगाडि यति भनेर हिँडेका विप्लव त्यसपछि भने आफ्ना सहमति कार्यान्वयनमा ढिलाइ भएकोप्रति असन्तुष्ट छन् ।



विप्लवले आफू सार्वजनिक भएको दिनलाई ‘एउटा नयाँ दिन’ पनि भनेका थिए । आफू सार्वजनिक भएपछि सम्झौताअनुसार उनले हेमन्त प्रकाश ओली र माइला लामासहितका नेताहरु जेलबाट तुरुन्तै छुट्ने अपेक्षा गरेका थिए । त्यही अपेक्षाअनुसार उनी गृह जिल्ला कपिलवस्तुतिर लागेका थिए । तर, अहिलेसम्म पनि सरकासँग भएका सम्झौताहरु कार्यान्वयन हुन सकेका छैनन् । 

सहमति कार्यान्वयनमा किन हुँदैछ ढिलाइ ?
सरकारसँग सहमति भएको ४ महिना बितिसक्यो । सहमति कार्यान्वयन र सहजीकरणको जिम्मा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार एवम् वार्ता समितिका सदस्य राजन भट्टराईलाई दिइएको छ । 



सोही विषयमा छलफल गर्नका लागि विप्लव समूहका प्रवक्ता एवम् वार्ता टोलीका प्रमुख प्रकाण्डले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट पनि गरे । छलफलमा नेता, कार्यकर्ताको रिहाइ र उनीहरुमाथि लगाइएको मुद्दा खारेजी गर्नेबारे प्रधानमन्त्रीसँग छलफल भएको उनले बताए । प्रधानमन्त्रीले भेटघाटका क्रममा जारी लकडाउन र वर्तमान राजनीतिक संकटका कारण केही ढिलो भएको जानकारी प्रकाण्डलाई गराएका थिए । 

यसबारे हामीले सरकारका तर्फबाट वार्ता समितिका सदस्य भट्टराईलाई कहाँ पुग्यो सहमति कार्यान्वयनको विषय ? भनेर प्रश्न राखेका थियौँ । फरकधारले राखेको प्रश्नको जवाफ दिँदै भट्टराईले भने, ‘उहाँहरुको मुद्दा फिर्ता लिने प्रक्रिया अगाडि बढेको छ । त्यसलाई टुङ्ग्याउनुपर्छ ।’

कानुनी कामहरु केही बाँकी भएका कारण मुद्दा फिर्ताको काम अड्किएको भट्टराईले बताए । उनले थपे, ‘केही कानुनी काम थाँती रहेकाले त्यसलाई टुंग्याउने कुरा बाँकी छ । अब त्यो कुरा सरकारले टुंग्याउने भन्ने भएको छ ।’ 

सहमति कार्यान्वयन हुने स्पष्ट पार्दै भट्टराईले भने, ‘सहमति कार्यान्वयन छिटोभन्दा छिटो गर्ने भन्ने कुरा भएको छ । त्यो गरिन्छ ।’ सहमति कार्यान्वयनमा शंका उत्पन्न भएको चर्चाहरु पनि सुनिन थालेका छन् नि ? भन्ने फरकधारको अर्को प्रश्नमा भट्टराई जवाफ दिन्छन्, ‘उहाँ (प्रकाण्ड)ले नै भन्नुभएको छ नि प्रधानमन्त्रीसँग कुराकानी भएको छ, राम्रो कुरा भयो, सहमति भएको छ, छलफल सकारात्मक भएको छ, भन्नुभयो त उहाँले ।’

गृहमन्त्री फेरिएपछि समस्या
सहमति कार्यान्वयनमा ढिलाइ भएको भन्दै विप्लवले नै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइरहेका छन् । उनी आफू भौतिक रुपमा उपस्थित नभए पनि निकटस्थहरुलाई सक्रिय बनाएर ओलीलाई मुद्दा फिर्ताबारे भनिरहेका छन् । ‘उहाँ (विप्लव)ले सहमति कार्यान्वयनबारे चासो राखिरहनुभएको छ,’ प्रकाण्डनिकट एक नेताले फरकधारसँग भने,  ‘यसअघि यसबारे सम्पूर्ण जिम्मा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई दिइएको थियो । तर, उहाँ नै पदबाट हटेपछि झनै समस्या देखिएको हो ।’

सरकार आफैं आन्तरिक द्वन्द्वमा फसेका कारण पनि आफूहरुको मुद्दा ओझेलमा परेको ती नेताको बुझाइ छ । ‘गृहमन्त्री हटेपछि राजन भट्टराईलाई पहल गर्नु भनेर सम्पूर्ण जिम्मा दिइएको छ । अहिले सकारात्मक छ भनेर बुझौँ, नभए झनै गाह्रो हुन्छ,’ सहमति कार्यान्वयन नभए समस्या उत्पन्न हुन सक्ने संकेत गर्दै उनले भने ।

प्रकाण्डलाई सन्चो थिएन...
वार्ता टोलीको संयोजकसमेत रहेका प्रवक्ता प्रकाण्ड केही समयदेखि सार्वजनिक रुपमा देखिएका थिएनन् । उनी निकट स्रोतका अनुसार उनी बिरामी परेर केही दिन बाहिर निस्केनन् । कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएपछि होम आइसोलेसनमा बसेका थिए । 

‘वार्ताको मुभ गर्ने मान्छे उहाँ (प्रकाण्ड) नै हो । उहाँ नै बिरामी परेपछि पनि केही गाह्रो त भयो,’ प्रकाण्ड निकट स्रोतले भन्यो, ‘स्वास्थ्य अवस्था कमजोर भएका कारण पनि आन्तरिक रुपमा वार्ताको काम गर्न असजिलो भएको थियो ।’  

प्रकाण्ड अहिले पूर्ण रुपमा स्वस्थ भइसकेका छन् । स्वास्थ्यावस्था ठीक हुनेबित्तिकै आइतबार प्रधानमन्त्री ओलीलाई भेट्न उनी बालुवाटार पुगेका थिए भने पत्रकार सम्मेलनमार्फत आफ्ना कुराहरु राखेका थिए । 

सार्वजनिक भएपछि के-के गरे विप्लवले ?
२१ फागुनमा सार्वजनिक भएपछि आफ्ना नेताहरु जेलबाट छुट्ने अपेक्षासहित महासचिव विप्लव गृह जिल्ला कपिलवस्तुतिर लागे । तर, सरकारले सम्झौता अनुसार नेता–कार्यकर्ता नछाडेपछि उनले मन दुखाए । त्यसपछि, २५ फागुनसम्म कुनै सार्वजनिक कार्यक्रममा देखा परेनन् । कपिलवस्तुको शिवगढीमा आयोजित सार्वजनिक कार्यक्रममा देखिए । त्यसपछि गुमनाम रहेका विप्लव २ हप्तासम्म सुस्ताएका थिए ।
 
सार्वजनिक हुनेबित्तिकै राजनीतिक व्यस्तता बढाएका विप्लवले दुई साताको विश्रामपछि भेटघाटमा सक्रियता बढाए । ९ र १० चैतमा उनले काठमाडौंमा प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई भेटे । ९ चैत, सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका उनले भोलिपल्ट सरकारका मन्त्रीदेखि विभिन्न नेताहरुलाई भेट्न भ्याए । 

विप्लवले नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’सँग राजधानीमा भेटे । ०७७ साल १४ पुसमा विप्लवसहितका ४ साना दलले रणनीतिक मोर्चा बनाएका थिए । वैद्यसँगको भेटमा उनले संयुक्त रणनीतिक मोर्चाको आगामी जिम्मेवारी र कार्यक्रम कसरी अगाडि बढाउने भन्नेबारे छलफल गरेका थिए ।  

त्यसपछि विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितको टोली गृहमन्त्री रामबहादुर थापालाई भेट्न मन्त्री निवास पुल्चोक पुगेको थियो । विप्लवले २१ फागुनमा भएको सहमति कार्यान्वयन छिटोभन्दा छिटो गर्नका लागि गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । आफ्नो पक्षका नेताहरुलाई चाँडोभन्दा चाँडो रिहाइ गर्ने सहमति स्मरण गराउँदै त्यसमा गम्भीर भएर तत्काल सहमति पूरा गर्न विप्लवले सोहीबखत माग गरेका थिए । 

बादलसँगको भेटवार्तापछि विप्लवको भेट खानेपानी मन्त्री मणि थापासँग भएको थियो । ‘पुल्चोकस्थित मन्त्री क्वार्टरमै पुगेपछि उहाँ (मणि थापा) पनि त्यहीँ हुनुहुन्छ भनेपछि प्रसंगवश भेटघाट भएको हो,’ त्यहीबेला फरकधारसँग विप्लवनिकट नेताले भनेका थिए । 

विप्लवसँग सरकारको वार्ता गराउन पनि मन्त्री थापा सक्रिय थिए । जेलमा रहेका नेताहरुसँग भेटघाटदेखि सरकारसँग वार्ताका लागि वातावरण बनाउन पनि उनले भूमिका खेलेका थिए ।

प्रधानमन्त्रीसँगको दुई भेट
२१ फागुनपछि प्रधानमन्त्री ओलीसँग विप्लवले भौतिक रुपमा दुईपटक भेटघाट गरे । सार्वजनिक भएको २० दिनपछि प्रधानमन्त्री कार्यालयमा पुगेर विप्लवले ९ चैतमा पहिलोपटक भेट गरेका थिए । त्यसपछि उनले ५ वैशाख ०७८ मा अर्को भेट गरे । सरकारसँग भएको समझदारी अनुसार बन्दीको रिहाइ नभएको गुनासोसहित उनले ओलीलाई भेटेका थिए । भेटमा पार्टी प्रवक्ता प्रकाण्ड पनि सहभागी थिए ।

प्रधानमन्त्री ओलीले केही कानुनी प्रक्रिया पूरा गरेर कैदीबन्दी रिहाइको प्रक्रिया सुरु हुने जवाफ विप्लवलाई दिएका थिए । कैदीबन्दी रिहाइमा ढिलो भएको भन्दै विप्लवले यसअघि ९ चैतमा पनि प्रधानमन्त्री ओलीलाई भेटेर गुनासो गरेका थिए ।

विप्लव समूहका १२३ जना नेता–कार्यकर्ता अझै कारागारमा छन् । अनुसन्धानका लागि हिरासतमा राखिएकाहरु भने छुटेका छन् । विप्लव समूह र सरकारबीच २० फागुनमा नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता–कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।

अहिले कहाँ छन् विप्लव ?
महासचिव विप्लव अहिले गृहजिल्ला कपिलवस्तुमै छन् । कोरोना महामारीको अवस्था घटेसँगै उनी चाँडै काठमाडौं आउने तयारीमा छन् । सरकारसँग भएका वार्ताका कामहरु सबै प्रकाण्डलाई जिम्मा लगाएका कारण अहिले उनी पार्टी संगठन निर्माणको काममा सक्रिय छन् । 

‘कोरोना महामारी नभएको भए देशभरि हिँड्नुहुन्थ्यो, जोजो साथीहरु जहाँ छन् त्यहीँबाट उत्पादन गर्ने र आत्मनिर्भरताको दिशामा लाग्नुपर्छ भन्ने स्पष्ट नीति पार्टीको छ,’ प्रकाण्डसँगै रहने एक नेताले भने, ‘जति पनि वार्ताका काम छन्, ती सबै प्रकाण्डलाई जिम्मा दिइएको छ । त्यो हुँदा पार्टी संगठनमा विप्लव र बाह्य काममा प्रवक्ता केन्द्रित हुने भन्ने नीतिअनुसार नै लागिएको हो । अहिले उहाँ (विप्लव) कपिलवस्तुमै हुनुहुन्छ । देशभर कार्यक्रमहरु चलाइएको छ ।’

  • प्रकाशित मिति : असार २१, २०७८ साेमबार १२:५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया