१४ अर्बबराबरको हकप्रद सेयर बिक्रीका लागि अनुमति

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चालू आर्थिक वर्षमा कुल १४ अर्ब चार करोड ९७ लाख सात हजार २५ बराबरको हकप्रद सेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डको विवरणअनुसार चालू आवमा विभिन्न सात कम्पनीले हकप्रद सेयर बिक्रीका लागि अनुमति पाएका छन् । त्यसमा सबैभन्दा ठूलो परिमाणको हकप्रद सेयर भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको रहेको छ ।

नेपालको जलविद्युत् क्षेत्रको विकासका लागि स्थापना भएको सो कम्पनीले दर्जनभन्दा बढी आयोजनामा यसअघि नै लगानी गरिसकेको छ । कम्पनीको चुक्ता पुँजी २२ अर्ब पुर्याउने लक्ष्यका साथ एचआडिसिएलले हकप्रद सेयर बिक्री गर्न लागेको हो । बोर्डले कम्पनीलाई ११ अर्बबराबरको हकप्रद सेयर बिक्रीको अनुमति दिएको छ । हाल ११ अर्बबराबरको चुक्ता पुँजी भएको कम्पनीले हकप्रद सेयर बिक्री गरेपछि कुल पुँजी २२ अर्बबराबर पुग्नेछ ।

कम्पनीले ७६२ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजना र रोल्पामा आयोजनास्थल रहेको माडीखोला जलाशययुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारी गरिरहेको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । बोर्डले यही असार ९ गते हकप्रद सेयर बिक्रीको अनुमति दिएको हो । 

यस्तै, बोर्डले समृद्धि फाइनान्स कम्पनीलाई ३६ करोड ३९ लाख ६० हजार ६०० बराबरको हकप्रद सेयर बिक्रीको अनुमति दिएको छ । नागरिक लगानी कोषले समेत चालू आवमा नै हकप्रद सेयर बिक्रीको अनुमति पाएको हो । कोषले १६ करोड ९७ लाख ५० हजार ६२५ बराबरको हकप्रद सेयर बिक्रीको अनुमति पाएको हो । 

यसैगरी, नारायणी डेभलपमेन्ट बैंकले एक अर्ब ३५ करोड ९२ लाख ५९ हजार २००, अरुण भ्याली हाइड्रोपावर कम्पनीले ५२ करोड ४१ लाख १९ हजार ७०० र अपि पावर कम्पनीले ५६ करोड ७० लाखबराबरको हकप्रद सेयर बिक्रीको अनुमति पाएको हो ।

यस्तै, बोर्डले चालू आवमा मात्रै २३ वटा बैंक तथा वित्तीय संस्थालाई २३ अर्ब चार करोडबराबरको ऋणपत्र बिक्रीका लागि अनुमति दिएको छ ।  बोर्डले पछिल्लोपटक मैलुङ खोला जलविद्युत् आयोजनालाई साधारण सेयर बिक्रीका लागि अनुमति दिएपछि चालू आवमा मात्रै कुल १९ कम्पनी पुगेका छन् । मैलुङ खोलाले सात करोड ३६ लाख २८ हजारबराबरको साधारण सेयर बिक्री गर्नेछ । बोर्डले कुल १४ अर्ब ४१ करोड ५९ लाख ५३ हजार ७०० बराबरको साधारण सेयर बिक्रीका लागि अनुमति प्रदान गरेको छ । 



शुक्रबार आयोजित एक छलफल कार्यक्रममा बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले नेपालको धितोपत्रको विकास र विस्तारमा अत्यावश्यक रुपमा गरिने सबै कामलाई सहजीकरण गर्न बोर्ड प्रतिबद्ध रहेको बताएका छन् । 



  • प्रकाशित मिति : असार २६, २०७८ शनिबार १६:५२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया