कोपा अमेरिकाको उपाधिका लागि चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिना भिड्दैछन् । विश्वकप फुटबलमा सर्वाधिक सफल ब्राजिल र कोपा अमेरिकामा उरुग्वेपछि सर्वाधिक सफल अर्जेन्टिना एकअर्काविरुद्ध जित निकाल्दै आफ्नो खातामा उपाधि थप्नका लागि तयार छन् ।
देशका लागि उपाधिको भोकसँगै यसपटकको कोपा अमेरिकाको फाइनल दुई स्टार फुटबलर लियोनेल मेस्सी र नेइमारबीच हुने प्रतिस्पर्धाका रुपमा पनि चर्चित छ । सामाजिक सञ्जालमा त मेस्सी भर्सेस नेइमारकै रुपमा यस खेललाई चित्रण गरिएको छ ।
कोपा अमेरिकाको पहिलो सेमिफाइनलमा पेरुमाथि १–० को जित हाँसिल गर्दै ब्राजिल फाइनलमा पुगेको हो । अर्जेन्टिनाले दोस्रो सेमिफाइनलमा कोलम्बियामाथि पेनाल्टी सुट आउटमार्फत जित निकाल्दै ब्राजिलसँग उपाधि भिडन्त पक्का गरेको थियो ।
फाइनलमा स्थान पक्का गरेपछि ब्राजिलका कप्तान नेइमारले अन्तिम सेमिफाइनल खेल अघि नै आफूले अर्जेन्टिनासँग फाइनल खेल्न चाहेको कुरा व्यक्त गरे । नेइमारले भनेका थिए, ‘अर्जेन्टिनामा मेरा साथी छन् ।’
नेइमारले ७ वर्ष अघि स्पेनिस क्लब बार्सिलोनाबाट च्याम्पियन्स लिगमा डेब्यु गरेका थिए । उनले डेब्यु गरेको उक्त खेलमा बार्सिलोनाले ४-० ले एक्जासलाई पराजित गरेको थियो । उनले ‘साथी’ भनेर लियोनल मेस्सीलाई भनेका थिए । उनीहरु दुवै जना पहिले बार्सिलोना क्लबबाट सँगै फुटबल खेल्ने गर्दथे ।
१४ वर्षपछि आमनेसामने ब्राजिल र अर्जेन्टिना
यी दुई टोली फुटबलमा चिरपरिचित प्रतिद्वन्द्वी हुन् । यी दुई टोलीका समर्थक नेपालमा पनि अत्यधिक रहेका छन् । ब्राजिल र अर्जेन्टिनाका समर्थक एक अर्काको प्रतिद्वन्द्वीको रुपमा सामाजिक सञ्जालमा अहिले बहस गरिरहेका छन् ।
फिफाका अनुसार अन्तर्राष्ट्रिय खेलका लागि यी दुई टोली १०५ पटक आमनेसामने भएका छन् । जसमा ४१ पटक ब्राजिलले जित हात पारेको तथा ३८ पटक अर्जेन्टिनाले बाजी मारेको थियो । यी दुई टोलीको २६ खेल भने बराबरीमा सकिएको छ ।
ब्राजिल र अर्जेन्टिना विश्वकपको खेलमा भने चार पटक आमनेसामने भएका छन् । जसमा ब्राजिलले २ खेलमा जित हात पारेको छ । एक खेल अर्जेन्टिनाले आफ्नो पोल्टामा पारेको थियो भने एक खेल बराबरीमा सकिएको थियो ।
उपाधि भिडन्त पक्का गरेका ब्राजिल र अर्जेन्टिनाबीच यसअघि कोपा अमेरिकाका खेलहरुमा ३३ पटक भिडन्त भइसकेको छ । जसमा अर्जेन्टिनाले १५ खेलमा जित हात पारेको छ भने १० खेलमा ब्राजिलले जित हात पारेको छ । त्यस्तै यी दुई टोलीबीचको ८ खेल भने बराबरीमा सकिएको छ ।
कोपाको इतिहासमा ब्राजिलभन्दा अर्जेन्टिना बलियो देखिएको छ । इन्टरनेटमा प्राप्त जानकारी अनुसार कोपा भिडन्तका ३३ खेलमा अर्जेन्टिनाले ५२ गोल गर्दा ब्राजिलले जम्मा ४० गोलमात्रै गरेको छ । तर, पछिल्लो पटक सन् २००७ को कोपा अमेरिकाको फाइनलमा भएको भेटमा भने ब्राजिलले ३-० ले बाजी मारेको छ ।
अमेरिकी फुटबलसँगै विश्व फुटबलमा दबदबा बनाएका ब्राजिल र अर्जेन्टिना बीचको खेल प्रतिस्पर्धात्मक हुने भएकाले यी दुई बीचको खेलमा छुट्टै सनसनी पैदा हुने गरेको छ । कोपा अमेरिकाको फाइनल खेलमा मात्रै पनि यी दुई टोली ३ पटकसम्म भिडिसकेका छन् ।
सन् १९३७ मा भएको फाइन भिडन्तमा अर्जेन्टिनाले ब्राजिललाई २-० ले पराजित गरेको थियो । २००४ मा ब्राजिलले ४-२ गोलले अर्जेन्टिनालाई परास्त गरेको थियो । यस्तै, २००७ मा पनि ब्राजिलले अर्जेन्टिलालाई ३-० ले परास्त गर्दै उपाधि हात पारेको थियो ।
सन् २००४ को फाइनलमा पराजित अर्जेन्टिना त्यससँगै ४ पटक फाइनलमा पुगेर चारै पटक उपाधिविहीन बन्न पुगेको छ । जसमा दुई पटक ब्राजिलसँगै पराजित भएको छ भने सन् २०१५ र २०१६ मा चिलीसँग पराजित भएको थियो । सन् १९९३ यता अर्जेन्टिना उपाधिविहीन छ । विश्वकपदेखि अन्य खेलहरुमा पनि फाइनल पुगेको अर्जेन्टिनाले हालसम्म कुनै उपाधि जित्न सकेको छैन ।
यता ब्राजिलले भने सन् १९९७ पछि ६ पटक कोपा अमेरिकाको उपाधि उचाली सकेको छ । सन् २००४ र २००७ मा अर्जेन्टिनालाई पराजित गरेको उसले सन् १९९७, १९९९, २०११ र २०१९ मा पनि कोपा अमेरिकाको उपाधि जितिसकेको छ ।
यसबीचमा बलियो देखिएको टोली ब्राजिलले ५ पटकसम्म विश्वकपको उपाधि पनि जितिसकेको छ । अर्जेन्टिनाले भने जम्मा २ पटकमात्रै विश्वकपको उपाधि उचालेको छ । तर, कोपाको इतिहास हेर्दा भने अर्जेन्टिनाले १४ पटक उपाधि उचाल्दा ब्राजिलले ९ पटक मात्रै उपाधि चुमेको छ ।
पहिलो उपाधिको खोजीमा मेस्सी र नेइमार
व्यवसायिक फुटबलमा सफल प्रमाणित भइसकेका मेस्सी र नेइमार कोपा अमेरिकामा भने पहिलो उपाधिको खोजीमा छन् । उमेर समूहमा राष्ट्रिय टिमलाई सफलता दिलाएका दुवै फुटबलरले सिनियर टिमबाट भने अहिलेसम्म देशलाई उपाधि दिलाउन सकेका छैनन् ।
यसपटकको कोपा अमेरिका फुटबलको फाइनल भिडन्तलाई यसकारण पनि मेस्सी भर्सेस नेइमारको रुपमा लिइएको छ कि दुवै जना सिनियर राष्ट्रिय टिमबाट उपाधि उचाल्ने तयारीमा छन् । सन् २०१९ को कोपा ब्राजिलले नै जितेको भएपनि त्यसबेलाको टिममा नेइमार समेटिएका थिएनन् ।
लियोनेल मेस्सी-अर्जेन्टिना
अर्जेन्टिना तथा बार्सिलोनाका समर्थकको मात्रै होइन संसारका धेरै फुटबल समर्थकको नजरमा पर्ने खेलाडी हुन् मेस्सी । सर्वाधिक ६ पटकका बलुन डि'ओर विजेता हुन् मेस्सी । उनले यसअघि ३ वटा विश्वकप समेत खेलिसकेका छन् ।
सन् २००६ मा मेस्सी सम्मिलित अर्जेन्टिना जर्मनीसँग क्वाटरफाइनलमा पराजित भएको थियो । यस्तै, २०१० को विश्वकपमा पनि अर्जेन्टिना जर्मनीसँग नै क्वाटरफाइनलमा पराजित भएको थियो भने २०१४ मा फाइनलमा पनि जर्मनीसँगै १-० ले पराजित भएको थियो ।
३४ वर्षीया मेस्सीले ४ वटा विश्वकप खेलिसकेका छन् । उनले बार्सिलोना क्लबबाट भने ७ सय ७८ खेल खेलिसकेका छन् । मेस्सीले हालसम्म बार्सिलोनामा रहेर ६ सय ७२ गोल गरिसकेका छन् । मेस्सीले १३ वर्षको उमेरदेखि फुटबल खेल्न थालेका थिए ।
मेस्सीले अहिलेसम्म क्लबबाट ला लिगा १० पटक, च्याम्पियन्स लिग ४ पटक, कोपा डेल रे ७ पटक, क्लब विश्वकप ३ पटक, युरोपियन सुपर लिग ३ पटक, स्पेनिस सुपर कप ८ पटक जितेका छन् भने राष्ट्रिय टिमबाट यू-२० वर्ल्ड कप १ पटक, ओलम्पिक गेम्समा १ पटक गोल्ड मेडल जितेका छन्
मेस्सीले व्यक्तिगत तर्फबाट भने ६ पटक बलुन डि'ओर, २०१४ मा फिफा विश्वकप गोल्डेन बल, २००९ मा फिफाका उत्कृष्ट खेलाडी, ६ पटक गोल्डेन बुट, २ पटक उत्कृष्ट युरोपियन खेलाडी, ला लिगामा ७ पटकसम्म उच्च अंक बनाउने खेलाडी, च्याम्पियन लिगमा ६ पटकसम्म उच्च अंक बनाउने तथा धेरै गोल गर्ने खेलाडीको पदक जितिसकेका छन् ।
नेइमार-ब्राजिल
मैदानमा प्रतिद्वन्द्वीले सजिलै आँक्न नसक्ने ब्राजिलियन खेलाडी हुन् नेइमार । नेइमारका विषयमा फुटबलका महान हस्ती पेलेले भनेका थिए, ‘नेइमार मभन्दा पनि राम्रो खेलाडी हुन सक्छन् ।’
पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट फुटबल खेल्ने नेइमारलाई पिएसजीले २०२५ सम्मको लागि अनुबन्ध गरेको छ । पिएसजीमा उनीसँगै खेल्ने केलियन एम्बापेले पनि उनको निकै खुलेर प्रशंसा गरेका थिए । उनीहरु दुवै जना एउटै क्लबमा रहेको र पहिलो पटक पिएसजीबाट फुटबल खेल्न अनुबन्ध भएका केलियन एम्बाप्पेलाई नेइमारले गरेको व्यवहारले उनी निकै प्रभावित भएका थिए ।
सन् १९९२ मा जन्मिएका नेइमारले १७ वर्षको उमेरबाट व्यवसायिक फुटबल खेल्न थालेका थिए । उनी हाल ब्राजिलियन टोलीका कप्तान तथा आक्रमणका लागि मेरुदण्ड हुन् । उनको हालै पारिश्रमिक रकम पनि सार्वजनिक भएको छ ।
फुटबल लिक्स र डेर स्पिगलले स्पेनिस पत्रिका मार्कामार्फत सार्वजनिक गरेको प्रतिवेदनले उनको महिनाको आम्दानी ३ लाख ६९ हजार ५ सय २० युरो रहेको जनाएको छ । उनको पारिश्रमिक मेस्सीको भन्दा धेरै रहेको छ ।
कोपा अमेरिकाको जारी संस्करणमा ब्राजिल र अर्जेन्टिना सँगै पुराना साथीसमेत रहेका मेस्सी र नेइमारबीच पनि महाभिडन्त हुने भएको छ । यस खेलको मुख्य दुई नायक मानिएका मेस्सी र नेइमारमा नै ब्राजिल अथवा अर्जेन्टिनाको केही हदसम्म निर्भर रहन्छ भन्न सकिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।